छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख १३ । निसीखोला गाउँपालिकाले आफनो पालिकाका नागरिकलाई घर फिर्ता ल्याएको छ । अध्ययन, रोजगारी, र ज्यालामजदुरी र औषधि उपचारका निम्ती देशका मुख्य शहर काठमाडौ, पोखरा लगाएतका स्थानमा रहेका निसीखोलाका नागरिकहरुलाई सवारीको व्यवस्था गरेर गाउँ फिर्ता ल्याइएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले ईबागलुङलाई बताए ।
लामो समयको लकडाउनका कारण खान बस्न समस्या भएको गुनासो बढ्दै गएसँगै आफुहरुले ४ वटा बस पठाएर पालिकाका नागरिकलाई घर फिर्ता ल्याइएको अध्यक्ष पौडेलले बताए । त्यसैगरी निसीखोला गाउँपालिका वडा नं.६ का निमित्त वडा अध्यक्ष हेमबहादर बुढामगरले पालिकाका ४५ बढी नागरिकलाई पोखराबाट पचास प्रतिशत भाडा आफुले तिरेर घर फर्कन सहयोग गरेका छन् ।
पोखरामा अलपत्र अवस्थामा रहेका उनिहरुलाई १२ सय भाडा लाग्ने गरेकोमा प्रति व्यक्ति ६ सय रुपैयाँका दरले आफुले भाडा तिरेर घर फिर्ता ल्याएको निमित्त वडाध्यक्ष बुढामगरले बताए । समस्यामा परेका नागरिकको उद्धार गर्ने हामी जनप्रतिनिधीको दायित्व हो त्यसैले पालिका भरका ४५ बढी नागरीकको उद्धार गरेको उनको भनाई थियो । त्यसैगरी आफनो वडामा बाहिरी क्षेत्रबाट आएका पालिकाबासीलाई क्वारेन्टाइनमा राखिएको समेत उनले बताए ।
वडामा आएका ३१ जनालाई हिँजोदेखि जनकल्याण मावि, तिलाचन मावि र ज्ञानज्योती प्राविको भवनमा क्वारेन्टाईनमा राखिएको छ । सबैसँग सरसल्लाह गरेर उनिहरुलाई कहिले घर फिर्ता गराउने भन्ने विषयमा छलफल भइरहेको अध्यक्ष बुढामगरले बताए ।
उता गाउँपालिकाले समेत बाहिरी क्षेत्रबाट आएका नागरीकलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको र उनिहरुको तथ्याँक सँकलन गर्ने काम समेत अगाडी बढाइएको गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ ।