Sorry, that menu does not exist.
 

गुल्मीको चिठ्ठी : रेसुङ्गा नगरपालिका–२ धागिथुमले एक घर एक टनेल कार्यक्रमलाई जोड !

मनु सुनार, गुल्मी २०७७ जेठ ५ । गुल्मीको रेसुङ्गा नगरपालिका–२ धागिथुमले यतिबेला एक घर एक टनेल कार्यक्रमलाई जोड दिएको छ । एक घर एक धारा कार्यक्रम सम्पन्न गरिसकेको वडाले आर्थिक वर्ष २०७६÷०७७ को कार्यक्रम अनुसार वडाले एक घर एक टनेल कार्यक्रमलाई अगाडि बढाएको हो ।

टनेलका लागि वडाले निवेदन आव्हान् ग¥र्यो । जसमा करिब ५२ वटा निवेदन परे । वडामा आएका निवेदनहरुको छनौटको आधारमा यस आर्थिक वर्षमा ४३ जनालाई प्लास्टिक टनेल वितरण गरियो ।

कृषि क्षेत्रमा आर्कषणका लागि यस आर्थिक वर्षमा त्यस वडाभित्र रहेका ४३ घरधुरीलाई निःशुल्क प्लास्टिक टनेल वितरण गरिएको वडाअध्यक्ष उदय बहादुर थापाले जानकारी दिए ।

यस कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने उनले उल्लेख गरे । बाँकीलाई अर्को आर्थिक वर्षमा प्लास्टिक टनेल वितरण गरिने वडाअध्यक्ष थापाले बताए ।
कृषि कार्यमा आर्कषणका लागि वडाले बजेट नै छुट्टाएर यो कार्यक्रमलाई सञ्चालन गरेको उनको भनाई छ ।

यतिबेला सबैका टनेलमा वडाले वितरण गरेका टमाटर, बन्दा गोपी, काक्रा, भिन्डी, खुर्सानी, लगायतका तरकारी लगाईएको छ । कृषकहरुको सहजताका लागि वडाले नै तरकारीका विरुवा उपलब्ध गराएर तरकारी खेतिका लागि प्रोत्साहन गरेको वडाअध्यक्ष थापाको दाबी छ ।

यस वडाभित्र आफुहरुले कृषिलाई प्राथमिकता दिएकाले व्यवसायिक तरकारी खेति गर्ने कृषकहरुलाई वडाले बिशेष रुपमा हेर्ने थापाले बताए । व्यवसायीक रुपमा कृषि गर्नेका लागि कृषकको मागको आधारमा व्यवस्थापन गर्ने वडा अध्यक्ष थापाले प्रतिवद्धता व्यक्त गरे ।

प्लास्टिक टनेल ५ मिटर चौडाई र १० मिटर लम्बाई रहेको बनाउन आफुहरुले आग्रह गरेको उनले बताए । यस कार्यक्रम मार्फत वडालाई तरकारीमा आत्मनिर्भर बनाउने तर्फ लागि परेको भन्दै धेरै उत्पादन गर्ने कृषको उपजको बजार प्रबन्धका लागि वडा कार्यालयले जिम्मा लिने वडाअध्यक्ष थापाले बताए ।

यस कार्यक्रमले बाहिरबाट आउने भन्दा आफ्नै बारीमा उत्पादन भएको अर्गानिक तरकारीको प्रयोग गर्न वातावरण सिर्जना हुने थापाको भनाई छ । साथै कृषिलाई प्रोत्साहनका लागि माटो परिक्षणका गर्न रेसुङ्गा नगरपालिकाको कृषि शाखालाई अनुरोध समेत गरेको उल्लेख गरे ।

विरुवा उत्पादनका लागि ५० हजार अनुदान :स्थानीय कृषि समुहले उत्पादन ग¥र्यो तरकारीका विरुवा

वडाले तरकारीका विरुवा उत्पादनका लागि स्थानीय चेनतसिल कृषि समुहलाई दियो । त्यसका लागि वडाले रु ५० हजार अनुदान समेत प्रदान ग¥र्यो ।

समयानुकुल नर्सरी व्यवस्थापन र मौसम अनुसारका विरुवा उत्पादनका लागि समुहका सदस्यहरुलाई तालिम समेत प्रदान गरिएको थियो । कृषि समुहका सदस्यहरुलाई निःशुल्क रुपमा तालिम सहजीकरण गरिएको प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीका बरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले बताए ।

तालिमबाट बिउका दाना लगाउने तरिका, कुमारी माटोको प्रयोगका बिषयमा जानकारी पाएको चेतनसिल कृषि समुहकी अध्यक्ष पुष्पा पन्थीले बताईन् ।

‘तालिमबाट हामी गोठमै वनस्पति बिषादी बनाउने तरिका पनि जानकारी पायौँ ।’ अध्यक्ष पन्थीले भनिन् ‘ तिते पाति, असुरो, निम, खुर्सानी, लसुन, गाईको गहत, असुरो, केतुके लगायतको प्रयोग गरी घरमै पनि वनस्पति बिषादी बनाउन सकिने रैछ । ’ तालिमबाट आफुहरुलाई तरकारी खेति गर्नका लागि धेरै जानकारी प्राप्त गरेको उनको भनाई छ ।

त्यस समुहले धागीथुममै दुई रोपनी जग्गा भाडामा लिई नर्सरी स्थापना गरेको थियो । नर्सरीमा टमाटर, भान्टा, खुर्सानी, तितो कलेरो, लौका लगायतका १५ भन्दा बढी जातका तरकारीका विरुवा उत्पादन गरेको पन्थीले जानकारी दिइन् । नर्सरीमा ५० वटा कृषि टनेललाई पुग्ने गरी तरकारीका विरुवा उत्पादन गरी वितरण गरिसकिएको अध्यक्ष पन्थीको भनाई छ ।

वडाले कार्यक्रम सञ्चालन गर्दा सर्वपक्षिय छलफल

यस वडामा कुनै पनि कार्यक्रम सञ्चालन पूर्व सबैको सुझाव–सल्लाह लिने गरिएको छ । यो कार्यक्रम शुरु गर्दा पनि वडामा सर्वपक्षिय छलफलबाट सञ्चालन गरिएको स्थानीय हिमाल कुवँरले बताए ।

‘वडामा सर्वपक्षिय छलफलबाटै यस कार्यक्रमलाई सञ्चालन भएको हो ।’ कुवँरले भने ‘ यस वडामा बाझाँे जमिन नराखौँ भनेर अहिले प्लास्टिक टनेल वितरण भएको छ । ’

यस कार्यक्रमले कृषि तर्फ आकर्षित हुने उनले बताए । यसरी टनेलमा उत्पादन भएको तरकारी बढी भयो भने व्यवसायीक रुपमा लान सकिने कुवँरको भनाई छ । विज्ञहरुको पनि सल्लाह सुझाव लिएर यस कार्यक्रमबाटै व्यवसायिक वडामा कृषिलाई व्यवसायकि रुपान्तरणका लागि सहयोग पुग्ने बताए ।

स्थानीय हिरा बहादुर थापाले वडाले समय सान्र्दभिक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद् ज्ञापन गरे । उनले त्यस टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न सकिने उल्लेख गर्दै यो कार्यक्रम कृषिका लागि लाभदायक कार्यक्रम रहेको उल्लेख गरे ।

‘टनेल भएपछि बाह्रै मास तरकारी उत्पादन सकिन्छ ।’ थापाले भने ‘टनेलमा अहिले टमाटर, मुला, गोपी, धनियाँ, स्वीस साग लगाएको छु ।’ टनेलको प्रयोग गरी तरकारी खेती गर्दा उत्पादन बढ्ने समेत उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !