कमल पौडेल, खर्वाङ २०७७ बैशाख १८ । लकडाउनले विकास निर्माणका कार्यहरु समेत ठप्प भएको बेला बडीगाड गाउँपालिका वडा नं. २ मा विकास निर्माण कार्य सुरु गरिएको छ । यसै सन्दर्भमा संघीय संसद विकास कोष अन्तरगत विनियोजित १० लाख बरावरको खेल मैदान निर्माण उपभोक्ता समिति गठन गर्न स्थानियको भेला दनियामा सम्पन्न भएको छ ।
वडा अध्यक्ष ढाल प्रसाद शेरचन, वडा सदस्य सुर्य बहादुर अधिकारी, गोम बहादुर रानाको सहभागिता रहेको भेलाले प्रताप घिमिरेको अध्यक्षतामा ९ सदस्यीय खेलमैदान निर्माण उपभोक्ता समितिको गठन गरिएको छ। जसको सचिवमा सुनिल बहादुर राना, कोषाध्यक्षमा सरस्वती राना लगाएत रहनुभएको छ। त्यस्तै भेलाले वडा सदस्य गोम बहादुर रानाको संयोजकत्वमा डिल बहादुर राना र कर्ण बहादुर राना सदस्य रहेको अनुगमन समितिको गठन गरेको छ। सो समितिले खेल मैदान निर्माणको लागि निशुल्क जग्गा व्यवस्थापन गरि सो विनियोजित रकमले खेलमैदान निर्माण गर्ने बताइएको छ ।
यसैवीच होटल व्यवसायी संघ खर्वाङले आफ्नो मातहतका ३० जना सदस्यहरुलाई राहत वितरण गरेको छ। राहतमा प्रति परिवार १ कट्टा चामल, ४ लिटर तेल वितरण गरिएको कोषाध्यक्ष लाल बहादुर केसिले जानकारी दिनुभएको छ। संस्थाले ७० हजार रकमबाट सो राहत वितरण गरेको संस्थाका अध्यक्ष धन बहादुर बुढाले बताउनु भएको छ। खर्वाङमा विभिन्न समयमा सामाजिक काम समेत गर्दै आएको होटल व्यवसायीहरुको संस्थाले सडकमा हिँड्ने मजदुरहरुलाई समेत खानको व्यवस्था गर्ने तयारी समेत गरेकोे व्यवसायी समितिका सल्लाहकार रहनुभएका सुनिल शेरचनले जानकारी दिनुभएको छ। लकडाउनका कारण साना होटल व्यवसायी समस्यामा परेको भन्दै संघले घरघरमै पुगेर राहत वितरण गरेको हो ।
सो राहत वितरणमा सल्लाहकार शुनिल शेरचन, अध्यक्ष धन बहादुर वुढा, सचिव दिलिप पुन, कोषाध्यक्ष लाल बहादुर केसि लगाएतको सहभागिता रहेको थियो ।