मनु सुनार, गुल्मी २०७७ बैशाख २१ । विश्वव्यापी प्रकोपको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखीमलाई मध्यनजर गर्दै देश अहिले लक डाउनमा रहेको छ । गुल्मीका युवाहरुले भने लक डाउनलाई सदुपयोग गर्दै सार्वजनिक स्थल सरफाइमा ध्यान दिएका छन् ।
शनिबार जिल्लाको मदाने गाउँपालिका ५ मलागिरी स्थित रहेको न्यु स्टार मलागिरी युवा क्लबका सदस्यहरुले लक डाउनलाई सदुपयोग गर्दै मलागिरी स्वास्थ्य चौकीमा सरफाई तथा विभिन्न प्रकारका फुलहरुको विरुवा रोपण गरेका हुन् ।
सामाजिक दुरी कायम गरी स्वास्थ्य चौकी भवनको हातामा पर्ने स्थलहरुमा सरफाई तथा विभिन्न फलफुलका विरुवा रोपण गरेको क्लबका सदस्य अनिल थापाले जानकारी दिए ।
केराको बोट, निलकाँडा, गुलाबको फुलको विरुवा, घिउकुमारी, सत्यजीवन, भँुई स्याउ लगायतका करिब ३ दर्जन फलफुलका विरुवा रोपण सहित सरफाई गरिएको सदस्य थापाले बताए ।
क्लबका अध्यक्ष बिनोद थापाको विशेष सक्रियतामा लक डाउनको समयलाई सदुपयोग गर्दै विरुवा रोपण तथा सरफाई गरिएको थापाले उल्लेख गरे ।
त्यस अवशरमा मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का तथा मदाने गाउँपालिका ५ का वडाअध्यक्ष हिमाल खड्काले उक्त कार्यको अवलोकन समेत गरेका थिए । लक डाउनको समयमा पनि युवाहरुले सामाजिक कार्यमा देखाएको सक्रियताप्रति धन्यवाद् समेत दिएका थिए ।
यस्तै शुक्रबार मदाने गाउँपालिका वडा न.१ मा क्रियाशिल द सनराईज युवा क्लबको सक्रियतामा वडाले मदिरा सेवन गर्दै झगडा गर्ने र जुवातास खेल्नेलाई वडा कार्यालयले कारवाही गरेको थियो ।
वडा कार्यालयले जारी गरेको सुचनाअनुसार कारबाही गरिएको वडा अध्यक्ष प्रेम चन्दले जानकारी दिए। लक डाउनको समयमा मदिरा सेवन र बेचबिखन गर्ने ९ जनालाई कारबाही गरेको छ । वडा कार्यालयको सुचनाअनुसार मदिरा सेवन गर्ने र बेचविखन गर्नेलाई कारबाही स्वरुप ७ हजार रकम संकलन गरेको छ । साथमा जुवातास खेल्ने एक टोलीलाई पनि नियमअनुसार कारबाही गरिएको द सनराईज युवा क्लबका सचिव विवश विष्टले जानकारी दिए ।