थम्मन थापा, गल्कोट २०७६ फागुन ६ । गलकोट कला प्रतिष्ठानले गल्कोट नगरपालिका ५ हरिचौर स्थित टेउवालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला आयोजना गरेपछी अहिले एकाएक चर्चामा छ टेउवा । यो ठाउँ पर्यटकीय स्थल घुम्टेको फेदमा अवस्थित छ । केही वर्ष पहिले सम्म यो ठाउँ एउटा सामान्य पिकनिक स्प्टको रुपमा स्थानिय स्तरमा परिचित थियो तर धेरै मानिसलाई भनें त्यो विषय जानकारी थिएन तर अहिले जब टेउवामा अन्तराष्ट्रिय स्तरको मुर्तिकला कार्यशाला आयोजना भयो एकाएक चर्चामा आएको हो ।
गलकोट नगरपालिका ५ हरिचौरमा पर्ने टेउवा धुरीमा सोमबार देखि त्यहाँ नेपाल सहित १२ देशका १५ जना विश्व विख्यात मुर्तिकारहरु आईपुगेका छन् । ‘गलकोट अन्तराष्ट्रिय मूर्तिकला कार्यशालामा सहभागी हुन उनीहरुले आफ्नो देशका कला संस्कृति झल्किने गरि ढुङ्गामा मूर्तिहरु कुँद्ने छन । घुम्टेको काखमा अवस्थित टेउवा मुर्तिकार पुग्दैमा मात्रै पनि चर्चित हुँदैछैन ।
गलकोट कला प्रतिष्ठानको संयोजन र विभिन्न सरकारी तथा गैर सकारी संघसंस्थाको सहयोगमा त्यहाँ खुल्ला मूर्तिकला बगैँचा एवं सङ्ग्रहालय पनि निर्माण गरिदै छ निकट भविष्यमा । विदेशी र स्वदेशी मूर्तिकारहरुले कुँदेर निर्माण गरेको त्यि मूर्तिहरु त्यहि स्थापना गरिने छ र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । टेउवामा अहिले अन्तराष्ट्रिय मुर्तिकलाको लागि तारबार, ग्राउण्ड व्यवस्थापन, विद्युत, खानेपानी, पदमार्ग र शौचालय समेत निर्माण गरिसकिएको छ । त्यहाँ ललितकला सम्बन्धी अनुसन्धान केन्द्र निर्माण गरिने आयोजकले जनाएको छ ।
गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर राना भन्छन्– ‘त्यसले ललितकला सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्न मद्दत पुर्याउने छ ।’ त्यहाँ आकर्षक डिजाईनमा बगैँचा, पदमार्ग निर्माण गरिने रानाको भनाई छ । टेउवालाई त्यसले थप आकर्षित गराउने छ र पर्यटक आगमनमा वृद्धि हुनेछ । टेउवामा यो कारण पनि अब विदेशीहरु आउनेछन् कि त्यहाँ अन्तराष्ट्रिय स्तरको सेमिनार हल बनाईदैछ जहाँ आरामदायी बसाई भोजन र मनोरञ्जनात्मक विकास निर्माणका पुर्वाधारहरु तयार हुनेछन । नेपालमा कुनै अन्तराष्ट्रिय स्तरको कार्यक्रम भएको खण्डमा त्यो ठाउँ रोजाई बन्न सक्छ । अध्यक्ष राना भन्छन् –‘त्यसले त्यहाँको पर्यटन प्रवर्धनमा टेवा पुर्याउनेछ र नागरिकको जीवनस्तर बदलिन्छ ।’ वि।सं २०७७ जेठ मसान्त सम्म बगैँचा एवं सङ्ग्रहालयको विधिवत उद्घाटन गर्ने लक्ष्य राखिएको छ । ‘त्यो उद्घाटन गरिएसँगै त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्नेछन्’–रानाको अपेक्षा छ ।
अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले विधिवत रुपमा समुदघाटन गरेका छन । कार्यक्रममा बोल्दै मुख्य मन्त्री गुरुङले कार्यशालाको आवश्यक सहयोग गर्ने बताएका छन । गण्डकी प्रदेश सरकार पर्यटन, कृषि, जलविद्युत, खानेपानी लगायतका आवश्यक पुर्वाधार निर्माण गरि जनताको र प्रदेशको समृद्धिमा लागि परेको मुख्य मन्त्री गुरुङले उल्लेख गरे । उनले बागलुङको पश्चिम क्षेत्र विकासमा सदियौं देँखि पछाडी पारिएको भन्दै अब त्यहाँको विकास र समृद्धिमा अगाडी बढने प्रतिवद्धता समेत जनाए ।
कार्यशालामा संघिय सांसद मन कुमारी केसी जिसी, प्रदेश सांसद चन्द्र बुढा सागर, जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती, पर्यटन व्यावसायी सुमेघ ट्राभल्स एण्ड टुर्स प्रा।लि काठमाण्डौका सञ्चालक मेघ केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा प्राज्ञ तथा मुर्तिकार ओम खत्रीले मुर्तिकला कार्यशालामा सहभागि मुर्तिकारहरुको परिचयात्मक कार्यक्रम गरेका थिए ।