प्रेम सुनार, गुल्मी २०७६ चैत १९। सम्वन्धितलाई स्वतन्त्र नागरिकको हैसियतले यो एउटा खुल्ला पत्र हो । यति बेला गुल्मीका केहि स्थानीय तह निकै विधी र पद्धतीमा चल्ने बनेका छन् । आफुहरुको परिवार , आफन्तका लागि सरकारी गाडीको दुरुपयोग गर्न उनीहरुलाई विधी नचाहिने, ठेक्का–पट्टा कमिशनका लागि पनि विधी र पद्धती नचाहिने , निहीत स्वार्थका लागि उनीहरुमा मनोमानी चल्ने ।
तर कोरोना भाईरसको सक्रमण र लकडाउनको बेला काम नपाएर विहान बेलुकाको चुलो चलाउन नसकेका परिवारका चुलो चलाई दिउँ भनेर पटक पटक आग्रह गर्दा पनि अहिले सम्म विधी र पद्धत्तीको कुरा मात्रै गर्ने केहि स्थानीय तहको रवैयाले गरिव मजदुर पक्षधर आक्रोषित भएका छन् ।
रेसुङ्खा नगरपालिकाका मेयर डिल्लीराज भुसालले नगरभित्रका गरिव मजदुरहरुलाई भोकै मर्न दिन्न भनेको एक हप्ता भई सक्यो तर उनकै आँखा अगाडी पारी चारीखोला एक दलित परिवार भोकै बसेर बजारमा सहयोगको हात फैलाउँदै हिडेको छ । त्यो देखेर निर्माण ब्यबसायी संघका महासचिव हरिकुमार श्रेष्ठले एक बोरा चामल, दाल तेल लगायतको खाद्य वस्तु दिएर आज त्यो परिवारले चैते दशै मनाई रहेको छ ।
आजै योरच्वाईस मोवाईल सेन्टरका सञ्चालक तथा समाजवादी पार्टीका जिल्ला नेता जनक पन्थले सदरमुकामका अति विपन्न परिवारको दशै मनाई दिदै छन् तर पटक पटक त्यस नगरपालिकालाई आग्रह गर्दा पनि सुनेको नसुनै गरिएको छ । मेयर भुसालले चाहे भने ब्यक्तिगत रुपमा पनि कसैको निभेको चुलो बाल्ने आर्थिक क्षमता राख्नु हुन्छ ।
उहाँले कतै ठुला ठुला महोत्सव, महायज्ञहरु लगाईको भए लाखौं रुपैयाँ दान पनि गरि सक्नु हुन्थ्यो र सञ्चार माध्यममा भजन कीर्तन गर्न पनि लगाईन्थो । यति बेला ती विपन्न परिवारले आफ्नो पीडा सुनाउन पाएका छैनन । विपन्न मजदुरहरुको यति विकराल अवस्था हुँदा हुँदै र मोखिक रुपमा सुनाउँदा सुनाउँदै पनि सुनुवाई गर्ने सरकारी निकाय भएन ।
मेयर साव , विपद्मा तयारी कुर्ने हो कि स्वविवेक पुराउँदै उद्धार गर्दै जाने हो ? मेयर साव, तपाई र तपाईको आफन्तलाई अहिले भर्खरै कुनै विपद प¥यो भने तपाई नियम खोज्नु होला ? बिदा कै दिन पनि तपाईको गाडी भर्खरै गुड्ने छ । यहाँलाई थाह छ भोको पेटले नियम मान्दैन । तपाईको नियम कति दिन कुरेर बस्ने भोका पेटहरुले ?
तपाईको सल्लाहकारहरुले कस्तो सल्लाह दिन्छन तपाईलाई ? सुन्छु तपाई त सर्वहारा पार्टीको नेता पनि हो अरे ? यहि यो सर्वहारालाई यो विपद्मा देखाउने पारा ? तपाईका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीननीले पनि तयारी पुगेको छैन, आज होईन भोलीबाट सुरु गरौंला भन्दै हुनुहुन्छ ् । आज चाड छ , त्यो भन्दा पनि ठुलो भोक छ भोलि कुरेर बस्ने ?
तपाईहरु भोलि भोलि कुर्दै जानुस् हामी आजै जुट्न सुरु ग¥यौं । जो जसको घरमा आज चुलो बलेको छैन उनीहरुको घरमा केहि बेरमै चुलो मात्र बोल्ने छैन चैते दशैको माछा मासु समेत पाक्ने छ । हामी हाम्रो घरमा जस्तो दशै उनीहरुको घरमा पनि हुने छ । हामीले भन्दा यसको सुरुवात धुर्कोट गाउँपालिकाले पहिल्लै गरेको छ ।
गरिव मजदुर प्रति सहानुभुती राख्ने र रचनात्क कार्य प्रति दृढ ईच्छा शक्ति राख्ने जनप्रतिनिधी र कर्मचारी भए उता राहत वितरण हुँदै गर्छ यता विधी बन्दै गर्छको अनुभव लिन धुर्कोट जानुहोस । नभए एक कल फोन गरेर सोध्नुहोस् । रेसुङ्खा नगरपालिकाले मजदुरहरुको सहयोग गर्ने उद्घोष फलाक्दै गर्दा धुर्कोटमा यसको हल्ला खल्ला नै थिएन तर काम भने सबै भन्दा पहिल्लै भयो ।
विकास निर्माण र सरकार सञ्चालनको पाठ पढ्न केहि महिना धुर्कोट जाने की ? साधुवाद् धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल , उपाध्यक्ष शिवबहादुर खत्री , प्रमुख प्रशसकिय अधिकृत काशीराम पन्थी, सबै वाडाध्यक्ष सहितका जनप्रतिनिधी र सकल कर्मचारीहरुलाई ।