वामीटक्सारमा हुने प्रथम औद्योगिक एवं व्यापार महोत्सव २०७६को तयारी तिव्र ।
कमल पौडेल, गुल्मी वामीटक्सार, २०७६ पुस २६ । मुसिकोट उद्योग वाणिज्य संघ वामी टक्सारको आयोजनामा माघ १५ देखि २६ गते सम्म हुने प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सव २०७६ को तयारी तिव्र पारिएको छ । यसै सन्दर्भमा संघले शुक्रवार पत्रकार सम्मेलन आयोजना गरि कार्यक्रमको जानकारी गराएको छ । सो कार्यक्रममा गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्यले मुसिकोटको पहिचान दिन, पर्यटनको विकास गर्न, धार्मिक स्थलहरुको प्रवद्धर्न सहित व्यापार वृद्धिको लागी महोत्सव महत्वपूर्ण हुने बताए ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा महोत्सवले स्थानिय र वाह्य पर्यटक भित्राउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै अध्यक्ष शाक्यले महोत्सवलाई मुसिकोट नगरपालिकाले पनि सहयोग गर्ने र मुसिकोट भित्र र वाहिर रहने सवैले सहयोग गर्ने अपेक्षा समेत व्यक्त गरे ।
कार्यक्रममा प्रचार प्रसार संयोजक ज्ञानहरी सापकोटाले नगरपालिका भित्र रहेको होमस्टेमा पाहुनालाई वस्ने व्यवस्था गरिने जानकारी दिँदै महोत्सवबाट हुने आम्दानीले संस्थाको भवन वनाउने योजना रहेको बताए ।
त्यस्तै स्टल व्यवस्थापन समितिका संयोजक सुन्दर प्रधानले महोत्सवमा १ सय ५० स्टल रहने जसमा सुचना प्रविधि, कृषि, पर्यटन, स्थानिय परिकार सहितका स्टल रहने जानकारी दिए । कृषि, शैक्षिक प्रदर्शनी, कला संस्कृतिका स्टलहरुलाई निशुल्क व्यवस्था गरिएको पनि प्रधानले बताए ।
महोत्सव सफल पार्न १७ सदस्यीय मुल आयोजक समिति, २३ ओटा विभिन्न उपसमिति, ९ सदस्यीय सचिवालयको गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
१२ दिन सम्म चल्ने महोत्सवमा ७० हजार दर्शकले अवलोकन गर्ने, ५ करोडको कारोवार हुने अपेक्षा आयोजकले गरेको छ । महोत्सवमा ९५ लाख आम्दानी हुने तथा ७० लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।
सो महोत्सवमा खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, खुल्ला पुरुष भलिवल प्रतियोगिता, अन्तरमावि छात्रछात्रा कबड्डी प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारहरुव्दारा सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
सो अवसरमा बाल उद्यान, विभिन्न झाँकी तथा नृत्य प्रदर्शन, र्याफ्टीङ, जातजाति तथा जनजातिहरुको खाना प्रदर्शन, हेलिकप्टरवाट विभिन्न दृश्यावोलकन लगाएतका कार्यक्रम सञ्चालन गरिने सचिव महेश्वर घिमिरेले जानकारी दिए । महोत्सवले नगरपालिकाको पहिचान स्थापित गर्ने, प्राकृतिक, भौगोलिक, जैविक विविधताको पहिचान गर्ने, औधोगिक, व्यापारीक, कृषि पशुपालन, उद्यमशिलताको प्रवर्धन गर्ने, पर्यटन, संस्कृति, धार्मिक क्षेत्रको प्रचार प्रसार गर्दै पर्यटकलाई भ्रमण गर्न प्रोत्साहित गर्ने, लगानीका सम्भावित क्षेत्र पहिचान गरि लगानी जुटाउने आयोजकले जनाएको छ।
सो पत्रकार सम्मेलनमा अतिथि सत्कार उपसमितिका संयोजक देवेन्द्र कक्षपति, सहसंयोजक दिनेश खाती, अर्थ समितिका संयोजक वेग प्रसाद शाक्य, उपसंयोजक अर्जुन सापकोटा, यातायात व्यवस्थापन उपसमितिका संयोजक रुपकलाल श्रेष्ठ, खेलकुद सञ्चालन उपसमितिका संयोजक मोहन श्रेष्ठ, लेखा उपसमिति संयोजक गोपिकृष्ण खरेल, खानेपानी व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मण फुल्लेल, स्वागताव्दार व्यवस्थापन उपसमितिका टोपनारायण श्रेष्ठ, स्वयंसेवक परिचालन उपसमितिका संयोजक अनुप लाखे लगाएतले आफ्नो समिति अन्तरगतका प्रश्नको उत्तर दिएका थिए ।
नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, पूर्व अध्यक्ष एवं केन्द्रिय पार्सद जनार्दन घिमिरे, केन्द्रिय पार्सद कमल पौडेल, तिलाचन पाण्डे लगाएत जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको कार्यक्रम अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता तथा सचिव महेश्वर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।