Sorry, that menu does not exist.
 

गल्कोट रिघामा देखियो मानवीयताको उदाहरण : बेबारिसे अशक्त बृद्धको उद्धार !

मित्र खरेल, गल्कोट २०७७ बैशाख ७ । गल्कोट नगरपालिका-११ रिघाको काउछेबाट एक जना बृद्धको उद्धार गरिएको छ । करीव एक महिना पहिले देखी गाउँमा माग्दै खाँदै गरेका ती बृद्धको बारेमा स्थानीय शिक्षक विष्णु कँडेलबाट सज्ञान लिएपछी गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगर निज बृद्धको उद्धारमा जुटेकी हुन् ।

उपप्रमुख काउचाले गल्कोट नगरपालिका-३ का वडाध्यक्ष वीरजंग भण्डारी, ५ का वडाध्यक्ष नारायणध्वज मल्ल, गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरका प्रमुख डा अरुण गौतम, गल्कोट उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठ, ईलाका प्रहरी कार्यालय हरिचौर समेतको समन्वयमा ती बृद्धको प्राथमिक उपचार पछि थप उपचारका लागी धौलागिरी अस्पताल रिफर गरिएको जानकारी दिईन् । कम बोल्ने आफ्नो परिचयपनि राम्ररी दिन नसक्ने करीब ६०/६२ वर्षका ती बृद्धको दुबै खुट्टाका औँलाहरु कुहिन थालेका छन् ।

स्थानीय शिक्षक विष्णु कँडेलले केहि दिन पहिले बृद्धकोे नाम ठेगाना सोद्धा नाम कुमार पोखरेल र घर दोलला चरिकोट बताएका जानकारी दिए । तर ती बृद्धले हिँजो भने कृष्ण पोखरेल बताएको उपप्रमुख काउचाले बताईन् ।

गल्कोट वाणिज्य संघका अध्यक्ष श्रेष्ठले नयाँ कपडा दिएपछी त्यो पहिरिएर उनी आफु बसेको छाप्रो बाट बाहिर निस्किएका थिए । कोरोनाको सन्त्रासका वीच डा गौतम सहित ५ जनाको स्वास्थ्य टोलीले ती बृद्धको उपचार गरेको थियो । स्वास्थ्य टोलीले उनको यापिड टेष्ट गरेको र रिपोर्ट नेगेटिव आएको थियो ।

रिघा स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट दिलबहादुर श्रीसले बृद्धका खुट्टाका औँलाहरुको सरसफाई गर्दै ।
अहिले उनलाई धौलागिरी अस्पतालको ईमर्जेन्सीमा भर्ना गरी थप उपचार भैरहेको कुष्टरोग सुपरभाईजर देवप्रकाश घिमिरेले ईबागलुङलाई जानकारी दिए । बृद्धको दुबै खुट्टाका औँलाहरु कुहिएर झरेका छन् । कुष्टरोगका कारण हो या अन्य कारणले हो त्यस्को एकीन भने नभएको उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !