बुर्तिवाङ २०७७ बैशाख २ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पोखरा रिफर गरिएकी एक गर्भवती महिलाको समयमै हेलिकप्टर नआउदा भएको दु:खद निधनलाई लिएर बुर्तिवाङ क्षेत्रमा व्यापक टिप्पणी भैरहेको छ ।
ढोरपाटन नगरपालिका वडा न. १ की वर्ष ३३ की भीमा पाण्डे बैशाख १ गते विहान बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणका लागी आउदा उनको पाठेघर भन्दा बाहिर गर्भ बसी पाठेघरको नली फुटेर अत्याधिक रक्तस्राव भैरहेकोले तत्कालै हेलिकप्टरबाट पोखरा लैजानु पर्ने आवश्यकता रहेको चिकित्सकले बताएपछी हेलिकप्टरको माग गरिएको थियो । तर तीन घण्टाको प्रतिक्षा पछीपनि हेलिकप्टर आउने अत्तोपत्तो नदेखिएपछी बिरामीको गम्भीर अवस्थालाई हेरी सवारी साधन (एम्बुलेन्स) बाटै पोखरा पठाईयो । बिरामी महिलालाई लिएर एम्बुलेन्स ग्वालिचौर पुग्दा बल्ल हेलिकप्टर आयो र ग्वालिचौर बाटै महिलालाई लिएर पोखरा पुग्यो । तर दु:खको कुरा उनलाई गण्डकी अस्पताल पुराउदा उनको निधन भैसकेको अस्पताल श्रोतले बतायो ।
समयमै उपचार नपाएर ज्यान गुमाएकी एक छोरो र एक छोरीकी आमा भीमा पाण्डे ।
१० वर्षको एक छोरा र ६ वर्षकी एक छोरीकी आमा भीमा पाण्डेको तत्काल उपचार नपाउँदा भएको यो हृदयविदारक दु:खद मृत्युले बुर्तिवाङ क्षेत्र मर्माहत बनेको छ । समयमै हेलिकप्टर नआउनु चरम लापर्वाही भएको स्थानीयको आरोप छ भने अर्कोतिर आपत/बिपदमा परेकाहरुको उद्धारमा निकै सक्रिय देखिने ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली अत्याधिक रक्तश्राव झेलिरहेकी भीमा पाण्डेको उद्धार कार्यमा (हेलिकप्टर झिकाएर पोखरा पठाउन) किन चासो लिएनन् ? भन्ने प्रश्न पनि उत्तिकै चर्चाको विषय बनेको छ । अत्याधिक रक्तश्रावका कारण मृत्युसंग जुझिरहेकी भीमा पाण्डे माथी नगरप्रमुख नेपालीको किन दया जागेन ? यो विषय अहिले व्यापक बनेको छ ।
निसीभूजीका जनता भन्छन्, बास नहुनेलाई आवास, गास नहुनेलाई खाद्यान्न (चामल/दाल/नुन/चिनी), खरको छाना हुनेलाई कर्कटपाता, त रोजगार व्यवसाय नहुनेलाई रोजगार, सामाजिक संघसंस्था र विद्यालयहरुमा अक्षयकोषको स्थापना र शिक्षकको पारिश्रमिकको व्यवस्था गरेर नगरप्रमुख नेपालीले जुन श्रेय अर्जित गर्नु भएको छ, त्यसको चारैतिर प्रशंसा भैरहेकै छ । चुनावमा उठ्दाका बखत देखी आजसम्म बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका लागी आफ्रनै खर्चमा एम्बुलेन्स खरीद गरिदिने प्रतिवद्धता पुरा गरेर प्रशंसाको पात्र बन्नु पर्छ ।
यो लिंकपनि पढौँ
कहिले देख्न पाउला बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रले एम्बुलेन्सको मुख ?
स्थानीय तहको निर्वाचनका बेला देखि केहि दिन पहिले सम्म आफ्नो निजी खर्चबाट बुर्तिवाङ स्वास्थ्य केन्द्रका लागी एउटा एम्बुलेन्स खरीद गरिदिने नगरप्रमुख नेपालीको प्रतिवद्धता आजसम्म पुरा नभएको विषयलाई पनि स्थानीयले प्रमुखताका साथ उठाई रहेका छन् । जिल्लाको पश्चिम क्षेत्रकै एकमात्र अस्पतालको रुपमा रहेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्सको व्यवस्था नहुँदा सयौँ विरामीहरुले समस्या मात्रै होईन ज्यानै गुमाउनु पर्ने अवस्था व्यहोरिरहनु परेको तीतो सत्य जगजाहेर छ । एम्बुलेन्सको आवश्यकतालाई नगरप्रमुख नेपालीले किन गम्भीररुपमा लिएनन् ? बुर्तिवाङबासीलाई यो पनि बुझि नसक्नु प्रश्न बनेको छ ।
ढोरपाटन नगरबासी भन्छन, ‘कुरा यत्तिमात्र पनि छैन, बुर्तिवाङ क्षेत्रमा नगरक्षेत्रमा सन्चालित निर्माण कार्यहरुमा उठेका भ्रष्टाचारका प्रशंगहरु, निसीभुजी क्षेत्रका युवाहरुका लागी उच्च शिक्षाको मन्दिर बुर्तिवाङ स्थित निसीभूजी जनता क्याम्पसको सन्चालनमा नगरप्रमुख नेपालीले देखाएको उदासीनता पनि चर्चाको विषय बन्ने गरेको छ । भजन मण्डली खडा गरेर उनिहरुको स्तुतिगानबाट मख्ख पर्ने आनिबानि त्यागेर समुचा नगरबासीको बृहत्तर हित र भलाईमा निष्पक्ष भएर काम गर्नु नगरप्रमुख नेपालीको प्रमुख जिम्मेवारी हुन आउछ ।’
यो लिंकपनि पढौँ
हेलिकप्टर आउन तीन घण्टा ढिला गर्दा गर्भवती महिलाको दु:खद निधन !