Sorry, that menu does not exist.
 

सरकारको ‘लक डाउन : गरिवको ‘मोरल डाउन !

प्रेम सुनार, गुल्मी २०७६ चैत १२ । सारा ब्यवसायहरु बन्द छन् । बजार सुनसान छ । टन्न पैसा हुने मानिसहरु घर पसल बन्द गरेर परिवारका साथ खानपिनमा मस्त छन् । तर दैनिक मजदुरी गरेर चुलो चलाउनेहरु ‘लक डाउन’ को दुई दिन नबित्दै कसरी विहान बेलुकाको चुलो चलाउने होला भन्ने चिन्तामा पर्न थालेका छन् ।

तीनै गरिव मजदुर मध्येका एक हुन् गुल्मीको सदरमुकाम तम्घासमा दिनभरी चटपटे बेचेर चार जनाको परिवारको चुलो चलाउने गुल्मी वाग्लागाउँका हरिप्रसाद घिमिरे । उनी भुकम्प पीडित हुन् । धुर्कोट गाउँपालिका वडा नम्वर ७ , वाग्ला अजमिर घर भएका घिमिरे भुकम्पले घर क्षति बनाए पछि विस्थापित भई सदरमुकाम तम्घासको फुटपाथमा गत चार बर्ष देखि चटपटे बेच्न थालेका हुन् ।

घिमिरेको घरमा जग्गा जमिन पनि थोरै छ । ‘आर्थिक अवस्था निकै कमजोर रहेको छ । चटपटे बेचेर दैनिक पाँच सात सय रुपैया कमाई हुन्थ्यो र चुलो चलेको थियो’– घिमिरेले भने –‘हिजो देखि कोठामा पल्टेको छु, अब यस्तै अलि दिन रहिरहे कसरी चुलो चलाउने चिन्ता बढेको छ । ’

पढाउन नसकेर कक्षा ११ पास गरेका जेठा छोरालाई पढाउन सकिएन कतै जागिर लगाई दिनुस न भनेर समाजका अगुवाहरुलाई गुहार्दै छन् । अर्का छोरालाई भने सकिनसकि पढाउँदै छन् । विहान सात आठ बजे चनाचटपटेका परिकारहरु तयार पारेर कोखिलामा एउटा बक्स भिर्दै हिड्ने घिमिरे मंगलवार बिहान सदरमुकाम तम्घासको मिलनचोकस्थित कोठा मै थिए ।

‘सरकारले आवत जावत गर्न रोक लगाउनु त हाम्रै ज्यानको सुरक्षाका लागि तर के गर्ने परिवार पाल्ने अरु कुनै उपाय छैन , बढो गाह्रो हुने भयो ’–घिमिरेले भने । उनी सहित सदरमुकाम तम्घासका दर्जनौ स्थनामा फुटपाथ पसल चलाएर गुजारा चलाउँदै आएका गरिवहरुको अवस्था उस्तै हो ।

घर बनाउने काममा लागेका मजदुरहरु पनि काम छाडेर बसेका छन् । सडक मजदुरको अबस्था झन विजोग छ । त्यस्ता गरिव मजदुरहरु मध्ये कोही मंगलवार देखि हिडेर गाउँतिर जाादै छन् । उनीहरु भन्दै थिए घाउँतिर गईयो भने कोदो मकै एँेचोपैचो गरेर पनि चलाईएला , बजारमा त धेरै दिन टिक्न सक्ने अवस्था देखिएन । एउटा सानो बजार गुल्मीको तम्घासका यी गरिव मजदुर त सानो उदाहरणका पात्र मात्रै हुन् ।

देशभरका सदरमुकाम र ठुला शहरका गरिव मजदुरहरुको दैनिकी यहि अवस्थामा कति दिन टिक्ला ? यो एउटा चिन्ताको बिषय हो र सरकारले यस्ता बर्ग समुदायलाई यो बेलामा बिशेष राहत बारे सोच्न सक्ला कि नसक्ला ? भन्ने सवाल पनि हो । यसरी सरकारको लक डाउनले गरिवहरुको मोरल डाउन हुँदै गई रहेको बेला सरकारले सोच्नु पर्ने पनि देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !