काठमाडौं, २०७४ बैशाख ११ । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरी दोस्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको कार्यतालिका अनुसार दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता जेठ १९ गते हुने भएको छ ।
सरकारले आइतबार मात्र दुई चरणमा चुनाव गर्ने निर्णय गर्दै जेठ ३१ को मिति तोकेको थियो । अब पहिलो चरणमा प्रदेश नं ३,४ र ६ मा बैशाख ३१ गते निर्वाचन हुने छ भने प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ ।
निर्वाचन आयोगका अनुसार जेठ १९ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ भने उम्मेदवारहरुलाई जेठ २२ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
आयोगले पहिलो चरणको निर्वाचन कार्यक्रमलाई हेरफेर गर्दै बैशाख १९ गते उम्मेदवार मनोनयको दर्ता दिन तोकेको छ । यसअघि १६ गते उम्मेदवारीको दिन तोकिएको थियो ।