निर्मल पौडेल पर्वत २०७६ चैत २७ । नववर्ष २०७७ को अवसरमा कालिगण्डकी नदी किनारमा हुने स्नान तथा मेलाहरु नगर्न जिल्ला प्रशासन कार्यलय पर्वतले अनुरोध गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन तथा जोखिम न्युनिकरणका लागि कालिगण्डकी नदि किनारमा हुने जुनसुकै धार्मिक कार्य गर्न गराउन प्रशासनले रोक लगाएको हो । विहिवार एक विज्ञप्ती निकाल्दै प्रशासनले नववर्षको अवसरमा हुने धार्मिक मेला, पुजापाठ तथा सांस्कृतिक जमघट नगर्न आग्रह गरेको हो ।
यस्ता मेला महोत्सव तथा जमघट हुने ठाउँहरुमा मानिसहरुको भिडभाड हुने भएको र संक्रमण फैलिने खतरा उत्तिकै हुने भन्दै सरकारले गरेको लकडाउन लाई घरमै वसेर पालना गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमेरे नेपालव्दारा जारी सुचनामा जिल्लामा अन्तर जिल्ला तथा अन्तर पालिका संगै एक वार्ड वाट अर्को वार्डमा समेत आवत जावतमा रोक लगाईएको अवस्थामा नदी किनार तथा मठमन्दिरमा हुने जमघटले व्यक्ती स्वयंलाई खतरा हुने भन्दै लकडाउनको पुर्ण पालना गर्न आग्रह गरी घरमै वस्न आग्रह गरिएको छ ।
हिन्दु धर्मालम्वीहरुको पवित्र तिर्थस्थल तथा विश्वमै विष्णुअवतार शालिग्राम पाईने पवित्र एकमात्र कालिगण्डकी नदी तटमा नववर्ष वैशाख सक्रान्तीको अवसरमा विभिन्न ठाउँहरुमा मेला लाग्ने तथा स्नान गर्नेहरुको घुईँचो लाग्ने गर्दछ । विशेष गरी जिल्लाको सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला,पुर्तिघाट, वेलवगर,सुम्साघाट, चिरुवाढुङ्गा ,राताढुङ्गा,सत्तल,जैमिनीघाट, मोदीवेणी दिव्यधाम सहस्रधारा,मालढुङ्गा,मिलनचोक ,वारीवेनी लगायतका स्थानहरुमा तिर्थालुहरुको भिड लाग्ने गर्दछ ।