राम खत्री, गल्कोट २०७७ बैशाख २३ । कोरोना भाईरस (कोभिड-१९)को सम्भावित जोखिमबाट बच्नका लागि देश यतिबेला लकडाउनमा छ । कोरोना भाईरस संक्रमण जोखिमका बीच विकास आयोजनाको निमार्णको कामलाई भने निरन्तरता दिन थालिएको छ ।
गल्कोट नगरपालिका २ नरेठांटी बजारमा पक्की नाली सहित सडक ढलान गर्ने कार्य भइरहेको छ । नगरपालिकाको २०७६÷७७ को योजना अँतर्गत नगरपालिका को रु ३० लाख र स्थानीयको २० प्रतिशत, (७ लाख ५० हजार) गरि ३७ लाख ५० हजारको लागतमा काम भईरहेको ग।न।पा।२ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिए ।
पक्की नाली निर्माण संगै ८ इन्च ढलान गरिएको छ । उच्च सतर्कता अपनाउंदै दैनिक १० जना मजदुरले काम गरिरहेका छन् । नाली निर्माण भएपछि बर्षौ देखिको समस्या हट्ने स्थानीयको विश्वास छ ।
३ महिना अगाडि निर्माणको काम सुरु भएपनि विश्वब्यापि फैलिरहेको कोरोना भाईरस बाट बच्नका लागि सरकारले लकडाउन गरेपछि काम रोकिएको थियो । गल्कोट नगरपालिबाट उच्च सतर्कता अपनाई सुरक्षित दुरी कायम गर्दै स्थानीय स्तरमा उपलब्ध मजदुर प्रयोग गरी बिकास निमार्णका काम अगाडि बढाउने निर्णय गरेपछि कामले पुन निरन्तरता पाएको हो ।
अहिलेसम्म योजनाको करिब ६२ प्रतिशत काम सम्पन्न भएको र निरन्तर काम भयो भने करिब १ महिनामा निर्माणको काम सकिने वडा अध्यक्ष भण्डारीले बताए ।
प्रशासनले निर्माण सामग्रीको व्यवस्थापनका लागि सहजिकरण गर्ने बताएपछि उपभोक्ता समिति र ठेक्का मार्फत विकास निर्माणलाई निरन्तरता दिएको हो । सुरक्षा सतर्कताका उपाय अपनाउंदै निर्माणलाई निरन्तरता दिदा रोजगारी सिर्जना भएर मजदुर तथा विपन्नहरुको जिविकोपार्जनमा समेत सहयोग पुग्ने वडा अध्यक्ष भण्डारीले बताए ।