मनु सुनार, गुल्मी २०७७ बैशाख १६ । औषधी व्यवसायी संघ गुल्मीले सुरक्षाकर्मीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। विश्वव्यापी प्रकोपको रुपमा फैलिरहेको कोेरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा खटिने सुरक्षाकर्मीहरुलाई पिपिई सेट लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
सुरक्षाकर्मीका लागि ४ थान पिपिई, १ हजार थान माक्स, १ हजार थान ग्लोभ्स, ५० थान स्यानिटाइजर जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई हस्तान्तरण गरिएको औषधी व्यवसायी संघ गुल्मीका संस्थापक अध्यक्ष शेर बहादुर थापाले जानकारी दिए।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तथा जोखिम न्युनिकरणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थापाले बताए।
हस्तान्तरण कार्यक्रममा औषधी व्यवसायी संघ गुल्मीका अध्यक्ष महेश कुमार श्रेष्ठ, संस्थापक अध्यक्ष शेर बहादुर थापा, उपाध्यक्ष फर्सुराम पाण्डे लगायत सहभागी भएका थिए।