Sorry, that menu does not exist.
 

नेपालमा तेश्रो कोरोना संक्रमित : कतार एयरवेजबाट यात्रा गर्ने बागलुङका चारजनाको नमुना संकलन गरिदै !

बागलुङ २०७६ चैत १२ । नेपालमा बुधवार कोरोना भाईरसका थप एकजना संक्रमित फेला परेपछी संक्रमितको संख्या ३ पुगेको छ । संक्रमित मध्य एक जना उपचार पछी निको भएर घर फर्किएका छन भने गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै कतार एयरवेजबाट काठमाडौ आएकी एक १९ वर्षिया छात्रामा कोरोना संक्रमणको पुष्टी भएको थियो । बुधवार शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षणका लागी पठाईएको नमुनामा एक जनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार हालसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

प्रहरीले फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएका १ सय ५ जना यात्रुको खोजी गरिरहेको छ । चैत ४ गते नै कतार एयरवेजबाट काठमाडौँ आएका ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका अजय बिक अहिले सेल्फ क्वारेन्टाईनमा घरमै रहेका छन् । चैत ४ गते कै कतार एयरवेजबाट काठमाडौँ आउने यात्रुहरुमा बागलुङ नगरपालिकाको कुँडुले, भकुण्डे र गौँडाकोटका ३ जनापनि आएको बताईएको छ । उनिहरुको नमुना परीक्षण गर्ने प्रयास भैरहेको धौलागिरी अस्पतास्ल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाले ईबागलुङलाई बताए । उनिहरु अहिले घरमै सेल्फ क्वारेन्टाईनमा बसेका छन् ।

अस्पतालका स्वास्थ्यकर्मीहरुले आफ्नो सुरक्षाको लागी अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) नहुँदा संकास्पद विरामीहरुको परीक्षण गर्न समस्या परेको अध्यक्ष रानाले बताए । आजै सेनाको सहयोगमा दुई थान पीपीई उपलव्ध भएपछी चैत ४ गते कतार एयरवेजबाट काठमाडौ आएकाहरुको नमुना संकलन गर्न थालिएको जानकारी दिँदै स्वास्थ्यकर्मीको टोली अहिले कुँडुले पुगेको बताए ।

अध्यक्ष रानाले सकलित नमुना परीक्षणका लागी काठमाडौ पठाउने सम्वन्धमा जिल्ला प्रशासन कार्यालय बागलुङमा पमुख जिल्ला अधिकारी गौलोचन सैजुको समुपस्थितीमा बागलुङ नगरपालिकाका नगरप्रमुख, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सदस्य, अस्पतालका सिमेअ, जनस्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत समेतको बैठकमा छलफल भएको जानकारी दिए ।् प्रजिअ सैजुले संकलित नमुना पोखरा सम्म पुराउन सिँचाई कार्यालयको गाडी व्यवस्था गरिदिएको बताए । अध्यक्ष रानाले आज सम्ममा थप पीपीई अस्पतालमा प्राप्त हुने बताए ।

धौलागिरी अस्पतालमा कोरोना भाईरसका एकजना संकास्पद विरामीलाई आईसोलेसन कक्षमा भर्ना गरी नमुना परीक्षणको लागी काठमाडौ पठाईएको छ । भोलिसम्ममा रिपोर्ट आउने विश्वास गरिएको छ । पीपीईको अभावमा स्वास्थ्यर्मीहरु उनको कोठामा जान मानिरहेका छैनन् । उनलाई खाने कुराहरुपनि लामो काठको लौरोमा झुण्डाएर कोठामा पुराईने गरेको अस्पताल श्रोतले बतायो ।

सदरमुकाम स्थित अस्पतालको यो अवस्था छ भने जिल्लाको कुस्मीसेरा, गल्कोट हरिचौर र बुर्तिवाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरुको हाल के होला ? सहजै अनुमान गर्न सकिन्छ । कोरोना भाईरस जस्ता कडा संक्रमणजन्य रोगका बिरामीहरु चेकजाँच गर्दा स्वास्थ्यकर्मीहरुले अनिर्वार्यरुपमा लगाउनु पर्ने व्यक्तिगत सुरक्षा सामाग्री पीपीई नहुँदा स्वास्थ्यकर्मीहरु असुरक्षित अवस्थामा रहेकोले यसको तत्काल व्यवस्था गरिनु पर्ने स्वास्थ्यकर्मीहरुको आवाज छ ।

विश्वमा फैलिएको कोरोनाको संक्रमणको सन्त्रासको कारण देश विदेशमा रहेका हजारौँ बागलुङ जिल्लाबासीहरु घर फर्की रहेका छन् । उनिहरुको सामान्य स्वास्थ्य परीक्षण ज्वरो नाप्ने थर्ममिटर पनि स्वास्थ्य संस्थाहरुमा नभएका उनिहरुको गुनासो रहेको छ । यसरी हुलकाहुल घर फर्किएकाहरुको नमूना संकलन र परीक्षण कसरी सम्भव होला ? प्रशासन, स्वास्थ्य निकाय र स्थानीय तहको समन्वयमा शीघ्र प्रयास हुनु आवश्यक छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !