✍️ केशव विश्व गाेतामे
वा ! मेरो देश, वा ! मेरो समाज एक्काइसौं शताब्दीसम्म अाइपुग्दा पनि कति बिकृतीलाई अंगाल्दै बसेको छ । कस्तो निरीह, कस्तो निर्दयी मेरो समाज जातीयताको कलंकले गर्दा मान्छेले मान्छे हुनुमा गर्व गर्न सक्दैनन् । पृथ्वी सबैको साझा घर हो र प्राणी मध्येको सर्वश्रेष्ठ प्राणी मानिस नै एकजात हो । यो नेपाली समाजको लागि एकादेशको कथा जस्तै हो । यहाँ मानिस मानिस बिच भेदभाव गरिन्छ, धनी गरिब विचको खाडल उत्तिकै गहिरो छ ।
यहाँ जातीय विभेदको बर्बरता यस्तो रुप देखियो कि गत जेष्ठ १० गते शनिवार कानुनी राज्यको धज्जी उडने गरि ब्राह्मणवादी चिन्तन, दास मानसिकता भएका केही नरपिचासहरुले कम्युनिस्टको पकड क्षेत्र मानिने रुकुममा जातियताको अाधारमा अक्षम्य घटना घटाए । जहाँ कथित उपल्लो जात भनाउदाकि चेलीलाई कथित तल्लो जात भनाउदाका युवा जाजरकोटका नवराज बिकले प्रेम विवाह गर्न खोज्दा उनी लगायत ६ जनाको नरसंहार गरेर भेरि नदिमा बगाइयो । सरकारका लागि यो भन्दा लज्जास्पद विषय अरु के हुन् सक्छ ? यो भन्दा ठुलो अमानवीयताको पराकाष्ठा अरु के हुन सक्छ ?
दलितहरु कहिले धाराको पानी छुँदा मारिए, कहिले मन्दिर पस्दा मारिए, कहिले बोक्सीको अारोपमा मारिए, अहिले चोखो माया गर्दा पनि मारिनु पर्यो । प्रेमको बदला मृत्यु उपहार ? दलित कहिलेसम्म जातकै कारण मर्नु र मारिनुपर्ने हो ? अझै कति पुस्ता सम्म चलिरहन्छ विभेदको शृङ्खला ? दलित मान्छे होइन? समाजमा उसलाइ सम्मानजनक रुपमा बाँच्न पाउने अधिकार छैन् ? यसैका लागि हो लोकतन्त्र र गणतन्त्र ?
देशमा ठुला ठुला राजनैतिक परिवर्तनहरु भए राणा शासन हटाईयो, प्रजातन्त्र ल्याईयो, पन्चायत हटाइयो, बहुदल ल्याइयो, राजा फालियो, गणतन्त्र ल्याइयो तर हामीले जातीय कलंक छुवाछूत निर्मुल पारियो भन्ने कहिले ? यतिका परिवर्तन हुँदा पनि मानिसको सामन्तवादी सोँच, ब्राह्मणवादी चिन्तनमा किन परिवर्तन हुँदैन । जातीय द्वन्द्वलाई बढवा दिन रुकुममा भएको घटनालाई दबाउन स्वयं सांसद नै सक्रिय छन भन्ने कुरा जनार्दन शर्माजीले संसदमा दिएको अभिव्यक्ति बाट प्रष्ट हुन्छ । गणतन्त्र ल्याउनका लागि दस वर्षे जनयुद्धमा बगाएका दलित योद्धाका रगतले अहिले धिक्कारिरहेछ, जनार्दन हरुलाई । विभेद रहित समाजको निर्माणका लागि दलितको रगतको होली खेलेर मन्त्री, सांसद भएका तपाई हरु अाज दलितको यो गम्भीर मुद्दा प्रति यति हल्का रुपमा संसदमा प्रस्तुत हुनुहुन्छ । शक्ति र सत्ताको चरम दुरुपयोग गर्दै घटनालाई वाईपास गर्न खोज्दै हुनुहुन्छ । यसबाट प्रष्ट हुन्छ कि सरकार दलितका मुद्दामा कति उदासीन छ । सरकारको एक जिम्मेवार व्यक्तिले यस्ता अमानवीय गतिविधि अर्थात जातीयताका अाधारमा सामुहिक हत्या जस्तो जघन्य अपराध लाई हल्का रुपमा लिन मिल्छ ? कि दलित हरुको नरसंहार गरिएकाले यो मुद्दा तपाईं र सरकारको प्राथमिकतामा नपर्ने हो ? नपरेको हो ? घटनाको सत्यतथ्य छानवीन गरि दोषी दण्डनीय हुनैपर्छ, यदि यो कानुनी राज्य हो भने ।
जातीय विभेद लाई प्रश्रय दिएर तपाई कस्तो समाजको परिकल्पना गर्दै हुनुहुन्छ माननीय ? तपाई सामाजवादको नारा दिएर सामन्तवाद तिर उन्मुख हुदै हुनुहुन्छ । जातिवादको बीष घोलेर यो कस्तो सुई लगाइएको छ नसामा जुन स्वयं माननीयहरुले धरि परिवर्तन गर्न नसक्ने/ नचाहने । तपाईहरू लाई मन्त्री, सांसद बनाउन दलितहरुको उल्लेख्य योगदान छ । दलितले गर्दा तपाईहरुका जीवनमा थुप्रै परिवर्तनहरु अाए, तपाईहरु बाट सिंगो दलित, पिछडिएको समुदायले के पायो ? अाज तपाईहरू नै दलितको अावाजलाई दवाउन खोज्दै हुनुहुन्छ । अब अाम दलित समुदायले अधिकार सुनिश्चितताका लागि कस्लाई विश्वास गर्ने ? देशमा गणतन्त्र अाइसकेपछि पनि, फेरि विभेदका विरुद्ध संर्घष नै गर्नुपर्ने बाध्यात्मक अवस्थाको सृजना भएकै हो त ?
हामी एक्काइसौं शताब्दीमा छौं । मुलुकी एेन २०२० ले छुवाछूत दण्डनीय भनेको छ, त्यस्तै विसं. २०६३ मै नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो । नेपालको संविधान २०७२ को प्रस्तावनामै जातीय छुवाछुत अन्त्य गर्ने उल्लेख छ । के यो लेख्नका लागि लेखिएको हो कि देखाउनकै लागि लेखिएको हो ? खोइ त कानुन कडाइका साथ लागू गरेको ? जातीय समानता र न्यायबारे निकै चर्काचर्का भाषणहरु हुँन्छन् । तर यहाँ अन्तरजातीय प्रेमसम्बन्ध र विवाहकै कारण नवराजहरुको हत्या हुन्छ । अाजसम्म पनि सांस्कृतिक बहिष्करण, अपमान र उत्पीडन भोग्न बाध्य छ, दलित समुदाय । दलित समुदायको शोषण, उत्पीडन, अत्याचार र अपमानको सिलसिला यथावत छ । छुवाछूत आधारभूत रूपमा घट्न सकेको छैन ।
कानुनी रुपमा जातीय विभेद छैन्,। तर सामाजिक, प्रशासनिक, राजनीतिक क्षेत्रमा नयाँनयाँ तरिकाले विभेदको शृङ्खला झांगिदो छ । हाम्रो समाज कता जाँदैछ, यो युग सम्म आइपुग्दा पनि जातीयताको खाडल किन यति गहिरो गरि खनिएको छ । कथित ठुलाबडा, विद्धान, शिक्षित भनाउदाको सोचाइ दलित समुदाय प्रति किन यति निच र तुच्छ छ ? अचानको पीडा खुकुरीलाई के थाहा । दलितको ठाउँमा एकपटक आफुलाई राखेर हेर कति दुख्छ मन, कस्तो हुन्छ आत्म सम्मानमा ठेस लाग्दा । छातीमा हात राखेर आत्मालाई साँची राखेर सोच त मान्छे मान्छे एउटै होइन र ?
* लेखक सन्चारकर्मी हुन ।