बागलुङ २०७७ बैशाख १ । चैत ३० गते आईतबार काठेखोला गाउपालिकामा गरिएको र्यापिड टेष्टमा वडा नं ६ बिहुँ ईनारपानीकी ६५ वर्षिया महिलाको रिपोर्ट पोजेटिव आएपछी जिल्लामा सन्त्रासको वातावरण फैलिएको छ । यस अघि बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षिया किशोरी र अर्की वडा नं ३ की ६५ वर्षिया बृद्धामा कोरोना संक्रमण पुष्टि भएर धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा उपचार भैरहेको अवस्थामा बिहुँकी ६५ वर्षिया महिलाको र्यापिड टेष्टको रिपोर्ट पोजेटिव आएपछी जिल्लामा थप सन्त्रास फैलिएको हो ।
हिँजो Rapid DignosticTest Kit बाट परीक्षण गर्दा कोरोना भाईरस पोजेटिभ देखिएकी कंडेललाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी निरीक्षक हेम के ।सी। सहितको पीपीई टोलीले निज पार्वती कँडेलको घरबाटै उद्धार गरी निजको छोरा बर्ष ३० को टिकाराम कंडेल सहितलाई भिमसेन माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा र्ल्याई राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पीडित महिला पार्वती कँडेल उनका श्रीमान वर्ष ७१ का दयाराम कँडेल, छोरा वर्ष ३६ का अनन्त कँडेल, निजकी श्रीमती वर्ष ३० की गंगा कँडेल, वर्ष २८ का छोरा खगराज कँडेल र निजकी श्रीमती वर्ष २७ की पार्वती कँडेल, छिमेकी राजन कँडेल र निजकी आमा टहली कँडेल, अनन्त कँडेलका सासू ससुरा पर्वत कुनपा १ पाङका डिल्लीराज रिजाल र पवित्रा रिजाल, खगराज कँडेलका सासू ससुरा हाल काठमाडौ कीर्तिपुर बस्ने चतुर्भूज सापकोटा र यामकली सापकोटा तिर्थयात्राका लागी भारत गएर फर्किएका थिए ।
उनिहरु मध्य पार्वतीका पती दयाराम, छोरा अनन्त र बुहारी गंगाको र्यापिड टेष्टको रिपोर्ट नेगेटिव आएको छ भने अन्यको परीक्षण हुन बाँकी छ । उनका घरपरिवारका सदस्यहरु टिकाराम कँडेल निजकी श्रीमती लक्ष्मी कँडेल, नाती सुभाष, नातिनी तुलसी र ३ महिनाको नाती प्रवेश कँडेलको परीक्षण हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
पार्वती कँडेलको थप थ्रोट स्वाब परीक्षणका लागी पोखरा या काठमाडौँ नमुना पठाएर परीक्षण रिपोर्ट नआएसम्म कोरोना संक्रमित भन्न नसकिने विज्ञहरुले बताएका छन् ।
यसैवीच कैलाली लम्की चुहाकी ६५ वर्षिया बृद्धाको र्यापिड टेष्टको रिपोर्ट नेगेटिव आएपछी उनलाई चैत २८ गते क्वारेन्टाईनबाट घरमा पठाईएको थियो तर ती बृद्धाको पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको समाचार प्रकाशमा आएपछी र्यापिड टेष्टको विश्वसनियतामा शंका उत्पन्न भएको छ । यसको विश्वसनीयतामाथि सम्बन्धित विज्ञहरुले शंका प्रकट गरेका छन् । पार्वती सँगै तीर्थाटन गएका उनका पति र छोरा बुहारीको परीक्षण रिपोर्ट नेगेटिव आउनुले पनि केहि भ्रम सिर्जना गराएको छ । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिए पछी नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
सरकारले आजै कोरोना भाइरसको उपचारका लागि १ सय ११ अस्पताल तोकेको छ ।