रोशन थापामगर, बुर्तिबाङ २०७६ चैत १९ । बडीगाड गाउँपालिका १०, निगलपानी स्थित धौलागिरी बिकास युवा क्लवले वडाका बिभिन्न बस्तिहरुमा नि:शुल्क माक्स वितरण गरेको छ ।
क्लबले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संभाबित जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले वडाका ८ सय बढी नागरिकालाई माक्स वितरण गरेको हो । चैत १८ गते मंलबार र बुधबार गरी साबिक दर्लिङ गा.बि.स वडा नं ७ देखि ९ सम्मका प्रत्यक नागरिकहरुलाई माक्स बितरण गरिएको हो ।
बजारमा माक्सको अभाब र कालोबजारी भैरहेको अवस्थामा क्लवले आफ्नो वडाका नागरिकलाई सो भाइरस प्रति सतर्क तथा सावधानी अपनाउँन अपील गर्दै माक्स वितरण गरिएको क्लबका अध्यक्ष टेकु कुमार बुढा मगरले जानकारी दिए । क्लबले ‘आफू पनि बचौँ अरुलाई पनि बचाउ’ भन्ने उदेश्य सहित वडाका बिभिन्न ठाउँहरुमा चेतनामुलक सुचना प्रचार–प्रसार गर्दै सो अभियान चलाइरहेको छ ।
नियमित रूपमा साबुन पानीले हात धुने, खोक्दा, हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, संक्रमित व्यक्तिबाट टाढा बस्ने, मास्क लगाएर हिँडडुल गर्ने, पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर खाने, जंगली र घरपालुवा पशुपन्छीको असुरक्षित सम्पर्कबाट टाढा रहने, लगाएतका कुराहरु स्थानियलाई सिकाइएको क्लबका सचिब चन्द्र कुमार विश्वकर्माले ईबागलुङलाई बताए । सोही स्थानका सक्रिय युवाहरु रोशन थापा मगर र दिवाकर बुढाले नबआगन्तुक र स्थानियको प्रबेश स्थलमा पानी सहितको ५ सेट ड्रम सहित साबुन समेत राखेको छन् ।