बुर्तिवाङ २०७६ चैत ६ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र बागलुङ जिल्लाको पश्चिम निसी=भूजी-तमान क्षेत्रका हजारौ जनताको लागी सर्वाधिक महत्व राख्छ । नाममा प्राथमिक स्वास्थ्य केन्द्र भनिएपनि यस केन्द्रबाट प्रवाह गरिने सेवा, यसका भौतिक संरचना जिल्लास्तरीय अस्पताल भन्दा कम देखिन्न । निसी-भूजी-तमानबासीका लागी भरोशाको केन्द्र रहेको यस प्राथमिक स्वास्थ्य केन्द्रबाट मानव स्वास्थ्य क्षेत्रमा गरिएका सेवाहरुको यस क्षेत्रमा व्यापक प्रशंसा हुँदै आएको छ । यस स्वास्थ्य केन्द्रको स्तरोन्नति एवं थप सुविधाहरुको लागी स्थानीयतहबाट प्रयासका वचनहरु प्राप्त भैरहेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेका जटिल केस (प्रसुती)का विरामीहरुलाई प्रदेश सरकारको सहयोगमा हेलिकप्टरबाट नि:शुल्क पोखरा लगी उपचार गर्ने कार्यमा स्वास्थ्य केन्द्र तथा ढोरपाटन नगरपालिका खासगरी नगरप्रमुख देवकुमार नेपालीको सत्प्रयासको सह्राहना गरिदै आएको छ । तर केन्द्रमा आउने सबै खाले जटिल विरामीहरुका लागी हेलिकप्टर सुविधा उपलव्ध गराउन सम्भव हुँदैन । आम विरामीहरुका लागी एम्वुलेन्स अति जरुरी हुन्छ । थप उपचारका लागी अन्यत्र पठाउनु पर्ने तथा नगै नहुने अवस्थाका विरामीहरु ट्याक्सीमा जाँदा निकै महंगो पर्ने हुँदा सबैजसोले एम्बुलेन्सको आवश्यकता महसूस गर्दै आएका छन् । तर जिल्लाको पश्चिम क्षेत्रको बुतिवाङ बजारमा रहेको स्वास्थ्य केन्द्रमा वर्षौँ देखी एम्बुलेन्सको व्यवस्था गर्न सरोकारवालाहरुले चासो नदेखाउनु निसी-भूजी-तमान क्षेत्रका जनतालाई पचेको छैन ।
यो लिंकपनि पढौं :
ढोरपाटन नगरपालिका लगायत पश्चिम क्षेत्रको विकासका लागी नगरप्रमुख नेपालीको योगदानको चौतर्फी प्रशंसा !
गत २०७५ साल कात्रिक १९ गते बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्र सञ्चालक समितीको बैठकमा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले बुर्तिबाङ प्राथामिक केन्द्रको नाममा आफ्नो ब्यक्तीगत खर्चले तुरुन्तै एक एम्बुलेन्स खरीद गरीदिने घोषणा गरेको क्षेत्रबासीले स्मरण गरिरहेका छन् । सो बैठकमा पहिले स्वास्थ्य केन्द्रमा रहेको एम्बुलेन्सको चालकको लागि बिज्ञापन गर्ने लगायतका निर्णय भएको पनि स्थानीयले संझी रहेका छन् ।
यो लिंकपनि पढौं :
नगरप्रमुख नेपालीले आफ्नै खर्चमा तत्काल बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स खरिद गरिदिने उद्घोष !
गत २०७५ साल मंसिर महिनामा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं। १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीले, ‘केहि दिनमा नै एम्बुलेन्स स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको’ जानकारी दिएका थिए ।
यो लिंकपनि पढौं :
युवाहरुको सक्रियतामा गाउँमै एम्बुलेन्स, बडीगाडबासीलाई उपचारमा सुबिधा !
केहि महिना पहिले बडीगाड गाउपालिकाका युवाहरुको सक्रियतामा बडीगाडमा ल्याईएको एम्बुलेन्स झिकाएर विरामीहरुले काम चलाउने गरेका छन् ।
कोरोना भाईरसबाट विश्व सन्त्रस्त बनेको छ । डेँगुरोगको चर्चा पनि सुनिन थालेको छ । यस अवस्थामा स्वास्थ्य केन्द्रमा एम्बुलेन्स भैदिए सर्वसाधारण सबैलाई निकै राहत पुग्ने विश्वास निसी-भूजी-तमान क्षेत्रबासीको रहेको छ । उनिहरुको एकै खाले दुई प्रश्न छन्, ‘कहिले देख्न पाउला बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रले एम्बुलेन्सको मुख ? कहिले एम्बुलेन्स चढेर उपचार गर्न गन्तव्यमा जान पाईएला ?’