मिनु बीसी, बुर्तिवाङ २०७४ बैशाख ८ । बागलुङ जिल्लाको सुदूर पश्चिम क्षेत्रका उच्च पहाडी भूभागहरुमा धार्मिक, साँस्कृतिक एवं पर्यटकीय महत्वका प्रशस्तै जलकुण्ड, ताल, दहहरु रहेका छन् । पछिल्लो समय स्थानीय युवाहरुको सक्रियतामा आझेलमा परेका यी प्राकृतिक सम्पदाहरुको संरक्षणको प्रयास भैरहेको छ भने यी प्राकृतिक सम्पदाहरुको प्रचार प्रसारमा शनै: शनै: व्यापकता आएको छ ।
बराह ताल नजिकै सिद्ध बराह मन्दिर परिसरमा विविध कार्यक्रम मन्चन गरिदै ।
यस्तै प्रचार प्रसारको पर्खाईमा रहेको तमानखोला गाउपालिका-२, साबिक बोँगादोभान गाविस- ७, भयरबोँगाको सिद्ध बराह तालपनि एक हो ।
बराह, भगवान विष्णुको एक अवतार हो । भनिन्छ जब पृथ्वीमा पापीहरुबाट मानवमात्रमा दुख कष्ट हुन्छ तब भगवान विविध रुप धारण गरेर मानवमात्रको दु:ख हरण गर्छन् । पुराणहरुमा हिरण्याक्ष र हिरण्यकश्यपु जुम्ल्याहरुपमा जब यस पृथ्वीमा जन्मिए पृथ्वी काँप्न थाल्यो, प्रलयंकारी हावा चल्न थाल्यो,पृथ्वीमा उत्पात मच्चिन थाल्यो । यिनै दुईभाईको बधका लागि भगवान विष्णु बराह अवतारमा अवतरित भएको पुराणहरुमा उल्लेख छ ।
रमणीय बराह ताल र नजिकै रहेको सिद्ध बराह मन्दिर ।
२०५५ सालको फागुुन महिनामा स्थानीयवासी र स्थानीय युवा क्लबको पहलमा श्री सिद्ध बराह मन्दिर निर्माण गरिएपछी यसको प्रचार प्रसार हुन थालेको भयरबोँगा स्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भविन्द्र पुनको भनाई छ ।
रमणीय बराह ताल ।
प्रअ पुन भन्छन्, झण्डै ७ हजार फिटको उचाईमा रहेको भयरबोँगाको मुठाचौरमा अवस्थित सिद्ध बराह स्थान र त्यसको आडैमा रहेको प्राकृतिक सौन्दर्ययुक्त रमणीय बराह तालको प्रशिद्धी दिन गुना रात चौगुना हिसाबले फैलिरहेको छ ।
सयौँ वर्षसम्म सम्म ओझेलमा रहेको सिद्ध बराह ताल अहिले आएर धार्मिक आस्था मात्रले नभएर पर्यटकीय हिसाबले पनि सबैको नजरमा पर्न थालेको स्थानीयको भनाई छ । करीब ५ सय बर्ग मिटरमा फैलिएको बराह तालको गहिराई तीन देखी पाँच मिटर सम्म भएको स्थानीयको अनुमान छ । यो ताल अहिले सम्म नसुकेको स्थानीवासीको दावी छ । यहाँ पानीको मुल देखिदैन, कतैबाट पानी आएको पनि छैन, स्थानीयवासी भन्छन तर यो ताल हरहमेसा जलमग्न रहन्छ । वर्षातको बेला पानीको सतह केहि बढ्छ । उनिहरु भन्छन हाम्रा गाईबस्तुहरुले पानी पिउने घाट यहि हो ।
अहिले यसको संरक्षण र व्यवस्थापनका लागि एक संरक्षण समितिपनि बनेको छ ।
प्रकृतिसंग लुकामारी खेल्दै लेखिका मिनु बीसी
पाँच सात बर्ष पहिले सम्म यस रमणीय प्राकृतिक स्थलको अवलोकन तथा सिद्ध बराहको दर्शनमा फाटफुट मात्र श्रद्धालु एवं आन्तरिक पर्यटकहरु आउने गरेकोमा विगत ४ वर्ष यता नववर्ष बैशाख १ गते हजारौँको संख्यामा श्रद्धालुहरु आउने गरेका छन् । बिकट र दुर्गम स्थानमा अवस्थित यस धार्मिक एवं पर्यटकीय स्थलमा मानिसहरु हरहमेसा आउन कठीन हुने हुनाले प्रत्यक नयाँ वर्षका अवसरमा मात्र मेला लाग्ने प्रचलन कायम गरिएको सिद्ध बराह मन्दिर एवं बराह ताल संरक्षण समितिका अध्यक्ष मोतिबहादुर छन्त्याल बताउछन् ।
बराह तालमा आगन्तुकहरुले सामुहिक तस्वीर खिचाउदै ।
पहिले पहिले जुनसुकै समय मानिसहरु आउने जाने गर्दथे र स्थानीयले खासै चासो पनि लिदैन थिए प्रअ पुन भन्छन् अहिले आएर बैशाख सक्रान्तिमा मेला लाग्ने परम्परा सुरु भएपछी रुकुम, रोल्पा, म्याग्दी, प्यूठान लगायतका जिल्लाहरुबाट श्रद्धालुहरु मनोच्छा पूरागर्न र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न आन्तरिक एवं बाह्य पर्यटकहरु आउने थालेका हुन् ।
यहाँ आउने श्रद्धालुहरुले सिद्ध बराहले मनोच्छा पूरा गरिदिने भएकाले पूजा अर्चना. गर्न आएको बताए । एक जना शारीरिक रुपमा अशक्त युवालाई तपाई यति कष्टपूर्वक यहाँ आउनुको प्रयोजन सोद्धा उनले भने सिद्ध बराहले रोग निको पारिदिने विश्वासले उनको दर्शन गर्न आएको बताए ।
मेलामा विविध मनोरन्जनात्मक सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै सहभागीहरु ।
त्यसो त, यो रमणीय स्थल अनकण्टार र दुर्गम छ तर मानववस्ती विहीन छैन । यहाँ स्थानीयवासीका घर गोठहरु छन् । साविक बोँगादोभान गाविस ७ भयरबोँगाका प्राय सबैको यहाँ जगाजमीन र बस्ती रहेको छ । उनिहरुको गाईबस्तुको चरिचरण क्षेत्रपनि यहि हो । यहाँ आलुखेती राम्रो हुन्छ । तैपनि बराह तालको महत्व केहि वर्ष यता आएर मात्र उनिहरुले बुझेको बताउछन् प्रअ पुन ।
सिद्ध बराह मन्दिरमा बोका, भेँडा, परेवा, कुखुरा आदिको वलि दिईन्छ । मेलामा सहभागीहरुबाट मनोरन्जनात्मक साँस्कृतिक प्रस्तुति रहने गरेको छ, जस्ले युवाहरुमा जोश र उत्साह जागृत गराउन सघाउ पुराएको उनिहरुको ठम्याई छ ।
प्रकृतिसंग लुकामारी खेल्दै लेखिका मिनु बीसी
गन्तब्य सहज छैन । सिद्ध बराह तालमा पुग्नका लागी बुर्तिवाङ बजार देखी दुई मार्ग रहेका छन् । बुर्तिवाङ देखी बोँगादोभान बजारसम्म सवारी साधन प्रयोग गर्ने र बोँगादोभान फेंदीबाट करीब ३ घण्टा पैदल उकाले हिँडेपछी गन्तव्यमा पुग्न सकिन्छ भने अर्को पैदलमार्ग ढोरपाटन नगरपालिकाको घोसा ,सामा, कालापोल धुरी, घाती, घाङ्राङ घुङ्रुङ, सक्सके,साततले हुँदै बराहाताल करीब ६ घण्टामा पुगिन्छ । बीच बाटोमा चिया पसलको त कुरै नगरौँ पिउने पानीसम्म सुलभ छैन । बाटोमा पर्ने जंगलमा थुप्रै रुखहरु ढले सडेको अवस्थामा रहेका छन् । ठुलाठुला रुखहरुका फेंदीमा परेका प्वालहरुमा लुकामारी खेल्न सकिन्छ ।
बैशाख सक्रान्ति मेलामा भेला भएका श्रद्धालु तथा आन्तरिक एवं बाह्य जिल्लाहरुबाट आएका पर्यटकहरु ।
उच्च पहाडी भूभाग त्यस्मा पनि जंगलको वीचमा रहेको रमणीय सिद्ध बराह तालको सौन्दर्य र महिमालाई जतिसक्यो प्रचार प्रसारमा ल्याएर लुकेर रहेका स्थानीय प्राकृतिक सम्पदाहरुको धार्मिक, साँस्कृतिक एवं पर्यटकीय महत्वलाई जगजाहेर गर्न सके निश्चित छ, दुर्गम अनकण्टार मुठाचौरको विकास एवं स्थानीयको आर्थिक सम्वृद्धि हनेछ । अस्तु,
लेखिका मिनु बीसी पत्रकार हुन् ।
तस्वीरहरु- २०७४ साल बैशाख १ गते सिद्ध बराह मन्दिर परिसरमा लागेको मेला र बराह ताल ।