हेम विश्वकर्मा बुर्तिबाङ २०७६ फागुन १७ । त्रिभुवन नमुना मावि बडिगाड गाउँपालिका वडा नं २ खर्बाङका बिद्यार्थीहरु सँग बुर्तिवाङमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले कठीन तपस्या र मेहनतबिना कोहि पनि महान बन्न नसक्ने बताएका छन् ।
उनले हरेक ब्यक्तिले जीवनमा सफलता हासिल गर्नका लागि मेहनत अपरिहार्य रहेकाले अध्ययनको शिलशिलामा बढी भन्दा बढी ज्ञान लिन सक्नुपर्ने बताए । देश बिकासको मुख्य आधार नै शिक्षा भएकाले अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सकिए मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवाशक्ति विदेश पलायन हुने क्रम पनि न्यूनीकरण हुने उनको भनाइ थियो । आफु जनप्रतिनिधि भएर आए पश्चात पश्चिम बागलुङको शैक्षिक बिकासका सन्दर्भमा प्रदेश देखि केन्द्र सरकारसम्म पहल गरिरहेको उनले बताए ।
सो अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षक कमल पौडेलले विद्यार्र्थीहरुको चौतर्फी विकासको लागी स्थलगत भ्रमणले उनीहरुमा प्रयोगात्मक कला तथा एकापसमा सहयोग सद्भाव तथा व्यक्तित्व विकासमा सहयोग पु¥याउने बताए ।
भ्रमणमा मानबिकी संकायतर्फ समाजशास्त्र बिषय अध्ययन गरिरहेका कक्षा ११ र र १२ का ४९ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सामुदायिक रेडियो परिवर्तनका हेम विश्वकर्मा, रेडियो बुर्तिबाङका पत्रकार योगेन्द्र विश्वकर्मा समेतले मन्तव्य दिएका थिए । कार्यक्रम शिक्षक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।