प्रेम सुनार, गुल्मी २०७६ चैत ३० । पहाडी जिल्ला गुल्मी प्रशस्त कोदो मकै , धान गहुँ फल्ने थलो हो । अघिल्लो पुस्ताले नुन बाहेक बाहिरबाट अरु केहि किन्दैनथ्यो । दाल तरकारीमा राख्ने भुटुन समेत गाई भैसीको घिउ हुन्थ्यो । मसलाजन्य वस्तु भनेको अदुवा, लशुन थियो जुन हरेक परिवारका घरघरमा फलाईन्थ्यो ।
गुल्मी सहित पहाडी जिल्ला बागलुङ, प्यूठान, अर्घाखाँची र पाल्पाका बासीन्दाको पुरानो ब्यापारिक केन्द्र सबै भन्दा पुरानो पुस्ताको नुन ल्याउन जाने थलो थियो उत्तरीभेगको भोट । त्यो भोटको नुन पनि नगदले किनेर होईन, हिमाली भेगमा अन्नको अभाव हुने हुँदा पहाडको अन्न संग हिमालको नुन साटिन्थ्यो ।
पछिल्लो चरण हालको बुटवल तत्कालीन बटौली, खसौली र त्यस पछि पत्थरकोट दोश्रो पुरानो ब्यापारिक केन्द्र बन्यो । जहाँ रुकुम रोल्पा सम्मका मानिसहरुले सातौं र दशौं दिन सम्म नुन बोकेर खाएका पिता पुर्खाका सन्तती हौं हामी ।
त्यति बेला नुन बोकेर खाएका सर्वसाधरण पाका मान्छेहरु अहिले पनि जीवित साँक्षी छन् । सर्वसाधारण मात्रै होईन, अहिलेका विभिन्न पालिका प्रमुख सहितका जनप्रतिनिधीहरु नै नुन बोकेर खाएका छन् । मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा भन्छन २०३५÷३६ साल देखि मैले पाल्पाबाट सात दिन लगाएर नुन बोकेर ल्याएको हुँ ।
अहिलेको पिढी सुख भोगी हुँदै गयो । अहिलेकाले त हामीले बाँडेको राहत पनि अलि टाढा भए लिन आउँदैनन । सके घरै नभए पनि उनीहरुको टोल मै पुराई दिनु पर्ने अवस्था छ । मालिका गाउँपालिका कोदो मकै र आलु प्रशस्त फल्ने थलो हो ।
थोरै जमिन भएका केहि गरिव दलितहरु बाहेक धेरैजसो परिवारले बर्ष भरी आफ्नै उब्जेनीमा खान पुराउने थलो थियो । त्यस गाउँपालिकाको हिले गाउँमा पुराना पस्तुका मानिसहरु बागलुङ देखि बेसाह खोज्न आउँथे ।
किन गाउँको कोदो मकै किनेर राहत बाँड्न छाडेर मधेशको चामल किनेर बाँड्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष रितबहादुर थापाले भने कोदो मकै राहत बाँडेको भए लिन नै आउँदैनथे । उनले भने–‘अहिलेका मानिसहरुले कोदो मकै गाई भैसी र बाख्रालाई दाना दिन थाले ।
आफुहरुले दोकानको चामलको भात खान्छन र चाउचाउको तरकारी खान्छन् । कतिपयले त बारीमा सागपात फलाउन पनि छाडी सके ।’ अध्यक्ष थापाले कोदो मकै लगायत गाउँकै उत्पादनमा जनताले जोड दिए स्वास्थ्य र आर्थिक दुबैमा फाईदा हुने सुझाव दिए ।
घरैमा अन्नको भकारी, मधेसको चामल किनेर राहत
त्यसको छिमेकी ईस्मा गाउँपालिका कोदो मकै उत्पादनको भण्डार मानिन्छ । ईस्माको कोदोलाई देश विदेश सम्म पुराएर कोदोबाटै ईस्माको पहिचालन बनाउने त्यस पालिकाकाले कार्यक्रम अगाडी सारेको छ । गत बर्ष देखि कोदो प्रशोधन गाउँपालिका मै गर्ने , किशानलाई बिचौलियाले भन्दा प्रति किलो ५० रुपैयाँ दिने र कोदाको बजार गाउँपालिकाले ग्यारेन्टी गर्ने भएपछि किशानहरु प्रोत्साहित भएर त्यहाँका दुई सहकारीमा कोदो बेच्न थालेका छन् । प्रति किलो ५० का दरले कोदो बेच्न पाउँदा एक पाथी बराबर ३ किलोलाई डेढ सयमा बेच्न पाएका छन जवकी बिचौलियाबाट पाथीको सय रुपैयाँ मात्रै पाउने गर्दथे ।
गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट भन्छन हामी कहाँ अन्नको भण्डार नै छ । प्रायः धेरैका भकारीमा कोदो मकै टन्न छ । गाउँपालिकाले खरित गरेकै कोदो साढे दुई सय टन छ । डेढ सय टन बाहिर पठाई सकियो । मैले त्यही कोदो र मकै विपन्न मजदुरहरुलाई राहत बितरण गरौं भनेर गाउँपालिकाको बैठकमा प्रस्ताव राखे । तर म अल्पमतमा परें । सबैले भने छिमिकी सवै पालिकाहरुले चामल बाँड्दा हामीले कोदो मकै बाँड्यौं भने जनताले अपमान गरेको ठान्ने छन् भनेर मानेन । गाउँकै उत्पादन कोदो मकैमा जस्तो ताकत मधेसको सडेको चामलमा हुँदैन ।
यहाँ गाउँमा आमाले दिएको ढिँडो लात्ताले हानेर हिडेकाहरु शहरमा पुगे पछि ठुला होटलहरुमा ढिडो खान पुगेका हुन्छन् । क सरी बुझाउनु अहिलेको पिढीलाई ? अध्यक्ष बिष्टले यस्तो प्रति प्रश्न गरे । उनले एक दिन न एक दिन नयाँ पुस्ताले बुझ्ने छन र कोदो मकै नै स्वास्थ्यका लागि ठिक रहेछ भनेर खोजी खोजी खाने छन भन्ने बिश्वास प्रकट गरे ।
हाम्रो परिवारले कोदो बेसाएरै खाएको हो
बाँझाका साहु , अध्यक्ष बिष्टका बाबु भिमबहादुर बिष्टलाई स्थानीयले पुकार्ने नाम थियो । गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्वमन्त्री गोकर्णराज बिष्ट उनका साईला भाई हुन् । उनले आफुहरुको बाल्यकाल स्मरण गर्दै भने बुवा गाउँको भलाद्मी पनि हुनुहुन्थ्यो ।
हाम्रो परिवारका सदस्य ३० देखि ३५ जना सम्मका थिए । खड्करो र ताउलोमा खाना पाक्थ्यो । कहिलेकाही त ४० जना सम्मको भान्छा बस्थ्यो । भुलेर कहिले काँही त हामी भोकै पनि बस्थ्यौं । परिवार संस्ख्या धेरै उब्जेनी धोरै भए पछि बेसाह नखोजी हुँदैनथ्यो ।
गाउँको भलाद्मी भएकोले बुवाले रातको समयमा कोदो मकैको बेसाह खोजेर हामीलाई हुर्काउनु भएको हो । हाम्रा भाई गोकर्ण सानै देखि झुडी र श्रमजिवी थिए । घरको अन्न अभाव भएको थाह पाए पछि एक दिन कोदालो लिएर बाँझो जमिनलाइ बारी बनाउन भनेर हिडे ।
विहानभरी बाँझो खन्न त्यस पछि स्कुल जाने , त्यहाँबाट आए पछि पनि साँझ अवेर सम्म बाँझो खन्ने गर्दा गर्दै तिन महिनामा ठुलै बारी बनाए । अहिले पनि त्यो हाम्रो परिवारको सबै भन्दा ठुलो पाटो वारी हो । जहाँ अहिले पनि १० मुरी मकै र पाँच छ मुरी कोदो फल्छ । सानै देखि हामीले दुख गरेर पढेका हौं ।
हाम्रो भाई गोकर्ण त पढ्ने क्रममा कुनै समय काठमाण्डौंको होटलमा पनि भाँडा माझेका थिए । जुन सम्झीदा अहिले पनि मेरो गह भरिन्छ ’– अध्यक्ष बिष्टले भने ।
उनले अहिलेको पुस्ता बढि अल्छी तर सुख भोगी बढि भएको प्रति चिन्ता ब्यक्त गरे । सरकारले अब फेरी लकडाउन गरेको खण्डमा फेरी राहत बाँड्नु परे आफुले मधेसका चामल होईन गाउँकै कोदो मकै किनेर राहत बाँड्ने अठोट अध्यक्ष बिष्टले गरेका छन् ।
पुर्खाहरुको बचत घर कति सम्म बैज्ञानिक ?
कुनै समय भारतको नाका बन्दी र अहिले बिश्व ब्यापायी कोरोना सक्रमणले निम्ताएको अत्याबश्यक वस्तुको अभाव भोग्दै गर्दा उति आज भन्दा ५० बर्ष अघि सम्मका पुस्ताका समाजसेवीहरुको मनोविज्ञानलाई साधुवाद भन्न्नै पर्छ ।
उति बेलाका समाजसेवीहरु अधिकाश अनपढ थिए तर उनीहरुले कैयौं कुरामा, त्यसमा पनि हरेक परिवार र टोला आत्मानिर्भर हुने कुरामा उति बेलै अहिलेका वैज्ञानिकहरुलाई चुनौती दिएको पाईन्छ । ती मध्ये एक हो गाउँ गाउँमा अन्नको बचत घर, कतै अन्न भकारी त कतै धर्म भकारी स्थापना गर्नु । उनीहरुले अन्न उब्जाएर स्याहार्ने बेलामा प्रत्येक घरको उब्जेनीका आधारमा पाथी उठाएर गाउँको साझा बचत घरमा संकलन गर्थे जब अनिकालको महिना आयो तब अनिकालमा परेका गरिव परिवारलाई चौपाँजे बाँड्थे । जसले गर्दा गरिवको चुलो चलेकै हुन्थ्यो । अहिले जस्तो करिव एक महिनालाई पनि राज्यबाट राहत माग्नु वा मुख ताक्नु पर्दैन्थ्यो ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा भन्छन अहिलेको पुस्ताले पनि त्यही सिको गर्ने हो भने यस्तै अभावका दिनहरुमा राज्य वा अरुको मुख ताक्नै पदैैन्थ्यो । म रुकुमको एलडीओ छँदा अन्न भकारीको सुरुवात साविकको एउटा गाविसबाट सुरु गरेको थिएँ । त्यसबाट गरिव विपन्नहरु लाभान्वित भएका थिए । अहिले पनि त्यस्तै गरौं भन्ने जनप्रतिनिधीज्युहरुलाई सुझाव दिन चाहन्छु ।
पिता पुर्खाहरुको त्यो कार्य अहिले पनि त्यति कै वैज्ञानिक, ब्यवहारिक र आत्मानिर्भरमुखी छ । प्रमुख जिल्ला अधिकारी शर्माले पनि मधेसको चामल किनेर राहत बाँड्नु भन्दा गाउँकै कोदो मकै बाँड्न सके राहत पाउनेहरुको स्वास्थ्यलाई पनि लाभ हुने धारणा राखे ।
कोदो मकैको खानाले मानिसको ईम्युनिटी पावर पनि बढ्ने उनको ठम्याँई छ । कोदो मकै खाएर हुर्केका बृद्ध बृद्धाहरुको स्वास्थ्य अवस्था हेर्दा पनि प्रमुख जिल्ला अधिकारी शर्माको ठम्याँई जायज लाग्छ । ९० बर्ष सम्मका बृद्धले अहिले पनि घरको हलो थामेका छन् ।
ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले गाउँपालिकामा मात्रै १३ टन कोदो स्टक रहेको बताए । उपाध्यक्ष विमला खत्रीका अनुसार उक्त कोदोको साढे ६ लाखमा गाउँपालिकाले खरिद गरिएको हो । उपाध्यक्ष विमला खत्रीले दोश्रो चरणको राहत कोदाको पिठो दिने बताईन । उनले भनिन, कोदो दिने हो भने जाँड रक्सीमा दुरुपयोग पनि हुन सक्छ भनेर पिसाएर पिठो बाँड्ने भएका छौं ।
इस्मा रजस्थलको ईस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्थाकी अध्यक्ष सिता बस्नेतले त्यस सहकारीमा ७ टन कोदो स्टक रहेको बताईन्् । दोहोली स्थित भविश्य निर्माण साना किशान कृषि महिला सहकारी संस्थामा ६ टन कोदोको स्टक रहेकी त्यस संस्थाकी अध्यक्ष कमला बिष्टले बताईन् ।
केहि दिन पहिले बागलुङ जिल्लाको ताराखोला गाउपालिकामा स्थानीयरुपमा उत्पादित मकै, कोदो फापर खरीद गरेर राहत वितरण गरिएको थियो ।
यो लिंक पढौँ
गाउँमै फलेको कोदो, मकै, फापर खरिद गरेर ताराखोलाका विपन्न/मजदुरहरुलाई राहत वितरण !