प्रेम सुनार गुल्मी २०७६ चैत ४ । गुल्मीको मदाने गाउँपालिका वडा नम्वर–७ भनभनेका मेघनाथ सुनारको दुई चार डोका मकै फल्ने थोरै बारी थियो । तर त्यो पनि लघुवित्तको ऋणले बेचेर अहिले सम्पत्तीका नाममा बास मात्रै छ । त्यस्तो अति विपन्न परिवारमा समेत लघुवित्तका तिन चार वटा संस्थाले साढे ५ लाख ऋण दिएका छन् ।
त्यही लघुवित्तको किस्ता चलाउनका लागि गाउँका अन्य साहुहरुबाट ऋण काढ्दा–काढ्दै अहिले करिव ३६ लाखको ऋणको भारीले मर्नु न भाग्नुको अवस्थामा पुगेको उनकी बुहारी विमला सुनारले बताईन । ‘मेरी सासुको नाम पुतला सुनार हो , संस्थाहरुको ऋणले थाल खाउँकी भात खाउँ पारे पछि ससुरा र सासु घर छाड्न बाध्य हुनु भयो । साउन २३ गते म सुत्केरी भएकी हुँ, म सुत्केरीलाई अलपत्र घरमा छाडेर उहाँहरु भारतरित जानु भएको छ ,– बुहारी सुनारले भनिन–‘ मलाई दिनहुँ संस्थाका सरहरु आएर गाली बेईजती गर्नु हुन्छ , मेरै पेट पाल्न मुस्कील छ , मैले त्यत्रो ऋण कसरी तिरुँ ?’
उनको परिवारलाई सिवाईसि नेपाल लघुवित्त वित्तिय संस्था, चौतारी लघुवित्त र सुर्योदया लघुवित्त सहित तीन वटा संस्थाले साढे ५ लाख ऋण दिएका छन । सुनार भन्छिन–‘ हामी सासु बुहारीका नाममा अलग अलग ऋण दिएका छन । सुर्योदयाले २ लाख , चौतारीले ३ लाख र सिवाईसिले ५० हजार ऋण दिएका थिए । मेरो श्रीमान शिव सुनार मलेशिया गएर ३ महिना मै फर्किनु भएको थियो ।
फेरी विदेश जाने भनेर ऋण निकालेका थियौं , अहिले सम्म न श्रीमान विदेश जान सक्नु भयो न यहाँ नै राम्रो कमाई गर्नु सक्नु भएको छ । अहिले बुटवलतिर गाडीमा काम गर्नु हुन्छ । सम्पत्तीका नाममा भएको उक्त घर दामासहि गर्न आँटिएको तर एक संस्थाको किस्ता समेत तिर्न नसकेर अगाडी नबढाईएको उनको भनाई छ ।
नेपालमा च्याउ उम्रे झै उमे्रका लघुवित्त वित्तियत संस्थाहरु मध्ये कतिपय लघुवित्त वित्तिय संस्था विपन्न वर्गका लागि वरदान सावित भए पनि कतिपय वित्तिय संस्था विपन्नलाई विताउने खालका पाईएको छ । सुनारको परिवार त प्रतिनिधी मुलक पात्र मात्रै हुन् । त्यस गाउँका तल्लो र माथील्लो गरि दुई वटा समुह बनाईएको छ । दुई तिर गरि करिव ४५ जना महिला सहभागि छन् । एउटै परिवारका दुई तिन जनाले दुई तीन वटा लघुवित्तबाट ऋण काढेर किस्ता बुझाउन नसक्दा अहिले सम्म ८ जना महिलाहरुले गाउँ छाडेको स्थानियले बताए । अब अरु पनि गाउँ छाड्दै जाने क्रममा रहेको बताईन्छ । घर छाडेका महिलाहरु आफुहरुको सम्पर्कमै रहेको वित्तिय संस्थाहरुले बताएका छन् ।
भैसी पनि लगे पैसा पनि लगे
त्यसै भनेभने गाउँकी विपन्न महिला देउकी बिश्वर्माले गत बर्ष भैसीपालनका नाममा सुर्योदया लघुवित्त संस्थाबाट १ लाख २५ हजार ऋण काढिन् । उनले भैसी भने किनिन । ‘दुख विमार लाग्दाको ऋण थियो ।
त्यही बुझाउँदैमा ठिक्क भयो’– देउकीले भनिन–‘ घरमै रहेको एउटा भैसी असारमा ब्याँउने थियो गएको पुसमा संस्थाका मान्छे आएर ग्राहक आफै खोजेर उनीहरु कै मुल्यमा बेचि दिए । मैले केहि दिन पर्खिनुस किस्ता खोज्छु भन्दा पनि मानेनन। उक्त भैसी बेचेर तीन किस्ता बराबर ३० हजार कटाए । ६ हजार मलाई नगद दिएका हुन् ।
त्यस अघि १० हजारका दरले ५ किस्ता बुझाएकी हु । अझै ८० हजार तिर्न छ भनेर भनिएको उनको भनाई छ । उनलाई ऋण प्रवाह गर्ने सुर्योदया लघुवित्त वित्तिय संस्था सिमलटारी शाखा प्रमुख सन्दिप रेग्मी संग सम्पर्क राख्दा उनले तिरें भनेको विवरण मिल्न सकेन ।
शाखा प्रमुख रेग्मीले भने–‘ उहाँले साउन महिनामा १ लाख २५ हजार भैसीपालनका लागि ऋण लैजानु भएको हो , भदौं देखि ५ किस्ता बुझाउनु भएको छ । थप तीन किस्ता बरावरको भैसी बेचिएको हो । उहाँले ३६ हजार ४ सय ५६ रुपैयाँ किस्ता तिरेको र अब तिर्न ८८ हजार ५ सय ४४ रुपैयाँ बाँकी रहेको छ । ’
शाखा प्रमुख रेग्मीले देउकी बिश्वकर्माको घरमा आफै गएर निरीक्षण गरि ऋण प्रवाह गरेको बताए । राष्ट्र बैंकले ऋण प्रवाहको सिमा तोकेको छ, आर्थिक अवस्था हेरेर ५ लाख भन्दा माथी नबढाई ऋण दिने भने अनुसार नै ऋण प्रवाह गरिएको दावी उनको छ । तर ६ सन्तानकी आमा रहेकी देउकीका एक हलको मेलो नपुग्ने बारी छ । खरको झुपडीमा गुजरा चलाउँदै आएका त्यस परिवारलाई मदानेगाउँपालिकाले अहिले जस्ता पाताले छाई दिएको छ ।
भारतमा मजदुरी गर्न गएका उनका श्रीमानले मुस्कीले घर खर्च बाहेक किस्ता चलाउने अवस्था नरहेको देउकी बिश्वकर्माको भनाई छ । सुर्योदय लघुवित्त वित्तिय संस्था सिमलटारीका शाखा प्रमुख रेग्मीका अनुसार त्यस संस्थाले ईस्मा , मालिका , धुर्कोट र मदाने गाउँपालिकालाई कार्य क्षेत्र बनाएको छ ।
जहाँ उनका सदस्य १३ हजार करिवको संख्यामा छन भने झण्डै ४ करोड रुपैयाँ ऋण प्रवाह गरिएको छ । उनले त्यसरी जथाभाव ऋण प्रवाह गर्दा थप समस्या सिर्जना हुन सक्ने भन्दै यो बिषयलाई मिडिलाले सकरात्मक सुझावका रुपमा उठाएको भन्दै धन्यवाद दिए ।
लघुवित्तको ऋणको किस्ता बुचmाउन नसकेर गुल्मीबाट झण्डै ५० जना महिलाहरु घरबाट विस्थापित भएको विभिन्न गाउँका अगुवाहरुले बताउँछन् । सदरमुकाम तम्घास संग जोडिएको साविक सिमिचौर गाविस ,हाल रेसुङ्गा नगरपालिका–१० को बाँसपाटा स्थित एउटा सानो टोलबाट मात्रै ४ जना महिलाहरु लघुवित्तको ऋण तिर्न नसकेर घरबाट विस्थापित भएको त्यस वडाका वडाध्यक्ष पदम प्रसाद अर्यालले जानकारी दिए ।
गुल्मी क्षेत्र नम्वर २ को ईस्मा , मालिका , धुर्कोट र मदानेमा ऋण प्रवाह गर्ने अर्को चौतारी लघुवित्त वित्तिय संस्थाको सिमलटारी शाखा कार्यालयका शाखा प्रमुख सन्तोष रायमाझीको प्रतिकृया माग्दा आफ्नो संस्थाले कसैलाई पनि कर गरेर ऋण नदिने गरेको दावी गरे । उहाँहरुले हामी जाँदा पनि हाम्रै संस्थाले किनेका बाख्रा ,भैसी भन्नु हुन्छ , अर्को संस्थालाई पनि त्यसै भन्नु हुँदो रहेछ , हामीले त्यही देखेर ऋण दिने हो , रायमाझीले भने हाम्रो दोष होईन , उहाँहरु कै हो । ’
महिनै पिच्छे किस्ता मात्रै ४० हजार ?
लघुवित्तहरुले कर्जा प्रवाह पछि निगरानी शुन्य गरेको अर्की ज्वालन्त उदाहरणकी पात्र हुन् भनेभने गाउँकी पुतला बिक । जसको दुई महिना पनि खान नपुग्ने जमिन छ । जम्मा एउटा भैसी, दुई वटा बाख्रा र ७ वटा कुखराका चल्ला पालेकी छन् । तर उनले तीन बेग्ला बेग्लै लघुवित्तबाट भैसी र बाख्रा पालनका नाममा साढे दुई लाख ऋण लिएकी छन ।
चौतारी लघुवित्तबाट गएको भदौ महिनामा भैसीपालनका नाममा १ लाख ऋण लिएकी थिईन । सिवाईसी नेपाल लघुवित्तबाट पनि भैसी पालन कै नाममा माघ महिनामा ५० हजार ऋण लिईन । गत बर्षको चैत्र महिनामा उनले सुर्योदय लघुवित्तबाट बाख्रापालनका नाममा १ लाख रुपैयाँ ऋण लिएकी थिईन । सिवाईसी तीन किस्ताको २८ हजारका दरले बुझाउन पर्छ । सुर्योदयाका मासिक ९ हजार किस्ता बुझाउनु पर्छ ।
चौतारीको मासिक ३ हजार किस्ता सहित उनले ४० हजार बुझाउनु पर्छ । त्यही किस्ता बुझाउन नसकेर उनका श्रीमान दिल्लीतिर मजदुरी गर्न हिडे । स्कुल पढनु पर्ने छोरालाई पनि उनले भारतरि कै रोजगारमा पठाईन । एक छोरीको विवाह भयो , अरु दुई छोरीहरु पढ्दैछन ।
भारत पुगेका श्रीमान र छोराले घर खर्च चलाउने भन्दा बढि कमाउन–पठाउन नसकेर दिनै रात ऋण दिएको संस्थाको गाली बेईजती सहेर बस्नु परेको पुतला बिकले पीडा सुनाईन । निमेक मजदुरी गरेर महिनाको १० हजार कमाउन नसक्ने पुतलालाई प्रति किस्ता ४० हजारको भारी आकाशले च्याँपे झै भएको छ ।
निमेक गरेर ल्याएको मानो रुखोे–सुखो पनि तनावै तनावको विचमा खानु परेको उनले पीडा सुनाईन । भैसी बाख्रा पालनका नाममा साढे दुई लाख ऋण लिए पनि उनको गोठ एउटा भैसी र दुई वटा बाख्रा मै सिमित छ । ऋणको भारी भने थप बढ्दै छ ।
बेलैमा सजग हुनै पर्छ : कार्यकारी अधिकृत
लघुवित्तको क्षेत्रमा बाग्लुङ्गको पुरानो र ठुलो कारोवार गर्ने संस्था हो सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था । उसले बाग्लुङ्ग , गुल्मी , अर्घाखची, पाल्पा , तनहुँ , लमजुङ्ग , म्याग्दी र पर्वत सहित ८ जिल्लामा कार्य क्षेत्र बनाएको छ ।
उसले गुल्मी जिल्लामा मात्रै उसका ६ वटा शाखा छन । पुर्तिघाट , शान्तिपुर , खैरेनी , वामीटक्सार , तम्घास र सिमलटारी , यी प्रत्येक शाखाबाट करोडौंको ऋण लगानी हुने गरेको छ । अन्य लघुवित्त वित्तिय संस्थाले झै त्यस संस्थाले भने प्रति परिवारलाई ठुलो परिमाणमा ऋण लगानी गरेको पाईएको छैन ।
ती जिल्लाका २५ शाखा मार्पmत ३९ जना सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरिएको छ र एक अर्ब तेह्र करोड बराबरको लगानी गरेको छ । सुरुमा चारतारे युवा क्लवका रुपमा २०६४ साल देखि उदाएको यस संस्थाको बाग्लुङ्ग नगरपालिकामा प्रधान कार्यालय रहेको छ ।
त्यस संस्थाका कार्यकारी निर्देशक रोशनकुमार अधिकारीले आफ्नो संस्थाबाट गरिव डुबाउने नभई उकास्ने गरि ऋण प्रवाह भएको दावी गरे । उनले भने –‘हामीले कर्जाको विमा गरेको कारण सदस्यको मृत्यु भएको अवस्थामा कर्जा रकम बराबर तथा दुर्घटनाबाट मृत्यु भएको अवस्थामा कर्जा लगानीको दोब्बर रकम सुविधा दिने व्यवस्था गरेका छौं । ’
साना उद्यमी सदस्यहरुको लागि रु. ५० हजारसम्म मौसमी कर्जा लगानी गर्दा सेवा शल्क नलिएको तथा ब्याजदर १७ प्रतिशत लिएको र यसले वास्तविक विपन्न वर्ग तथा साना उद्यमीलाई सहज भएको छ । अन्य कर्जाको ब्याजदर १८ प्रतिशत तथा सेवाशुल्क २ प्रतिशत लिने गरेका छौं । ब्याजको ब्याज नलिएको , सदस्यको पासबुक शुल्क, प्रवेश शुल्क लगायतको अनावश्यक शुल्क नलिएको र सदस्यलाई सुत्केरी सुविधा, सदस्यको काजक्रिया खर्च (नियमानुसार) दिईएको उनको दावी छ ।
तर उनले एउटै परिवारलाई धेरै वित्तिय संस्थाहरुले ऋण प्रवाह गर्नुले विकृति बढेको विपन्न परिवार थप समस्यामा परेको स्वीकार गरे । मिडियाले उठाएको यो सवाल बेलैमा निरुपण गर्न नसके भोलीको दिनमा थप समस्या आउने हुँदा लघुवित्त र ऋणी दुबै पक्ष बेलैमा सजग हुनु पर्ने उनले धारणा राखे । ठुला र साना सहित गुल्मीमा मात्रै एक दर्जन बढि लघुवित्त वित्तिय संस्था सक्रिय छन् । लघुवित्तमा विपन्नलाई सहज कर्जाको पहुँच राज्य र ती संस्थाले दिएको अवसर पनि हो ।
तर जुन भावनाका साथ ऋण प्रवाह गरिन्छ सोही अनुरुप सदुपयोग हुनुको साटो दुरुपयोग हुँदा विपन्न वर्ग थप बेहाल हुन पुगेको पाईएको छ । कतिपयले लघुवित्तको ऋण माछा मासु खाई–पिईमा सक्ने गरेको , मोवाईल र लवाई खवाईको ऋण तिर्ने गरेकोले पनि यस्तो समस्या सिर्जना भएको आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् ।