खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ बैशाख १५ । धौलागिरी अञ्चल अस्पतालमा केहि सुधारका संकेतहरु देखिएका छन् । लामो समय देखी विशेषज्ञ चिकित्सकहरुको अभाव खड्की रहने अस्पतालमा पछिल्लो समय विशेषज्ञ चिकित्सहरुको सेवा उपलव्ध भएपछी अस्पतालमा उल्लेख्य सुधारको संकेत देखिएको हो ।
बिहीवार अस्पतालले पत्रकार भेटघाटको कार्यक्रम गरी अस्पतालमा आधा दर्जन बढी बिशेषज्ञ डाक्टरहरुको गुणस्तरिय सेवा प्रवाह हुन थालेकोले अहिले अस्पतालमा बिरामीको चाप बढ्न थालेको जानकारी दिएको छ ।
गुणस्तरीय उपचारको व्यवस्था पछी बुर्तिवाङ, गल्कोट, कुस्मीसेराका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपचारार्थ आउने विरामीहरुलाई थप उपचारका लागि अन्चल अस्पतालमा रिफर नगरी सिधै पोखरा रिफर गर्ने परिपाटीमा कमी आउने विश्वास गरिएको छ भने धौलागिरी अन्चल अस्पतालमा उपचारार्थ आउने विरामीहरुलाई नि पोखरा रिफर गर्ने परिपाटीमा कमी आउने अस्पताल श्रोतको दावी छ ।
अस्पतालका मेसु सागरकुमार राजभण्डारीको शव्दमा, “अब पोखरामा रिफर गर्ने अधिकाशं बिमारीको उपचार यही गर्न सक्षम र सफल भएका छौ ।”
धौलागिरी अन्चल अस्पतालमा अहिले सेवाग्राहीले सहजै महसूस गर्ने गरि परिवर्तन ल्याउन सफल भएको धौलागिरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष मन्जेश बम मल्ल र मेडिकल सुपरिटेण्डेन्ट डा.सागर राजभण्डारीको भनाई छ ।
अहिले अस्पतालमा उपलब्ध जनशक्ति अनुसार अधिकतम सेवा प्रदान गर्न एलएससिएस, हाइड्रोशिल, हर्निया, एपेन्डीसेक्टोमी, फ्याक्चर लगायतका सर्जरी सेवा सञ्चालन गरिएको मेसु राजभण्डारीले बताए । ठेकेदारले अस्पतालको दुई भवनको पूर्वाधार समयमै तयार नगर्दा प्रभावकारी सेवा प्रवाहमा थप समस्या भएको उनले बताए ।
हाल अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट सहित अमर पौडेल (फिजिसियन), सुजन गौतम (सर्जन), सुरेन्द्र कुवर (एनोस्थेलोजिष्ट), मञ्जु पाण्डे (गाइनोजिष्ट), अनुज अधिकारी (रेडियोलोजिष्ट), निरञ्जन अर्याल (अर्थोसर्जन), डा.लक्ष्मी गौतम (गाइनोजिष्ट) को सेवा उपलव्ध छ । १६ जना बिशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा हाल मेसु राजभण्डारी र फिजिसियन डा.पौडेल ३ जना मेडिकल अफिसरको दरवन्दी र अन्य करारमा ल्याईएको छ ।
सो अवसरमा अस्पतालमा सस्तो सुलभ रुपमा ५ सय ६२ प्रकारका औषधि बिक्री गर्ने गरि आफ्नै फार्मेसी सञ्चालनमा रहेको बताईएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले पनि बोलेका थिए।
अस्पतालमा उपचारार्थ आउने जेष्ठ नागरिकहरुलाई अस्पतालले उचित सम्मान र समान व्यवहार गर्ने परिपाटी बसाल्नु पर्ने टड्कारो आवश्यता रहेको जनगुनासो रहेको छ ।
कार्यक्रम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजभण्डारीको अध्यक्षता जनस्वास्थ निरीक्षक रामप्रसाद खनालको स्वागत र सूचना अधिकारी तिर्थराज गौतमको संचालनमा सम्पन्न भएको थियो ।