रोशन थापामगर, बुर्तिबाङ २०७६ चैत ६ । बुर्तिबाङ बजारमा निर्माणाधीन अवस्थामा रहेको मगर समुदायको संग्राहालय भवनमा आर्थिक अनियमितता भएको व्यहोराको नागरिक समाज बागलुङ, क्षेत्र नं २ को नामबाट ढोरपाटन नगरपालिकामा परेको उजुरीको विषयलाई लिएर नेपाल मगर संघ क्षेत्रिय समिति, क्षेत्र नं २ प्रदेश (ख) ले एक विज्ञप्ती प्रकाशित गरी यसलाई तथ्यहीन भन्दै आपत्ती जनाएको छ ।
मगर संघव्दारा जारी विज्ञप्तीमा, योजना सम्झौता गरी बिधिवत ढंगबाट कार्य पुरा गरी पेश्की फस्र्यौट भई संघको भवन निर्माणको गतिमा अगाडि बढिरहेको अवस्थामा नगरपालिकामा अछापे बेनामी र तथ्यहीन निवेदन मार्फत, भवन निर्माणमा हिनामिना भएको भन्दै वजेट रोक्का गर्न दिइएको निवेदन आफैमा इश्र्यापूर्ण भएको भन्दै, संघले उक्त कार्यले समग्र मगर समुदायको बदनाम गराउने प्रति लक्षित रहेको भन्दै क्षेत्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
नागरिक समाजका नामबाट नगरपालिकामा निवेदन दर्ता गराउन आउने व्यक्तिलाई ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृत ढोलराज ढकाल र नगरप्रमुख देवकुमार नेपालीले पक्कै पनि चिन्नु हुन्छ किन भने निवेदनमा तोक आदेश लगाईएको उल्लेख छ भन्ने उल्लेख गर्दै निवेदकलाई सार्वजनिक गर्न नगर प्रमुख नेपाली समक्ष मगर संघले अपील गरेको छ ।
विज्ञप्तीमा यदि यस प्रकारका निराधार कपोलकल्पित कार्य गर्ने र समाजमा असहिष्णुता सिर्जना गर्ने व्यक्तिलाई यथाशीघ्र सार्वजनिक गराईएन कार्बाही गराईएन भने यस क्षेत्रका मगर समुदाय सशक्त आन्दोलनको घोषणा गर्न बाध्य हुने विज्ञप्तीमा चेतावनी दिएको छ । मगर संघको विज्ञप्तीमा फर्जी निवेदन उपर तोक आदेश कसरी लगाईयो ? मगर संघ कानूनी रुपमा अगाडी बढ्न बाध्य हुने पनि विज्ञप्तीमा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बोधार्थ दिएर नागरिक समाज बागलुङ, क्षेत्र नं २ ले ढोरपाटन नगरपालिकामा २०७६ फागुन १९ गतेका मितिमा दर्ता नं ७०२ मा दर्ता गरिएको निवेदनमा नगरपालिकाबाट रु १५ लाख बजेट छुट्टाएको र पेश्की समेत लगेको बुझिएको साथै त्यस कार्यालयबाट उपलव्ध १५ लाख पेश्की रकमबाट कुनै पनि नयाँ काम नभएको जानकारी गराईन्छ भन्दै योजनामा कसरी त्यस कार्यालयबाट फरफागत गर्नु हुन्छ हामीहरु बुझ्न खोजी रहेका छौँ भन्ने व्यहोरा उल्लेख छ ।