संझेर ती पाखापखेरा धाउनु पर्छ।
कोइलीले पनि सोध्न पाउनु पर्छ।।
फर्केर गाउँ जाँदा नौलो हुनसक्छु,
आफ्नोपन नबिर्सी चिनाउनु पर्छ।।
न्याउलीको रुवाइ भुलेको छैन।
आटोपिठो खुवाइ भुलेको छैन।।
शहरमा भन्दा गाउँ मै रमाइलो,
नैवेद अनि हलुवाइ भुलेको छैन।।
महि सँगै मकैको आटो।
आटो पिस्ने ढुङ्गे जाँतो।।
बिर्सन कहाँ सकिन्छ र,
तापेको अगेनोको तातो।।
लटरम्म फल्ने ति ऐसेलु चुत्रो।
पोका पार्ने आमाको मजेत्रो।।
फर्किने भए ती दिन फेरि फेरि,
खुवाउने थियो अझै धोको कत्रो।।
बिर्सन हुन्न काफल बेलौती।
दूध दहि महि अनि बिगौती।।
अनेक अनेक छ बुझे गाउँमा,
ढुङ्गाका लोहरा अनि सिलौटी।।
मुलको पानी कलकल बहेको।
हराभरा विविध प्रकृति रहेको।।
कहाँ भुल्न सक्छु लेक र बेसी,
मेलापात गर्दै घामपानी सहेको।।
–राम प्रसाद शर्मा, बागलुङ
Aa