कुस्मीसेरा, २०७६ चैत १४ । भारत लगायत विदेशबाट गाउँघरमा फर्केकाहरुलाई स्थानीय प्रशासनले गाउँमा कुनै भोजभतेर लगायतका कार्यक्रम नगर्न सुझाएको छ । केहि दिन यता भारत र अन्य मुलकहरुबाट जैमिनी नगरपालिका विभिन्न वडाहरुमा आएका व्यक्तिहरुले गाउँघरमा घुमफिर भेटघाट गर्नुका साथै गाउँलेलाई भेला गराई भोज एवं विभिन्न कार्यक्रमहरु गर्न लागेको जानकारी प्राप्त भएपछी प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नेतृत्वमा बिहीबार एक टोली कुस्मीसेर पुगी यस्तो सल्लाह दिएको हो ।
सो अवसरमा टोलीले जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल, उपप्रमुख लिला राना अन्य जनप्रतिनिधी, स्थानीयवासी संग कोरोना संक्रमण रोक्न गरिएका प्रयासका बारेमा छलफल गरेको प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले बताए ।
कोरोनाको संक्रमणका कारण घर फर्केकाहरुलाई होम क्वारेन्टाईनमा रहन सुझाव दिँदै प्रजिअ सैजुले लकडाउनको पूर्णपालना गरी सहयोग गर्न आग्रह गरेका थिए । विश्वव्यापीरुमा फैलिएको कोरोना संक्रमण फैलिन नदिन स्थानीय तह सजक र सतर्क रहनुपर्ने भन्दै प्रजिअ सैजुले जैमिनीको केन्द्र कुस्मीसेरामा क्वारेन्टाई कक्ष निर्माण गर्न आवश्यक रहेको बताए ।
टोलीमा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, प्रहरी उपरीक्षक नवराज भट्ट, अर्जुनवाण गण बिहुँका प्रमुख सेनानी मिलनध्वज खाण, सशस्त्र प्रहरी बल बागलुङ प्रहरी नायव उपरीक्षक बासुदेव लोहनी, जिल्ला प्रशासन कार्यालय प्रशाससकीय अधिकृत धिरेन्द्र पन्त लगायतको सहभागिता रहेको थियो ।
जैमिनी नगरपालिकामा केहि दिन यता भारत लगायत अन्य देशहरुबाट सयको हाराहारीमा मानिसहरु आएको नगरपालिका श्रोतले जानकारी दिएको छ । गाउँमा आउनेहरुको वडागतरुपमा लगत तयार पार्ने कार्य तीव्ररुपमा भैरहेको नगरपालिकाले जानकारी दिएको छ ।