बागलुङ २०७६ चैत १६ । बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षिया छात्रामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछी सबैको ध्यान त्यस तर्फ केन्द्रित भएको छ ।
यसैक्रममा आज बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट, नेपाली सेना अर्जुनवाण गण बिहुँका प्रमुख सेनानी मिलनध्वज खाँण, सशस्त्र प्रहरी बल बागलुङका नायब उपरीक्षक बासुदेव लोहनी, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत सहितको टोलीले संक्रमित छात्राको घर आसपासको अवलोकन गरी स्थितिको जायजा लिएकोछ । टोलीले अनुगमनका क्रममा स्थानीयलाई कोरोना संक्रमणलाई फैलिन नदिन अपनाउनु पर्ने विषयमा काउन्सिलिङ समेत गरेको छ । स्थानीयसंगको भेटका अवसरमा लक्षणका आधारमा स्वाब परीक्षण गर्ने बारेपनि जानकारी गराएको थियो ।
संक्रमित छात्रा गत चैत ४ गते बेल्जियमबाट कतारको हमाद विमानस्थल हुँदै कतार एयरवेजको उडानबाट काठमाडौँ आएकी थिईन । उनी आएको सोही विमानमा काठमाडौँ आएकी एक अर्की १९ वर्षिया छात्रामा कोरोना संक्रमण देखिएपछी सोहि विमानमा काठमाडौ आएका यात्रुहरुका बारेमा जानकारी संकलन सुरु गरिएको थियो । सो उडानबाट काठामाडौँ अवतरण गर्ने यात्रुहरुको सूचीमा बागलुङ जिल्लाका मात्र ४ जना भएको खुलेको छ । ती चार जना मध्य कुँडुलेकी छात्रा एक हुन् र उनको चैत १३ गते स्वाब परीक्षणार्थ नमुना काठमाडौँ पठाईएको थियो ।
तस्वीर सौजन्य नवराज भट्ट, बागलुङ ।