—लोकेन्द्र निरासी
पाँच हजार पुरस्कार पाउनका लागि विद्यालयहरुले लाखौं खर्च गर्नुपर्ने बाध्यताको कुरा सुन्दा कसैलाई पत्यार नलाग्न सक्छ । तर यो वास्तविकता भित्रको रहस्य थाहा भयो भने मात्र जो कसैलाई यस विषयमा सहजै थाहा हुन्छ । हरेक वर्ष खेलकुद मन्त्रालय मार्फत जिल्ला खेलकुद समिति हुँदै स्थानीय निकायको आयोजनामा संचालन हुने राष्ट्रपति रनिङ कपको छनोट प्रतियोगिताको महत्व र उपलब्धी कति छ त ? यो विषयलाई राम्ररी बुझ्न जरुरी छ ।
राष्ट्रपति रनिङ कपको लागि छनोट खेलहरु जिल्लाका सबै स्थानीय तहका विद्यालयहरु सहभागी हुने गरी केही दिन अगाडि मात्र सम्पन्न गरिएको छ । यसमा सामुदायिक विद्यालय र निजी बोर्डिङ स्कुलहरुको सहभागिता रहेको थियो । आयोजित राष्ट्रपति कपको छनोट खेल अन्तरगत छात्र भलिबल, छात्रा भलिबल, छात्र छात्रा दौड, कपर्दी लगायतका विभिन्न इभेन्टहरुको आयोजना गरिएको थियो ।
प्रथम चरणमा सम्पन्न हुने राष्ट्रपति रनिङ कप प्रतियोगिता छनोट खेलका लागि सबैभन्दा पहिला स्थानीय स्तरबाट खेलाडीहरु छनोट गर्ने गरिन्छ । नगरपालिकाको हकमा नगर प्रमुख संयोजक, निजले तोकेको एक जना सदस्य, प्रमुख प्रशासकिय अधिकृत सदस्य, सामुदायिक र संस्थागत विद्यालयबाट छनोट भएका दुई दुई जना गरी चार जना शिक्षक सदस्य र आयोजक विद्यालयको प्रधानाध्यापक सदस्य सचिव रहने गरि आयोजक समिति रहने व्यवस्था छ । ढोरपाटन नगरपालिकाले पनि राष्ट्रपति रनिङ कप प्रतियोगिता केही दिन पहिले बुर्तिबाङमा सम्पन्न गरेको छ । उक्त प्रतियोगिताको लागि नगरपालिकाले सामुदायिक तथा संस्थगत विद्यालयहरुलाई प्रतियोगितामा सहभागीताको लागि पत्रचार गरेको थियो । बुर्तिबाङ बजार आसपासका विद्यालयहरुका लागि खर्च केही कम हुने भए पनि नगरपालिका भित्रका टाढा टाढाबाट सहभागी हुने विद्यालयहरुले खेलमा सहभागी हुन र विद्यालयबाट खेलाडीहरुलाई तयारी गर्नका लागि विद्यालयको लाखौं रकम खर्च हुने गरेको छ । तर राष्ट्रपति कप जस्तो प्रतियोगितात्मक खेलमा पुरस्कार भने अत्यन्त न्यून रहेकोमा विद्यालयहरुको गुनासो रहँदै आएको छ । टाढा टाढाका विद्यालयहरु खेलमा सहभागिताको लागि खेलाडीहरु सहित विद्यालयका प्र.अ., शिक्षक, खेलाडी, खेल प्रशिक्षक लगायतको टिम बुर्तिबाङ बजारमा आउनु पर्ने, प्रतियोगिता अवधिभर होटेलमा बस्नुपर्ने, उनीहरुलाई तालिम तथा प्रशिक्षण गराउनु पर्ने, खेलाडीहरुलाई पोशाक तथा खेल सामग्रीको व्यवस्था, विरामी र दुर्घटना हुनेसक्ने खतारालाई समेत मध्यनजर गरी औषधि उपचारको व्यवस्था, खाना तथा खाजानास्ता, यातायात खर्च आदि विविध खर्चहरुको हिसाब गर्दा एउटा विद्यालयको न्यूनतम ५०÷६० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च आउने गरेको विद्यालय स्रोतले बताउँछ । तर सबैभन्दा बढी पुरस्कार भएको इभेन्ट छात्र भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ५ हजार मात्र रहेको थियो । अन्य प्रतियोगितात्मक खेलकुदहरुको त झनै न्यून रहेको थियो । यस विषयमा बुझ्दा राष्ट्रपति रनिङ कपको छनोट खेलका लागि जिल्ला खेलकुद समितिबाट १ लाख रुपैयाँ मात्र आएको र त्यही खर्चको दायराभित्र रहेर प्रतियोगिता सम्पन्न गर्नुपर्ने निर्देशन रहेको स्रोतले बतायो । यस वर्षको राष्ट्रपति कपको पुरस्कार गत वर्षको भन्दा पनि निकै न्यून रहेको थियो भने विद्यालयहरु सहभागीताको लागि मात्र लाखौं खर्च गर्न बाध्य भएका छन् । आयस्रोत नहुने र न्यून आम्दानी भएका सामुदायिक विद्यालयहरु यसको सबैभन्दा चर्काे मारमा परेका छन् ।
नगरपालिका राष्ट्रपति कप आयोजनामा साक्षी बस्ने मात्र हो वा त्यसको प्रभावकारी र उचित व्यवस्थापन गर्ने जिम्मेवारी पनि हो ? यो आफैमा गम्भीर र महत्वपूर्ण सरोकारको विषय हो । विभिन्न क्लब र समितिहरुले आयोजना गर्ने कार्यक्रमहरुमा ढोरपाटन नगरपालिका र नगर प्रमुख आफैले समेत लाखौं रकम सहयोग गरेको पाइन्छ । नगरप्रमुख आफै पनि खेलकुद भनेपछि हुरुक्क हुने खेलप्रेमी व्यक्ति हुन् । विभिन्न खेलक्षेत्रमा उनले व्यक्तिगत रुपमा समेत लाखौं सहयोग गरेको कुरा सबैका लागि प्रशंसायोग्य विषय हो । तर नगरपालिका भित्र यति धेरै सामुदायिक र संस्थागत विद्यालयका खेलाडीहरु सहभागी हुने राष्ट्रपति कप जस्तो प्रतियोगितामा ढोरपाटन नगरपालिकाले किन प्रभावकारी व्यवस्थापन गर्न सकेन ? राष्ट्रपति कपमा खेलाडीहरुका लागि प्रशिक्षण, तयारी र सहभागिताको लागि विद्यालयहरुको लाखौं खर्च हुने यस प्रतियोगितामा उचित पुरस्कारको किन व्यवस्था हुन सकेन ? नगरपालिकाले चाहेको भए माथिबाट आउने रकममा केही रकम नगरपालिकाले थप गरेर भएपनि आकर्षक पुरस्कारको व्यवस्था गर्न सक्थ्यो तर यसमा ध्यान दिइएको पाइएन । विभिन्न क्लब र समूहहरुले आयोजना गर्ने खेलकुद तथा साँस्कृतिक एवं मनोरन्जनपूर्ण कार्यक्रमहरुमा नगरपालिले दूरदर्शी योजना र निर्णय विना पनि लाखौं रकम खर्च गर्ने गरेका विषयहरु बाहिर सुन्नमा आउने गरेको पाइन्छ । त्यतिमात्र होइन ढोरपाटन नगरपालिका बाहेकका अन्य पालिकामा समेत नगरपालिकाको बजेट खर्च गर्ने गरिएको छ । तर राष्ट्रपति कप जस्तो प्रतियोगिता र विद्यालयहरुको खेलक्षेत्रलाई हेर्ने नगरपालिकाको दृष्टिकोण किन यस प्रकारको विभेदकारी रह्यो ? यो निकै चासोको विषय बनेको छ । पहिलो कुरा त केन्द्र तहबाट नै राष्ट्रपति कपका लागि आवश्यक एवं उचित रकम विनियोजन गर्नु पर्दथ्यो, दोस्रो कुरा त्यो हुन सकेन भने पनि स्थानीय निकाय अलिबढी जवाफदेही भएर व्यवस्थापन गर्न सक्नु पर्दथ्यो ।
यस वर्षको गत दशैंमा कोजाग्रत पूर्णिमा मेला एवं मेयर कप संचालनका लागि बुर्तिबाङ राईजिङ युवा क्लबलाई २८ लाख रुपैयाँ वढी रकम नगरपालिकाबाट नै विनियोजन गरिएको थियो । त्यसैगरी स्थानीय महिलाहरुले आयोजना गरेको सामान्य तीजगीत प्रतियोगितामा समेत सहभागी १६÷१७ टिमलाई नगरपालिका र नगर प्रमुखले उनीहरुलाई सहभागी भएर मात्र १५÷१५ हजार पुरस्कार दिने गरेको र विजयी टिमलाई २५ हजारभन्दा माथिको पुरस्कारको व्यवस्था गर्ने गरेको उदाहरण पनि सबै सामु ताजै छन् । तर राष्ट्रपति कप जस्तो प्रतियोगितामा अधिकतम ५ हजार रुपैयाँको पुरस्कार राख्नु कत्तिको सान्दर्भिक देखिन्छ ? यो विषयमा जो कसैले सहजै अनुमान गर्न सक्दछ । एकातर्फ राष्ट्रपति कपको नाममा आर्थिक अवस्था कमजोर भएका विद्यालयहरुको ढाड सेक्ने गरी खर्च गर्न बाध्य बनाउने तर अर्काेतर्फ त्यसका लागि आकर्षक पुरस्कार र आवश्यक व्यवस्थापन समेत नगर्नाले विद्यालय र खेलाडीहरुमा समेत नैराश्यता सिर्जना गरेको छ । यतिसम्म कि राष्ट्रपति कपमा विजयी खेलाडीलाई दिइएको शिल्ड र मेडलमा समेत राष्ट्रपति कपको कुनै लोगो र नाम समेत राखिएको छैन ।
खेलाडीहरु राष्ट्रका गहना मात्र होइनन् देशका सम्पत्ति पनि हुन् । भविश्यका कणधार विद्यार्थीहरुलाई पाठ्यक्रमको औपचारिक ज्ञान बाहेक अतिरिक्त कार्य अन्तरगत खेलक्षेत्रमा संलग्न गराई उनीहरुको शारीरिक एवं मानसिक विकास गर्न सकेमात्र देशको शिक्षा नीति अनुरुप राष्ट्रका शैक्षिक उद्देश्यहरु पुरा हुन सक्छन् । स्थानीय निकाय आफैमा सरकार हो, राज्य हो । राज्यको उपस्थितिमा हुने हरेक कार्यक्रमहरु उपलब्धीमूलक र सान्दर्भिक हुन आवश्यक छ । हाम्रो जस्तो विकट क्षेत्रबाट पनि कैयौं खेलाडीहरु उत्पादन भएर राष्ट्रको गौरवलाई उँचो राख्न सफल भएका छन् । कैयौं नयाँ खेलाडीहरु सहयोग र अवसरको खोजीमा छन् । उनीहरुलाई अझै हौसला, उचित वातावरण र सहयोगको खाँचो छ । त्यसैले खेल क्षेत्रको विकासका लागि तथा राष्ट्रपति कप जस्तो प्रतियोगितालाई आगामी दिनमा व्यवस्थित र उपलब्धीमूलक बनाउन खेलकुद मन्त्रालय, जिल्ला खेलकुद समिति, स्थानीय निकाय र सरोकारवाला सबैको उचित ध्यान जान आवश्यक छ ।
लेखक- सन्चारकर्मी हुन् ।