बुर्तिवाङ, २०७७ बैशाख ११ । केहि दिन यता सरकारले घरजानेका लागि सवारी साधनमा कडाई गर्न छोडेसँगै घर फर्कनेहरुको संख्यामा बृद्धि भएको छ । बढी मात्रामा काठमाडौमा अध्ययन, ज्याला मजदुरी र औषधि उपचारका निम्ती रहेका नागरिक धमाधम घर फिर्ता भइरहेका छन् ।
बागलुङको पश्चिम क्षेत्रमा बिहिबार २ सय ३५ जना फर्किएका छन् । बिहिबार साँझ करिब ५ बजेतिर ३ वटा बस मार्फत उक्त सँख्यामा यस क्षेत्रका नागरिक घर फर्किएका हुन् । आज बुर्तिवाङ आउनेहरुमा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपाकिला, र तमानखोला गाउँपालिकाका नागरीक रहेका छन् ।
बाहिरी क्षेत्रबाट धमाधम घर फर्किनेको अधिक सँख्याका कारण लकडाउन थप खुकुलो भएको आभाष भइरहेको स्थानिय बासीको भनाई छ । काठमाडौमा एकमहिना सम्म लकडाउन पालना गरेर बस्दै गर्दा अधिकाँशको आर्थिक अभाबका कारण बस्न असहज भइरहेको लगाएतका कारण घर आउने भीड बढेको हो । घर फिर्ता हुनेहरुलाई बुर्तिबाङ स्थित इलाका प्रहरी कार्यालय र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकको टोलीद्धारा तापक्रम नाप्दै घर पठाइएको छ । धेरै मात्रामा घरफिर्ता हुनेको सँख्या रहेका कारण उनिहरुलाई स्थानिय पालिकाले बनाएको क्वारेन्टाइनमा राख्न सम्भब नभएपछि सभ्य नागरिकको रुपमा होम क्वारेन्टाईनमा कम्तिमा दुई हप्ता बसिदिन आग्रह गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाश सिँह भण्डारीले बताए ।
बुटवल काठमाडौ, पोखार बागलुङ लगाएतका मुख्य शहरहरुबाट आउने नागरिकको सँख्या ह्वात्तै बृद्धि भएको हो । त्यसैगरी आज बुर्तिबाङ हुँदै ५० जनाको एक टोली रुकुम हिँडेको छ । काठमाडौबाट बसमा आएको उक्त टोली सिधै रुकुमतर्फ गएको हो ।