प्रेम सुनार, गुल्मी, २०७६ चैत १८ । विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाईरसको सक्रमण विरुद्ध एक जुट भएर लड्न गुल्मीका राजनैतिक दलहरुले ऐक्वबद्धता जनाएका छन् । जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको आव्हानमा प्रशासनको सभाहलमा बसेको सर्वपक्षिय बैठकमा गुल्मीमा क्रियाशिल राजनैतिक दलहरुले कोरोनाको भाईरसबाट साझा भएर लड्ने प्रतिबद्धता जनाएका हुन् ।
बैठक पछि नागरिकहरुमा सचेतनामुल ७ वुँदे अपिल पत्र जारि गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् । कोरोना भाइरसबाट बच्न सरकारले सुरक्षित रहनका लागि लागु गरेका सबै कुरा पालना गर्न गराउन एक जुट भएर लाग्न नागरिकहरुलाई अपिल गरिएको छ । बाहिरबाट आएका मानिसहरु क्वारेन्टाईनमा बस्न नमानेको खण्डमा सुरक्षाकर्मी समेत परिचालन गर्ने दलहरुले निर्णय गरेका छन् ।
खाद्यन्न लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन विभिन्न कदमहरु चाल्ने प्रतिबद्धता समेत जनाईएको छ । दलहरुले कोरोना विरुद्ध अहोरात्र खट्ने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , जनप्रतिनिधी , विभिन्न संघ संस्था , युवा क्लव , आमा र महिला समुह सहित सबैको उच्च प्रशंसा गर्दै उहाँहरुको मनोवल उच्च राख्न कुनै कशुर बाँकी नराख्ने समेत बताईएको छ ।
अपिलपत्रमा नेपाल कम्युष्टि पार्टी ( नेकपा ) का केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला पार्टी ईन्चार्ज प्रदेश सांसद दिनेश पन्थी , नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ , समाजवादी पार्टीका उपाध्यक्ष घनश्याम पाण्डे , राप्रपाका अध्यक्ष ठाकुर पाण्डे , राजमोका जिल्ला सचिवालय सदस्य हरि न्यौपानेले हस्ताक्षर गरेका छन् ।