Sorry, that menu does not exist.
 

मदानेका छोरी-बुहारीलाई उच्च शिक्षा कार्यक्रम : सम्पूर्ण खर्च गाउपालिकाले व्यहोर्ने, क्याम्पस भर्ना हुन सुरु !

प्रेम सुनार, गुल्मी २०७६ चैत ४ । उच्च शिक्षा हाँसिल गर्ने उत्कट चाहना हुँदाहुँदै पनि गुल्मीको मदाने गाउँपालिका छोरी बुहारीहरु आर्थिक अभावका कारण क्याम्पस भर्ना हुन सकिरहेका थिएनन् । तर जब त्यस गाउँपालिकाले यस शैक्षिक सत्र देखि छोरी बुहारी उच्च शिक्षा कार्यक्रम अगाडी सारेर उनीहरुलाई गाउँपालिकाले नै सम्पुर्ण खर्च ब्यहोर्ने भयो तव भने धमाधम त्यहाँ छोरी बुहारीहरु गाउँकै क्याम्पसमा भर्ना हुन थालेका छन् ।

गाउँपालिकाकै पुर्कोदह स्थित जनज्योति क्याम्पसमा छोरी बुहारीहरुलाई यसै शैक्षिक सत्र देखि बिएड प्रथम बर्षमा भर्ना गराउन सुरु गरिएको हो । यस कार्यलाई गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्व मन्त्री गोकर्णराज बिष्टले समेत उदाहरणीय कार्य भन्दै आफ्नो निर्वाचन क्षेत्रका सबै स्थानिय तहमा पनि मदानेले झै छोरी बुहारी उच्च शिक्षा कार्यक्रम लागु गर्न गराउन नेकपाका अगुवा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘आर्थिक अभावका कारण विपन्न बर्गका तमाम छोरी बुहारीहरुले उच्च शिक्षा हाँसिल गर्न सकिरहेका छैनन्,त्यसलाई मध्ये नजर गर्दै मदाने गाउँपालिकाले नमुना कार्यक्रम सञ्चालन गरेको छ , उसले झै क्षेत्र नम्वर २ का सबै पालिकाहरुले छोरी बुहारी उच्च शिक्षा कार्यक्रम लागु गर्नुहोस्’– भेला भएका क्षेत्र नम्वर २ का नेकपाबाट विजयी जनप्रतिनिधी र कार्यकर्ताहरुलाई सम्वोधन गर्दै सांसद बिष्टले भने’– पछाडी परेका महिला र वर्ग समुदायको उत्थानमा जुट्नु नै नेकपाका कार्यकर्ताहरुको मुख्य जिम्मेवारी हो । ’

मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसीले गत बर्ष गाउँ गाउँमा बुझ्दै जाँदा पढ्ने ईच्छा हुँदाहुँदै पनि आर्थिक अभावका कारण बिशेष गरि दलित समुदाय र अन्य विपन्न बर्गका छोरी बुहारीहरु उच्च शिक्षा हाँसिल गर्न बाट बञ्चित भएको पाईए पछि छोरी बुहारी उच्च शिक्षा कार्यक्रम लागु गरिएको बताए । उनले यस प्रथम बर्ष देखि चौथो बर्ष सम्म छोरी बुहारीहरुलाई निशुल्क अध्यान गराईने जानकारी दिए ।

महिलाहरुलाई उच्च शिक्षा हाँसिल गराउन गाउँपालिकाले नै अगुवाई गर्नु पर्नेमा त्यस गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको पनि जोड रहेको बताईन्छ । त्यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले सबै जनप्रतिनिधीहरुको जोड रहेकोले यस आर्थिक बर्ष देखि बिएड प्रथम बर्षको भर्ना सुरु गरिएको र आगमी बर्ष देखि कक्षा ११ र १२ मा पनि गाउँपालिकाले छोरी बुहारीहरुलाई निशुल्क पढउने लक्ष्य लिएको बताए ।

‘कक्षा १० सम्म केन्द्र सरकारले नै निशुल्क शिक्षा दिएको छ , कक्षा ११ देखि उच्च शिक्षा सम्म गाउँपालिकाले निशुल्क पढाउन लागेको हो, प्रमुख प्रशासकिय अधिकृत भण्डारीले भने–‘यस कार्यक्रम पनि लक्षित बर्ग केन्द्रित हो, गाउँपालिका अध्यक्षज्युको जोड लक्षित बर्गको उत्थानमा रहेकोले अन्य यस्ता थुप्रै कार्यक्रम पनि सञ्चालन गरिएको छ जसको सकरात्मक परिणाम पनि देखा पर्न थालेका छन् । उनले असुरक्षित अब्यवस्थित दलित समुदायको वस्ती सारेर एकिकृत नमुना वस्ती निर्माण सुरु गरिएको र जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा हस्तान्तरण गर्न लागिएको जानकारी समेत दिए ।

ठुलो राहत मिलेको छः क्याम्पस प्रमुख

यसैबीच , पुर्कोटदह जनज्योति क्याम्पसका क्याम्पस प्रमुख देविराम भुसालले मदाने गाउँपालिकाले छोरी बुहारी उच्च शिक्षा कार्यक्रम लागु गरे पछि दलित र अन्य विपन्न बर्गका छोरी बुहारीहरुलाई ठुलो राहत मिलेको प्रतिकृया दिए । ‘यो क्याम्पस २०६५ सालमा तत्कालिन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उद्घाटन गरेर सुरु गरिएको थियो । करिव ११ बर्षको ईतिहाँसमा यस बर्ष छोरी बुहारी उच्च शिक्षा कार्यक्रमका कारण विद्यार्थी भर्नाको रेकर्ड नै तोड्यो’– क्याम्पस प्रमुख भुसालले भने –‘बार्षिक बढिमा ३० जना भन्दा बढि बिद्याथी भर्ना भएका थिएनन , यस बर्ष भने झण्डै दोब्बर बिद्यार्थी भर्ना भएका छन् ।

उनले हाल सम्म ४९ जना बिद्यार्थी भर्ना भएका र छोरी बुहारीहरु मात्रै ३७ जना भर्ना भएको क्याम्पस प्रमुख भुसालले बताए । उनले थपे–‘ हामीलाई थाह छ , यस गाउँपालिका थुप्रै छोरी बुहारीहरु आर्थिक अभावका कारण चाहेर पनि क्याम्स पढ्न सकेका थिएनन, उनीहरु अहिले क्याम्पस भर्ना भएका छन र थप छोरी बुहारीहरु भर्ना हुने क्रम जारी रहेकोले विगतका बर्षको तुलनामा यस बर्ष दोब्बर भन्दा बढि विद्यार्थी भर्ना हुने देखिन्छ ।

यो कार्यक्रमबाट गरिवका छोरी बुहारीहरुलाई मात्र राहत पुगेन, विद्यार्थी अभावमा क्याम्पस सञ्चालन गर्न हम्मेहम्मे अवस्थामा रहेको जनज्योति क्याम्पसलाई समेत ठुलो राहत मिलेको बताउँदै क्याम्पस प्रमुख भुसालले मदाने गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनिधी र कर्मचारीहरुलाई धन्यवाद दिए । मदाने गाउँपालिका अर्घाखाँची र प्युठानको सिमनामा पर्ने विकट गाउँपालिका हो । जुन क्याम्पसमा ती दुई छिमेकी जिल्लाका विद्यार्थीहरु पनि पढ्ने गर्दछन् । सदरमुकाम तम्घासबाट झण्डै ४० किलो मिटर दुरीमा पर्दछ ।

तस्वीरः त्यस जनज्योति क्याम्पसमा बिएड प्रथम बर्षमा भर्ना भएको छोरी बुहारीहरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !