Sorry, that menu does not exist.
 

वैशाख पूर्णिमामा घुम्टे लेकमा लाग्ने भव्य मेला यस वर्ष कोरोनाका कारण स्थगित !

थम्मन थापा, गल्कोट २०७७ बैशाख २१ । प्रसिद्ध घुम्टे लेकमा वैशाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा लाग्ने भव्य मेला यस वर्ष नलाग्ने भएको छ । विश्व नै कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट प्रभावित भईरहेको अवस्थाले नेपाल अहिले लकडाउन छ । कोरोना संक्रमण फैलिन नदिन देशैभर सावधानी र सतर्कता अपनाईएको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई मध्यनजर गरि प्रत्येक वर्ष गल्कोटको घुम्टेमा लाग्ने वैशाख पुर्णिमा मेला यस वर्ष भनें स्थगित गरिएको हो।

गल्कोट घुम्टे पर्यटन विकास केन्द्रले भिडियो कन्फ्रेन्स मार्फत बैठक बसि वैशाख पुर्णिमाका दिन सञ्चालन गर्दै आएका सम्पुर्ण पुजाआजा र मेला स्थगित गर्ने निर्णय गरेको केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । देश लक डाउनमा रहेको र कोरोना भाईरसको संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गरि मेला स्थगित गरिएको अध्यक्ष बस्नेतले बताए ।

यस वर्ष पुर्णिमा वैशाख २४ गते परेको छ । हरेक वर्ष वैशाख पुर्णिमाका दिन घुम्टेमा भव्य मेला लाग्ने गर्दथ्यो । घुम्टेमा रहेका सिद्ध भैरवको मन्दिरमा दर्शन गर्न र भाकल तथा पुजाआजा गर्न बागलुङ जिल्ला सँगै छिमेकी जिल्लाहरु पर्वत, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की, तनहुँ, रुकुम लगायतका जिल्लाबाट हजारौं हजार श्रद्वालु भक्तजनहरु त्यहाँ पुग्ने गर्दथे । केन्द्रले यस वर्ष बुद्ध जयन्ती अर्थात वैशाख पुर्णिमाको दिन वैशाख २४ गते घुम्टेमा नजान सम्पुर्ण पर्यटक तथा श्रद्धालु भक्तजनहरुलाई अपिल समेत गरेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए ।

पुर्णिमा दिन गरिने पुजाआजालाई लकडाउन खुले सँगै देशको अवस्था सामान्य भएपछि उपयुक्त तिथि मिती अनुसार निरन्तरता दिईने वरिष्ठ उपाध्यक्ष थापाको भनाई छ ।

केन्द्रले यस अघि नै लकडाउनको समयमा घुम्टेमा नजानको लागि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनुरोध गरेको छ । केन्द्रले पुर्णिमाका दिन वा लकडाउनको समयमा घुम्टे नजान आग्रह गर्दै गलकोट नगरपालिका र ताराखोला गाँउपालिका र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न अनुरोध गर्ने, घुम्टे जाने मुख्य नाका गल्कोट नगरपालिका वडा नं ५ को टेउवा र हरिचौर बजार वडा नं १० को पाण्डवखानी, वडा नं ७ को मल्म र ताराखोला गाँउपालिका वडा नं ३ हिलको नाकामा केन्द्रका पदाधिकारीहरुले पुर्णिमाका दिन उच्च निगरानी गरिने केन्द्रका सचिव सेरबहादुर थापाले जानकारी दिए ।

यता बुद्ध जयन्तीको अवसरमा घुम्टे प्राकृतिक तथा सांस्कृतिक मञ्च गलकोट नगरपालिका १० पाण्डवखानीले आयोजना गर्दै आईरहेको वैशाखे पुर्णिमा मेला पनि स्थगित गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !