Sorry, that menu does not exist.
 

कोरोना भाइरस भित्रिन नदिन बिशेष सतर्कता : जिल्ला प्रशासन प्रवेशद्वारमा हात धुने साबुन पानीको व्यवस्था !

मनु सुनार, गुल्मी २०७६ चैत ८ । विश्वव्यापी फैलिएको कोभिड १९ (कोरोना) भाइरस भित्रिन नदिनका लागि गुल्मीमा बिशेष सतर्कता अपनाइने भएको छ। शुक्रबार सदरमुकाम तम्घासमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको संक्रमण तथा हुन सक्ने जोखिमताको विरुद्ध सचेत रहनका लागि विभिन्न निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सुचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षता तथा जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीको बिशेष सहभागीतामा बसेको बैठकले कोरोना संक्रमणबाट बच्न विभिन्न निर्णय गरेको हो।

बैठकले जिल्लाका सबै कार्यालयको प्रवेशद्धारमा साबुन पानीले हात धुने तथा स्यानिटाइजरको व्यवस्था मिलाउने, सार्वजनिक स्थानमा स्थानीय सरकार तथा विभिन्न संघसंस्थाको सहयोगमा हात धुने पानी र साबुनको व्यवस्था गर्ने निर्णय गरिएको छ।

अत्यावश्यक काममा बाहेक स्वास्थ्य र अत्यावश्यक सेवाका कर्मचारीहरुलाई काज तथा बिदा नदिने, आफ्नो पालिकामा बाहिरबाट आएका व्यक्तिहरुको जानकारि लिने, सबै पालिकाहरुले आइसुलेशन हाउसको व्यवस्थापन गर्ने निर्णय भएको सुचना अधिकारी पाण्डेले बताए ।

यस्तै सबै निजि तथा सरकारी स्वास्थ्य संस्थाहरुले अनिवार्य रुपमा आइसुलेशन वाडको व्यवस्थापन गर्ने, जिल्लामा तत्काल प्रयोग गर्ने गरी आवश्यक हेल्थ किड्स सहितको एम्बुलेन्स तयारी अवस्थामा राखिने छ। २५ जना भन्दा बढी सहभागी हुने कुनै पनि कार्यक्रम नगर्ने नगराउने, कालो बजारी र बजारमा कृतिम अभाव सिर्जना गर्ने उपर कारवाही गर्ने निर्णय भएको छ ।

पालिकाहरुले हप्तामा एक पटक बजार अनुगमन गर्ने, सबै पालिकाहरुले आवश्यक विपदु व्यवस्थापन कोषको व्यवस्था गर्ने निर्णय भएको सुचना अधिकारी पाण्डेले जानकारी दिनुभएको छ। विपद् सुचना संश्लेषण तथा योजना निर्माणको लागि विपद् सचिवालयको व्यवस्था गर्ने लगायतका बिषयमा छलफल भएको उनले जानकारी दिए ।

बैठकले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सबैमा आग्रह समेत गरेको छ। बैठकमा जिल्लाको सबै स्थानीयतहमका प्रमुख तथा उप–प्रमुख, राजनीतिक दल, गैर सरकारी संस्था महासंघ पत्रकार लगायतको उपस्थिति रहेको थियो।

जिल्ला प्रशासन कार्यालय प्रवेशद्धारमा हात धुने साबुन पानीको व्यवस्था

जिल्ला प्रशासन कार्यालय प्रवेशद्धारमा हात धुने साबुन पानीको व्यवस्था गरिएको छ । विश्वव्यापी रुप लिइरहेको(कोभिड १९) कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी रुवरुप जिल्ला प्रशासन कार्यालय गुल्मीको कार्यालय प्रवेशद्धारमा हात धुने साबुन पानीको व्यवस्था गरिएको हो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !