प्रेम सुनार, गुल्मी २०७६ माघ १३ । नि:शुल्क पढाई र आवास सुविधा समेत नि:शुल्कको दृष्टिकोणले देश कै नमुना क्याम्पस गुल्मीको धुुर्कोट गाउँपालिकामा रहेको छ । धुर्कोटको प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसले निशुल्क अध्ययन र आवास सुविधा समेत निशुल्क गराएर आफुलाई देश कै नमुना क्याम्पसका रुपमा उभ्याएको छ । जसका कारण शहरमा पढ्न गएका विद्यार्थी समेत गाउँ फर्केर त्यस क्याम्पसमा पढ्न थालेकाछन । वडा नम्वर ४ घर भएकी पुष्पा पोखरेल बुटवलको बुटवल बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा पढ्दै थिईन । अहिले घर नजिकै वस्तुमा रहेको धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्समा निशुल्क पढाई सुरु भए पछि बुटवल बहुमुखी क्याम्पस छाडेर गाउँ मै फर्केर सोही क्याम्पसमा भर्ना भई पढ्न थालेकी छन् ।
बुटवलमा बसेर पढ्दा खर्च थेक्न मुस्कील परेको स्मरण गर्दै पोखरेलले भनिन –‘अहिले मासिक शुल्क समेत तिर्न नपरे पछि पढ्न निकै सजिलो भएको छ । दुई बर्ष अघि कक्षा १२ को पढाई पुरा गरे पनि आर्थिक अभावका कारण थप अध्ययन अगाडी बढाउन नसकेका गुल्मीकै ईस्मा गाउँपालिका वडा नम्वर–४ दोहलीका हुमबहादुर बस्नेत सदरमुकाम तम्घासमा बसेर पढ्न आर्थिक समस्या परेपछि विदेश जाने तयारीमा थिए । जब धुर्कोट प्रमानन्द बहुमुखी क्याम्पसले यस शैक्षिक सत्रदेखि निशुल्क पढाई हुने सुचना प्रवाह ग¥यो , त्यस पछि उनी सोही क्याम्पसमा भर्ना भएर पढ्न थालेका छन् ।
जिल्ला कै विकट गाउँ मालिका गाउँपालिका वडा नम्वर ३ ह्वाङ्गदीका बिष्णु घिमिरे र उनकी बहिनी कमला घिमिरे कक्षा १२ पास गरेको दुई बर्ष यता आर्थिक अभावका कारण सदरमुकामको क्याम्पसमा भर्ना हुन सकेका थिएनन । दाजु घिमिरे भन्छन–‘ म बहिनीलाई क्याम्पस पढाउने सोचका साथ विदेश जाने तयारी गर्दै थिएँ , एक दिन रेडियोमा धुर्कोटको क्याम्पसमा निशुल्क पढाई हुने सुचना सुने त्यस पछि दुई दाजु बहिनी आएर स्नातक प्रथम बर्षमा भर्ना भएर पढ्न थालेका छौं ।
धुर्कोट गाउँपालिका ५ , वस्तु बाँसटारीकी हेमा बिकको आर्थिक अवस्था पनि दयनीय भएकोले कक्षा १२ पास गरे पछि क्याम्पस पढाउन नसकेर उनको परिवारले छोरीको बिबाह गराई दिने सोचमा थिए । जब धुर्कोटको क्याम्पसले निशुल्क पढाउन सुरु ग¥यो तब हेमालाई क्याम्पस पढाउन थाले त्यस परिवारले । क्याम्पस पढ्ने सपना त मैले त्यागी सकेकी थिएँ हेमाले भनिन–‘ सबै कुरा यस क्याम्पसमा निशुल्क भए पछि क्याम्पस पढ्ने मेरो सपना पुरा भयो ।
उनका बाबु ज्ञानबहादुर बस्नेत भन्छन –‘सदरमुकाम तम्घास लगेर पढाउने मेरो कुनै उपाय थिएन । बढिमा छ महिना खान पुग्ने जमिन छैन , मैले घर निर्माणको मजदुरी गरेर ३ सन्तानलाई हुर्काउँदै र पढाउँदै आएको छु , मजदुरी गरेरै छोरा छोरीलाई उच्च शिक्षा हाँसिल गराउने मेरो सपना धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसले पुरा गरि दिएको छ ।’
सदरमुकाम कै विद्यार्थी समेत धुर्कोट आउन थाले
उता सदरमुकामको रेसुङ्गा बहुृमुखी क्याम्पसमा पढ्न पायक पर्ने रेसुङ्गा नगरपालिकाका विजय पोखरेल र हिराप्रसाद श्रेष्ठ पनि धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसमा स्नातनक प्रथम बर्षमा भर्ना भएका छन । उनीहरुलाई पनि मासिक शुल्क निशुल्न मात्रै छैन , घर टाढा भएकोले क्याम्पस नजिकै बस्ने कोठा समेत निशुुल्क गरिएको छ ।
धुर्कोट गाउँपालिका वडा नम्वर ५ बस्तु जिल्लामा शिक्षाको ज्योति छर्ने पहिलो गाउँ मानिन्छ । त्यसैलाई मध्ये नजर गर्दै स्वर्गिय प्रमानन्द भण्डारी , पुर्व सांसद रुद्रमणी शर्मा भण्डारी , ढुण्डिराज शर्मा भण्डारी , तत्कालीन एमालेका जिल्ला पार्टी अध्यक्ष टोमलाल पाण्डे , पुर्व सांसद टंक पोखरेल लगायका अगुवाहरुले गरिव विपन्न र पछाडी परेको समुदायलाई उच्च शिक्षाको पहुँचमा पुराउने उद्देश्यका साथ आज भन्दा ११ बर्ष अघि वस्तुमा उक्त क्याम्पसको स्थापना गर्न पहल गरेका थिए । फलस्वरुप ईस्मा गाउँपालिका वडा नम्वर ६ राङ्गदाल स्थित विपन्न्न परिवारकी छोरी रेनुका परियार पनि सबै कुरा निशुल्क भए पछि सोही क्याम्पसमा स्नातक प्रथम बर्षमा भर्ना भएकी छन । घर नजिकैको धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्समा नि:शुल्क पढाई सुरु भए पछि स्नातक दोश्रो बर्षमा भर्ना हुन आएकी छन ।
जैसीथोक घर भएकी सम्झना पोखरेलको परिवारले उनलाई सदरमुकाम तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पसमा भर्ना गराउने सोचमा थिए । उनको परिवारले पनि उता तम्घास नपढाएर त्यसै धुर्कोट परमानन्द क्याम्पसमा स्नातक प्रथम बर्षमा भर्ना गरिएको छ ।
आवास समेत निशुल्क भए पछि ह्वात्तै बढे विद्यार्थी
२०६५ साल देखि पढाउन सुरु गरेको धुर्कोट प्रमानन्द बहुमुखी क्याम्पसमा शहरमुखी सोंचका साथ विद्यार्थी पाउन मुस्कील परेको थियो । शिक्षा शास्त्र र मानवीकी शंकायमा पढाई हुने सो क्याम्पसमा मेजर ईङ्गिस, नेपाली , ईकोनोमिक्स बिषयहरु पढाईन्छ । स्थापना कालको प्रथम बर्षमा ३० जना बिद्यार्थी भर्ना भएका थिए । त्यस पछिका केहि बर्षमा त त्यो भन्दा तलको संख्यामा विद्यार्थी भर्ना हुन थालेका थिए । अघिल्लो शैक्षिक सत्रमा ३५ जना बिद्यार्थी भर्ना भएका थिए ।
त्यस पछि क्याम्पस सञ्चालक समितिले नि:शुल्क अध्ययन मात्र होईन टाढाबाट आउने विद्यार्थीलाई आवास सुविधा समेत निशुल्क गराउने निर्णय ग¥यो । उक्त निर्णय संगै यस शैक्षिक सत्रमा दोब्वर भन्दा बढी विद्यार्थी बृद्धि भई अहिले छात्रा ८७ जना र छात्र ४३ गरि १ सय ३० जना भर्ना भई सकेका छन ।
आगामी बर्ष देखि विद्यार्थी थप बृद्धि हुने अपेक्षा गरिएको क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारी बताउँछन । क्याम्पस सञ्चालक समितिका पदाधिकारी देखि उपप्राध्यापकहरुले समेत आ–आफ्नो घरमा निशुल्क बस्न दिएर यस्तो सुविधा विद्यार्थीले पाएका हुन् । क्याम्पस सञ्चालक समिति कै अध्यक्ष कृष्णप्रसाद भण्डारी (क्याम्पस प्रमुख र उनको नाम एउटै ) कै घरमा १० जना विद्यार्थीले निशुल्क आवास पाएका छन । उनीहरुलाई तरकारी खेती समेत आफै उब्जनी गरेर खान खर्च कम गर्न अध्यक्ष भण्डारीले आग्रह गरेका छन् । त्यस क्याम्पसमा जिल्लाको मालिका , मदाने , ईस्मा गाउँपालिका , मुसिकोट नगरपालिकाका विद्यार्थी मात्र होईन छिमेकी जिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिकाबाट समेत अध्यान गर्न आएका छन् ।
यी हुन गाउँमा क्याम्पस स्थापना गर्ने जगहरु
प्हिलो पटक सदरमुकाम तम्घासमा समुदायबाट रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालन गर्न अग्रणी भुमिका खेलेका वस्तु निवासी तत्कालीन जिल्ला उपसभापति प्रमानन्द भण्डारीले आफ्नो गाउँ वस्तुमा पनि क्याम्पस स्थापना गरेर दलित समुदाय सहित विपन्न वर्गका छोरा छोरीहरुलाई उच्च शिक्षाको पहुँचमा पुराउने सोंच अगाडी सारे ।
फलस्वरुप पुर्व सांसद रुद्रमणी शर्मा भण्डारी , अर्का पुर्व सांसद जैसीथोकका टंक पोखरेल , तत्कालिन नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष टोमलाल पाण्डे र ढुण्डिराज शर्मा भण्डारी लगायतका अगुवाहरुले साथ दिए । उनीहरु देश विदेश सम्म चन्दा अभियानमा लागे । अन्ततः सबैतिरबाट सहयोग ओईरिन थाल्यो । भवन निर्माणका लागि ढुण्डिराज शर्मा भण्डारी, युवाराज पाण्डे, मुक्तिराम भण्डारी लगायतका परिवारले निशुल्क जग्गा दिए ।
भवन सम्पन्न भए लगत्तै २०६५ साल देखि क्याम्पस सञ्चालन हुन थाल्यो । स्वर्गिय प्रमानन्द भण्डारी एक्लैले १० लाख रुपैयाँ चन्दा दिए । उनको मृत्यु पछि उनको छोरा कृष्णप्रसाद भण्डारीलाई क्याम्पस चलाउने जिम्मेवारी थपियो । समुदायले उनलाई अध्यक्षको हैसियतले क्याम्पस चलाउने जिम्मा सुम्पियो । उनले बाबुको धुर्कोट सहित बाबुको नामबाट क्याम्पस सञ्चालन गर्ने गरि ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरि दिए ।
त्यस पछि क्याम्पसको आर्थिक भार केहि कम भयो । अहिले पनि कतिपय उपप्रध्यापकहरुले नि:शुल्क त कसैले स–शुल्क पढाउदै आएका छन । स्वर्गिय रुद्रमणी शर्मा भण्डारीकी अर्धङ्गिनी डाक्टर नातीमैया शर्मा मानन्धर भण्डारीले काठमाण्डौबाट वस्तुस्थित गाउँमा आएर स्थापना काल देखि साढे तिन बर्ष सम्म निशुल्क पढाउनुका साथै क्याम्पस प्रमुखका रुपमा प्रशासन समेत चलाएर समुदायलाई ठुलो योगदान पुराईन ।
वेलायतमा रहेका जैसीथोकका बाबुराम भण्डारीको पहलमा गुल्मी जिल्ला युके समाजले ३ लाख नगद सहयोग ग-यो । गत बर्ष समाजका तत्कालीन अध्यक्ष राम गलामी, कोषाध्यक्ष तारानाथ भण्डारी, सदस्यहरु तारा भट्टराई , बाबुराम भण्डारी , मोति भण्डारी लगायतको टोली बेलायतबाट क्याम्पसमै उक्त रकम हस्तान्तरण गर्नुका साथै थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
त्यस्तै वस्तु कोरिया सम्पर्क समाजले २५ हजार सहयोग गरेको छ । धुर्कोटवासी अन्यले पनि सक्दो सहयोग गर्दै अहिले १ करोड ४५ लाख रुपैयाँ बैंकको मुद्धती खातामा बचत गरेर त्यसको ब्याजबाट निशुल्क क्याम्पस पढाउन सकिएको सञ्चालक समिति अध्यक्ष भण्डारीले बताए । यस आर्थिक बर्षमा थप ५ लाख रकम थपिएको क्याम्पस प्रमुख भण्डारीले बताए ।
आईतबार सो क्याम्पसले ११ औं बार्षिकोत्सव मनाएको छ । यस अवसरमा उनै स्वर्गिय परमानन्द भण्डारीकी धर्मपत्नी ८२ बर्षिया पार्वती देवी भण्डारीले पनि श्रीमानले जस्तै आफ्नो चौरासी पुजामा गर्नु पर्ने दान रकम विद्यालयको पुण्य कार्यमा खर्च गर्ने गरि १५ लाख रुपैयाँ दान गरेकी छन ।
छोरा कृष्णप्रसाद भण्डारी भन्छन बुवाले पनि आफ्नो चौरासी पुजाको दान स्वरुप क्याम्पसलाई १० लाख प्रदान गर्नु भएकोा थियो । आमाले पनि त्यही सोच राखेर अब गर्न गई रहेको चौरासी पुजामा खर्च गर्ने रकम स्वरुप १५ लाख क्याम्पसलाई दान गर्नु भएको हो । यसरी समुदाय कै सहयोगबाट दुबै संकायको प्रथम बर्ष देखि चौथो बर्ष सम्म मासिक शुल्क नि:शुल्क गरिएको हो । आर्थिक अवस्था राम्रै रहेका विद्यार्थीहरुबाट सहयोग स्वरुप जनही २५ सय रुपैयाँ भर्ना शुल्क लिए पनि विपन्न परिवारलाई भर्ना समेत नि:शुल्क गरिदै आएको छ ।
कम्प्युटर कक्ष समेत निशुल्क सञ्चालन गरिएको छ । लोकसेवा आयोग , शिक्षासेवा आयोगको परिक्षामा प्रतिष्पर्धा गर्न चाहने विद्यार्थीहरुका लागि निशुल्क पाठ्य पुस्तक र निशुल्क सहजिकरण समेत गर्ने सुविधा क्याम्पस भित्रै उपलब्ध गराईएको छ । क्याम्पसमा निशुल्क ईन्टरनेट सुविधा , ब्यवस्थित पुुस्ताकालय , कम्युटर ल्याव , शौचालय भए पनि क्याम्पसको भवन निर्माण र खेल मैदानको काम पुरा भई नसकेको क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष एवं निर्माण समितिका अध्यक्ष युवाराज भण्डारीले बताए ।
अपुरा कामहरु छिट्टै पुरा गर्दै र थप गुणस्तरिय शिक्षा र अन्य शंकायहरु थप्दै क्याम्पसलाई अन्य जिल्लावासी बिद्याथीहरुको समेत आकर्षणको केन्द्र बनाउन लागि पर्ने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । गरिव जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति समेत प्रदान गरिदै आएको छ । धुर्कोट गाउँपालिका शैक्षिक दृष्टिकोणले जिल्ला कै अगुवा गाउँपालिका मानिन्छ ।
विक्रम सम्वत १९८१ सालमा गुरु ऋषिराम पन्थीले वस्तुको हटियामा सरकारी संस्कृति भाषा पाठशालाको सुरुवात गरेका थिए । २०१५ साल चैत्र १५ गते हालको हिमालय माध्यमिक विद्यालयलाई मिडिल स्कुलका रुपमा वस्तु कै स्वर्गिय गोपालप्रसाद श्रेष्ठले स्थापना गरेका थिए ।
गुल्मी जिल्ला मै जिल्लाबाटै एसएलसी पास गर्ने पहिलो ब्यक्ति वस्तु कै स्वर्गिय नरेन्द्रदेव शर्मा थिए । उनले हाल कै हिमालय मावि वस्तुबाट एसएली पास गरेका थिए । उक्त मावि र धुर्कोट बहुमुखी क्याम्पस नजिकै रहेका छन ।