Sorry, that menu does not exist.
 

भाडा समायोजनको पर्खाईमा दक्षिण भेग : भाडा बढी भयो भन्दा वा लेख्दा गाडी चढ्न नपाईएला भन्ने डर !

केशवराज क्षेत्री, कुस्मीसेरा २०७६ पुस २६ । जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षताामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले मध्यपहाडी लोकमार्गमा चल्ने सवारी साधनहरुको भाडा समायोजन पश्चात जिल्लाका अन्य भागहरुमा पनि भाडा समायोजन छिटो गरियोस भन्ने माग बढेको छ । विभिन्न क्षेत्रहरुमा चल्ने सवारी साधनहरुको भाडा समायोजन हुन सकेको छैन । उता जिल्लाको दक्षिण खण्डमा चल्ने सवारी साधनहरुको भाडा समायोजन होस भनी आवाज बुलन्द हुँदै गएको छ ।

यसै क्रममा निकै पहिले देखिनै विरोध हुदै आएता पनि बागलुङको दक्षिण भेगमा पर्ने बरेङ क्षेत्रका जनतालाई भने सदरमुकाम बागलुङ बजार सम्म जान आउन गाडी भाडादरमा कहिल्यै चित्त बुझ्दो भएन । न त यस क्षेत्रको समितिले ध्यान दिन्छ, न त जिप व्यवसाय समितिले न त स्थानीय निकायले न त प्रहरी प्रशासनले भन्ने स्थानीयको गुनासो रहेको छ ।

प्रहरी प्रशासनलाई समेत थाहा छ कि यो बाटोको भाडादर एकदमै बढी भयो भन्ने, तर उनिहरु समेत यस बिषयमा मौन रहने गर्छन् । जनताहरु आफुलाई चित्त नबुझ्दो रकम तिर्न बाध्य छन् , आफूलाई काम पर्छ नगई भएन अझ अनौठो कुरा त त्यति महँगो भाडा हुदा हुदै पनि एक दूई जना प्यासेन्जर भए नगइदिने प्रवृत्ति नम्बरमा भएका (पालोमा परेका)जिपले गर्दै आएका छन् । अहिले त नम्बरका गाडि समेत छुट्न छाडिसके सबै पिकअप जीपले मात्र प्यासेन्जर ओसारपसार गर्न लागिसके । बरेङ देखि बुटवल सम्मको १३६/१३७ किमि बाटोमा जम्मा ७१०/ रुपिया भाडा प्रति ब्यक्ति लाग्ने गर्दछ जबकी बरेङ देखि बागलुङ सम्मको जम्मा ३६/३७ किमि बाटोमा भाडादर भने अहिले रु ६५०/ प्रति व्यक्ति लिने गरिएको छ । किन यति महँगो भाडा लिने गरिन्छ ? यसमा ध्यान नजानुको कारण के हो ? सवारी चालकहरुले एक हजार रुपयाँ लिन सम्म पनि लाज मान्दैनन । गाडी चढिसकेपछि तिनुपर्ने बाध्यता त, प्यासेन्जरलाई पो छ ।

सदरमुकाम बागलुङ जाने एउटा मात्र बाटो पनि त छैन, बरेङबाट बराहकोट दुदिलाभाटी हुँदै, राङखानी कुस्मीसेरा हुँदै, गाजादह सिगाना हुँदै, छापचौर पुर्तिघाट करिडोर हुँदै कैर्याँ शाखा छन् तर यति जातिबित्ति महँगो भाडा लिनुभएन भन्दै आम नागरिक यस भाडामा समायोजन हुनु जरुरी रहेको आवाज उठाउदै आएका छन् । स्थानीयले पटकपटक प्रशासन र स्थानीय निकायमा घच्घचाएका छन् । तर यसमा सरोकारवालाहरुको ध्यान जान सकेको छैन । यहाँ त सवारी भाडा बढी भयो भनेर बोल्दा या समाचार लेखेकै आधारमा कतै गाडीमा चढ्न नपाइने पो हो कि भन्ने डर पो छ । जथाभावी भाडा असुल्नेलाई कारवाही गर्ने कसले ? सधैँ यस्तै हुने होकी ? हुन्छ हुन्छ भन्ने, कसले हो त यसको समाधान गर्ने ? छिटै समधान होस र जनतालाई चित्त बुझ्दो कार्य गरियोस् ।

दुरीका हिसाबलनै हेर्ने हो भने पनि बागलुङ जाने भाडादर करिब ४०० हुन आउँछ तर अहिले लगभग डबल जस्तो नै भैरहेको छ । यो त अलि बढी नै भएन र !

हालैको यातायात व्यवस्था समितिको बैठकले मध्यपहाडी लोकमार्गको बागलुङ देखी बुर्तिवाङ चल्ने सवारी साधनहरुको भाडा समायोजन गरेको छ । अब यस दक्षिण भेगमा चल्ने सवारी साधनहरुको पनि जति सक्दो चाँडो भाडा समायोजन होस भन्ने यस भेगका जनताको जोडदार माग रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !