बडीगाड २०७६ चैत १५ । बडीगाड गाउँपालिका ७ को वडा कार्यालयमा स्थापना गरिएको राहात कोष मार्फत वडाध्यक्ष कृष्ण गुरुङ विपन्न, गरिव तथा ज्याला मजदुरी गर्ने २७ घर परिवारको आगनमा गई प्रती घर परिवार ३० केजी चामल, १ पोका तेल, १ केजी दाल १ पोका नुन र १ वटा सावुन वितरण गरेका छन् ।
अध्यक्ष गुरुङले Corona Virus (COVID-19) ले बिश्वब्यापी रुपमा निम्त्याएको विषम परिस्थितिमा हाम्रो वडा पनि सम्भावित जोखिममा रहेको कुरा बताउँदै त्यो परिस्थितिबाट वडालाई बचाउनका लागि आफुले यो अभियानको थालनी गरेको र यो विषम परिस्थितिमा राज्य र सरकारलाई स्यानो सहयोग गर्ने प्रयास गरेको बताए। राहत सामाग्री कार्यक्रममा अध्यक्ष गुरुङले राहत कोषमा सहयोग गर्ने सहयोगी मनहरुलाई विशेष धन्यवाद प्रकट गर्दै प्राप्त आर्थिक सहयोगलाई जुन उदेश्यका साथ राहत कोषको स्थापना गरिएको छ सोहि ठाउँमा प्रयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
उनले वडामा क्वारेन्टाइनको समेत व्यवस्था गरिएको हुनाले सम्भावित जोखिममा रहेका मानिसहरुलाई क्वारेन्टाइनमा बस्न समेत अनुरोध गर्दै क्वारेन्टाइनमा बस्दा लाग्ने सम्पूर्ण खर्च वडा कार्यालयले व्यहोर्ने बताए । यस वडा भित्र चैत्त १ गते देखि हाल सम्म विभिन्न देशहरुबाट आउनेको संख्या ११ जना रहेको र ती ब्यक्तिहरुलाई वडा कार्यालय मार्फत बिशेश निगरानी गरिएको बताउदै अध्यक्ष गुरुङले अबका दिनमा जो कोहि पनि विदेशबाट आएको खण्डमा सिधै क्वारेन्टाइनमा राख्ने समेत बताए । सरकारले लकडाउनको समयअबधि समेत बढाउने तयारी गरिरहेकोले तपाईं हामी सबै लकडाउनको नियमको पालना गर्नु पर्ने कुरा बताउँदै यो वडा भित्र कोहि कसैलाई समस्या परेमा साथै खानपानको समस्या आएमा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै त्येसको जिम्म म आफु र वाडा कार्यालय परिवार लिन तयार भएको बताए ।
आज वडाको केही भागमा राहत वितरण गरिएको र भोलि पुन अन्य टोलमा घर घरमा गई राहत वितरण गरिने सो अवसरमा जानकारी दिईएको थियो ।
राहत वितरण कार्यक्रममा अध्यक्ष गुरुङ संगै वडा सदस्यहरु दिपेन्द्र केसी, मीन कुमारी माझी साथै ईलाका प्रहरी कार्यालयका प्रतिनिधि हवल्दार नवराज ढकालको समेत उपस्थिति रहेको थियो ।