प्रेम सुनार, गुल्मी, २०७६ फागुन ४ । गृह जिल्ला गुल्मीमा वडा कमिटी सम्मका पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिन ब्यस्त नेकपाका नेता तथा गुल्मी क्षेत्र नम्वर २ का सांसद गोकर्णराज बिष्टले कार्यकर्ता संग मुख्य दुई वटा कुरा सोध्ने गरेका छन् ।
आफ्नो प्रशिक्षण मन्तब्यको बिट मार्ने क्रममा नेता बिष्टले सोध्छन–‘ तपाईको वडामा कसैका छोरा छोरी आर्थिक अभावका कारण स्कुल जान नपाएको कोही छन् भने भन्नुस् उनिहरुलाई स्कुल पढाउने जिम्मा हामी लिन्छौ । दोश्रो कुरा सोध्धै भन्छन्–‘ तपाईको वडामा घरवास नै नभएको परिवार कोही छ ? छाउने जस्ता पाता हामी दिन्छौं , कार्यर्ताले जनश्रमदान गरेर घर बनाई दिन्छौं । यो कुरामा मञ्जुर हुनुहुन्छ ? मञ्जुर छु भन्नेहरुले हात उठाउनुुस् ।
केहि बेर पछि सबैले हात उठाएर मञ्जुर छौं भन्छन । ईस्मा गाउँपालिका वडा नम्वर १ हर्पुकोटमा भएको वडा स्तरिय प्रशिक्षण कार्यक्रम धुर्कोट गाउँ कमिटीका वडा सम्म पुग्यो । ईस्मा–१ मा भएको कार्यक्रममा तोरीखर्ककी मिठु रानाले मेरो घर वास नै नभएर अर्काको घरमा बसेको वास्तविकता सुनाईन ।
सबै जनाले हो मिठु रानाको आर्थिक अभावका कारण घर वास नै छैन भनेर समर्थन गरे । त्यो सुने लगत्तै ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले कार्यकर्ताहरुलाई तत्काल उनको घर बनाउन जुट्न पार्टी नेताको हैसियतले निर्देशन दिदै भने जस्तापाता हामी दिन्छौं । नभन्दै आज सोमवार देखि नेकपा ईस्मा वडा नम्वर १ को वडा कमिटी रानाको घर बनाउन सुरु गरेको छ ।
रानाको घर बनाउनका लागि ईस्मा क्षेत्रमा कम्युनिष्टहरुका संस्थापक नेता मानिने जगतबहादुर खत्री , वडा कमिटी अध्यक्ष नारायण कुँवर सहित ३० जनाको टोली आज देखि खटिएको सो पार्टी निकट दलित मुक्ति संगठन ईस्माका ईन्चार्ज श्याम बिकले जानकारी दिए ।
ढिलोमा फागुन ७ गतेबाट मिठु रानाको घर बनाउन सुरु गर्नु भन्ने नेता गोकर्ण बिष्टज्युको निर्देशन थियो त्यसैले हामी आज देखि नै घर बनाउन जुटेका छौं’ घडेरी खन्न थालेका बिकले भने । त्यस्तै धुर्कोट गाउँपालिका वडा नम्वर ३ हाडहाडेको प्रशिक्षण कार्यक्रममा पनि त्यहाँका दुई परिवारको घरवास नै नभएको पाईयो । त्यहाँ पनि तत्काल ती दुई परिवारको घर बनाई दिने काममा कार्यकर्ता जुट्न नेता बिष्टले निर्देशन दिएका छन् ।
त्यस वडाका वडा कमिटी अध्यक्ष यमबहादुर कुँवरले फागुन ७ गते देखि घर बनाउन सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । आफ्नो निर्वाचन क्षेत्र भित्रका सबै वडाहरुमा आर्थिक अभावका कारण पढ्न नपाएका बालबालिका र घरवास नभएका परिवारको सूची तयार पारेर आफुलाई बुझाउन नेता बिष्ले नेतृत्व पंक्तिलाई निर्देशन दिएका छन् ।