Sorry, that menu does not exist.
 

बुर्तिवाङमा उड्यो लकडाउनको धज्जी, स्थानीय तह बने मुकदर्शक, निसीभूजीमा बढ्यो कोरोनाको सन्त्रास !

छविलाल पाण्डे, बुर्तिवाङ (बागलुङ) २०७७ बैशाख १२ । पछिल्लो समय बागलुङ जिल्लामा मानिसहरुको आवागमनलाई हेर्दा लकडाउन खोकुलो भएको महसूस गराएको छ । केहि दिन पहिले सम्म भारत लगायत अन्य मुलुकहरुबाट जिल्ला फर्कनेहरुको घुँईचो देख्न पाईन्थ्यो भने अहिले राजधानी लगायत अन्य जिल्लाहरुबाट जिल्ला फर्कनेहरुको लर्को देख्न सकिन्छ । यतिखेर बागलुङ जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङ बजारमा दिनहुँ जसो बसहरुमा चढेर सयौँको संख्यामा मानिसहरु आउने सिलसिला जारी छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउपालिकाहरु लगायत रुकुम पूर्व जिल्लाका समेत मानिसहरु बुर्तिवाङमा ओईरी रहेका छन् ।

लकडाउन सफलपार्न सरकारले सुझाएको सामाजिक दुरी (Social Distancing)कायम गर्ने निर्देशनको ठाडो उल्लंघन भैरहेको दृश्य बुर्तिवाङ बजारमा देखिएको छ । मानिसको ठेलमठेल भीडलाई देखेर कोरोना भाईरसको सन्त्रास गाउँगाउँमा पस्यो भन्दै स्थानीयवासी त्रसित छन । दिनहुँ जसो आउने मानिसहरुलाई १४ दिन क्वारेन्टाईन राख्ने भनिएपनि यति ठुलो संख्यामा कहाँको क्वारेन्टाईनमा राख्ने भन्ने प्रश्न एकातिर छ भने अर्कोतिर लकडाउनका पीडितहरुलाई जतिसक्यो छिटो घरमा पुग्न हतार छ, क्वारेन्टाईन हुन अनिच्छुक देखिन्छन । स्थानीय विद्यालयका कोठाहरुमा पाँच सात बिस्तराहरु राखेर क्वारेन्टाईन बनाएको प्रचार गर्ने स्थानीयतहले यस्तो परिस्थितिमा लकडाउनको पालना गराउन कति सम्भव होला ? सोँचनीय छ ।

बुर्तिवाङमा पहिलो पटक काठमाडौँबाट गत बैशाख १० गते विहान र साँझ दुई पटक गरी बसहरुबाट २७० को संख्यामा यस क्षेत्रका मानिसहरु ओर्लिएका थिए भने हिँजो बैशाख ११ गते तीन वटा बसहरुबाट २३५ जना बुर्तिवाङ झरेका थिए । यसरी बुर्तिवाङ झरेका यात्रुहरुको स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परीक्षणका साथै प्रहरीबाट सामाजिक दुरी कायम गर्न सुझाव दिने काम भएको थियो ।

आज विहान काठमाडौँबाट सुमो गाडीमा १७ जना, पोखरा र बुटवलबाट छुटेर विहान बुर्तिवाङ बजार आईपुगेका दुई बसहरुमा ७० जना यात्रुहरु झरेको बुर्तिवाङ ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीले ईबागलुङलाई बताए । प्रहरी निरीक्षक भण्डारीले बुर्तिवाङ आउने यात्रुहरुको स्वास्थ्य परीक्षण गराउनुका साथै उनिहरुलाई सामजिक दुरीको पालना गरी क्वारेन्टाईन हुन समेत सल्लाह सुझाव दिईएको बताए । उनिहरुलाई गाउँमा गएर होम क्वारेन्टाइनमा दुईहप्ता सम्म बस्न आग्रह गर्दे परिवारका सदस्य, गाउँका समुदाय सँग छोइने, खुलेयाम हिँड्ने जस्ता कार्य नगर्न आग्रह गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख भण्डारीले बताए ।

प्रहरी निरीक्षक भण्डारीले यसरी यात्रु लिएर बुर्तिवाङ आउने सवारी साधनहरुसंग अनुमती पत्र (पास)नभएको बताउदै बुर्तिवाङ देखी निसी, तमान, अधिकारीचौर, बोवाङ, ढोरपाटन लगायत विभिन्न ठाउँमा जान अनुमति चाहिने काठमाडौ, पोखरा, बुटवलबाट सवारी साधनहरुले मानिस बोकेर बुर्तिवाङ आउन अनुमति नचाहिने ? भनेर स्थानीयले प्रश्न गर्न थालेको समेत बताए ।

आज काठमाडौबाट बुर्तिवाङका लागी तीन वटा बस छुटेको सुनेको छु, प्रहरी प्रमुख भण्डारीले भने, विना पास बसहरुले यसरी मानिसहरु ओसारेको देख्दा लकडाउनको ठाडो उल्लंघन त भएको छ नै यसले क्षेत्रमै कोरोना संक्रमणको सन्त्रास बढाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !