बागलुङ २०७६ माघ १५ । नेपाल रेडक्रस सोसाईटी बागलुङको भवन भाडामा लिएर सेवा प्रवाह गर्दै आएको जिल्ला प्रशासन कार्यालय बागलुङले अबको केहि दिन भित्र आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्ने विश्वास गरिएको छ । भवनको निर्माण कार्य सुरु गरेपछी बारम्बार सम्पर्कविहीन बनेर आजीत पारेको ठेकदार कम्पनिले पछिल्लो समय निर्माण कार्यलाई तिब्रता दिएपछी नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको हो ।
‘कहिले सम्ममा भवन निर्माण सम्पन्न होला त ?’ भन्ने हाम्रो जिज्ञासामा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले, ‘फागुन महिना भित्र सम्पन्न हुने’ विश्वास व्यक्त गरेका छन् ।
केहि काम बाँकी छ, अर्कोकुरा गत २०७५ साल भदौ महिना (डेढ वर्ष) देखी म्याद सकिएकोले म्याद थपको प्रकृया मिलाउनु छ, प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने, अब एक डेढ महिना भित्र भवन सम्पन्न हुने विश्वास चाहीँ पलाएको छ ।
२०७२ साल फागुन ११ गते सम्पन्न गर्ने गरी २०७० साल फागुन ११ गते जिल्ला प्रशासन कार्यालय बागलुङको नयाँ भवन निर्माणका लागी शहरी विकास कार्यालय बागलुङ र जयबाबा गोरख कन्स्ट्रक्सन वीच ठेक्का सम्झौता भएको थियो तर ठेकेदार कम्पनिको लापर्वाहीका कारण सो भवन निर्माण सुरु भएको ६ वर्ष पछी निर्माणको अन्तिम चरणमा पुगेको हो ।
ठेकेदार कम्पनिले सम्झौता अनुसार समयमा भवन निर्माण नगरी सम्पर्कविहीन बने पछी २०७४ साल भदौ ८ गते सम्म म्याद थप गरिएको शहरी विकास कार्यालय बागलुङले जानकारी दिएको थियो । जयबाबा गोरख कन्स्ट्रक्सन कम्पनिका प्रोपराईटर श्यामकुमार श्रेष्ठले २०७५ साल जेठ १८ गते दुई महिना भित्र भवन सम्पन्न गर्ने प्रतिवद्धता जनाउदै ३ वटा डोजर प्रयोग गरेर काम गरेको देखाएर पुन: सम्पर्कबिहीन रहेका थिए ।
प्रमुख जिल्ला अधिकारी क्षेत्रीले २०७६ साल बैशाखमा पदबहाली गरिरहँदा ठेकदारलाई ल्याएर निर्माणाधीन भवन पूरा गर्न लगाउने र अटेर गरेर नआएमा ठेक्का रद्द गरी नयाँ ठेकदार कम्पनिव्दारा भवन निर्माण गराउने बताए पछी ठेकेदार कम्पनि हर्कतमा आएको हो ।