बुर्तिवाङमा समुदाय प्रहरी साझेदारी अन्तर्गत “प्रहरी संग एक दिन” कार्यक्रम सम्पन्न !
हेम विश्वकर्मा, बुर्तिबाङ २०७६ फागुन १३ । ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा नवागत प्रमुख पहरी निरीक्षक प्रकाश सिँह भण्डारीको सक्रियतामा ढोरपाटन नगरपालिका बुर्तिबाङ स्थित जनता सेकेन्डरी इङ्गिलस बोडिङ स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई एक ठाउँमा भेला गरी समुदाय प्रहरी साझेदारी अन्तर्गत “प्रहरी संग एक दिन” कार्यक्रम गरिएको छ । प्रहरी र नागरिक बिचको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने भन्दै इलाका प्रहरी कार्यालय बुर्तिबाङले ‘प्रहरी सँग एक दिन’ कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरुलाई ट्राफिक नियमको बिषयमा आफु सचेत हुने र अरुलाई पनि सचेत गराउन विद्यार्थीको भुमिका महत्वपुर्ण हुने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक भण्डारीले जानकारी गराएका थिए । पश्चिम बागलुङमा बालविवाह, बहुविवाह, लागुपदार्थ दुर्व्यसन जस्ता समस्याहरु चुनौतिको रुपमा रहेकाले यसको न्युनीकरणका लागि प्रहरीले प्रत्यक स्थानियतहसँग साझेदारी गरी बिभिन्न किसिमका योजना तथा कार्यक्रमहरु बनाएको प्रहरी निरिक्षक भण्डारीले ईबागलुङलाई बताए ।
पछिल्लो समय युवाहरु माझ मौलाउँदै गरेको लागुपदार्थ दुव्र्यसनी, बालविबाह र सवारीसाधन चलाउँदा उलंघन हुने ट्राफिक नियमका बिषयमा समेत विद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी र नागरिक बीचको साझेदारीको अवधारण, नागरीक सुरक्षामा प्रहरीको महत्व, प्रहरीप्रती सकारात्मक धारणाको विकास, प्रहरी सेवाप्राप्त गर्ने प्रकृया लगायतका बिषयमा जानकारी गराईएको थियो । त्यस्तै प्रहरी कार्यलय तथा प्रहरी सेवाको प्रत्यक्ष अवलोकन गरी प्रहरी सेवा प्रवाह सम्बन्धी जानकारी समेत विद्यार्थीहरुलाई गराईएको थियो ।
ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा अबस्थित जनता सेकेन्डरी इङ्गिलस बोडिङ स्कुलकामा कक्षा ८, देखि १० कक्षा सम्म पढ्ने १ सय जना भन्दा बढी विद्यार्र्थीहरुले “प्रहरी संग एक दिन” कार्यक्रममा सहभागिता जनाएका थिए । स्कुलले बिभिन्न समयमा यस किसिमका सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको बिद्यालयका प्रिन्सिपल दिपक सापकोटाले बताए ।