कमल पौडेल खर्वाङ २०७६ चैत १६ । भारतवाट फर्किदा वाटोमै अलपत्र परेका १२ जनालाई बडीगाड गाउँपालिकाले उद्धार गरेको छ । बुटवल देखि हिड्दै आइरहेका बडीगाड गाउँपालिका वडा नं. १० दर्लिङका १० जना र सोहि स्थान नजिकै गुल्मीको मालिका गाउँपालिका का २ जना गरि १२ जनालाई उद्धार गरि दर्लिङमै तयार गरिएको क्वारेन्टाइनमा पुरयाइएको छ । उनिहरुलाई गुल्मीको मुसिकोट नगरपालिकाको वामी टक्सार बजारवाट उद्धार गरि दर्लिङ खोरमा रहेको नमुना बाल विकास केन्द्रमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिकाका सुचना अधिकारी थम्मन बहादुर रेश्मीले ईबागलुङलाई जानकारी दिए । उनिहरुलाई खाने वस्ने व्यवस्था स्थानियले गरेको र स्वास्थ्य सुरक्षामा ध्यान दिन सवै प्रक्रिया पुरा गरिएको अध्यक्ष मेहरसिंह पाइजाले बताए । वडा अध्यक्ष वीरेन्द्र वुढाको सम्पर्कमा रहेका उनिहरुलाई पिकअप जिपको व्यवस्था गरेर क्वारेन्टाइन सम्म पुर्याइएको थियो ।
यसै विच बडीगाड गाउँपालिकाले वडा नं. २ खर्वाङमा १० वेड सहितको क्वारेन्टाइन स्थल तयार गरेको छ । जिल्ला समन्वय समितिको भवनमा छुट््टाछुट्टै ५ कोठामा १० वेड सहितको क्वारेन्टाइन तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत बालाकृष्ण सुवेदीले बताए ।
यस्तै वडा नं. २ को हाडीखोलामा हेल्थडेस्क मार्फत विभिन्न स्थानवाट बडीगाड गाउँपालिका प्रवेश गर्नेहरुलाई स्वास्थजाँच गरिरहेको स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले जानकारी दिएका छन् ।
यसै विच बागलुङमै एकजना युवतीलाई कोरोना पोजेटिभ देखिएपछि गाउँपालिका प्रवेशमा थप कडाइ गरिएको गाउँपालिकाले जनाएको छ । वडीगाड गाउँपालिकाको प्रत्येक वडामा कम्तिमा ५ वेडका क्वारेन्टाइन स्थल तयार गर्ने गरि तयारी भैरहेको स्वास्थ्य शाखाले जनाएको छ । यस अधि वडा पालिकाको सक्रियतामै वडा नं. १, ५, ७ र १० वडामा क्वारेन्टाइन स्थल तयार भैसकेका छन् भने प्रत्येक वडाहरुमा माइकिङ गरिरहेको पालिकाले जनाएको छ । उता वडा नं. १ तुन्डाडा र ३ शिसाखानीले वडा भित्र कोहिकसैलाई प्रवेश नगर्न चेतावनी दिएका छन्, वडा नं. ३ ले एक टोल वाट अर्को टोलमा नजान समेत नागरिकलाई अनुरोध गरेको छ। यसै विच गाउँपालिकामा १ सय ३६ जना बैदेशिक रोजगारीबाट आएको र उनिहरुलाई होम क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ ।