थम्मन थापा गल्काेट २०७७ जेठ १५ । गल्कोट नगरपालिका वडा नं ७ मल्म सिरबारेका अग्नि पीडित जुक्त बहादुर खड्काको परिवारलाई सृजनशील महिला समुह मल्म आँगाखेतले नगद रु १० हजार सहयोग प्रदान गरेको छ । आज खड्का निवासमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको समूहका अध्यक्ष सरस्वती केसीले जानकारी दिए । अग्नि पीडित खड्कालाई रकम सहयोगको निम्ति समूहमा आबद्ध महिलाहरु त्यहाँ पुगेका थिए । त्यस्तै घुम्टे प्रगति कृषि समुह मल्मले पनि आजै नगद रु ५ हजार ५ सय ५५ खड्का परिवारलाई सहयोग गरेको समूहका अध्यक्ष दुर्गा बस्नेतले जानकारी दिए । अग्निपीडित खड्कालाई थोरै भए पनि राहत होस भनी उक्त रकम निवासमै पुगेर सहयोग गरिएको अध्यक्ष बस्नेतले बताए ।
खड्का परिवारलाई महिला जागरण केन्द्र मल्मले पनि नगद रु ५ हजार सहयोग प्रदान गरेको छ । स्थानीय स्तरमा महिला हक हित र अधिकारको क्षेत्रमा काम गर्दै आएको केन्द्रले आपातकालीन समयमा उक्त रकम सहयोग गरेको केन्द्रका कोषाध्यक्ष मिरा खड्काले बताए । आजै मल्म आँगाखेत निवासी होम बहादुर थापाले नगद रु २ हजार, आँगाखेत निवासी तुल बहादुर थापा र रुद्र बहादुर थापाले १/१ हजार सहयोग प्रदान गरेको अग्नि पीडित जुक्त बहादुर खड्काले जानकारी दिए। खड्काको घरमा गत जेठ ११ गते दिउँसो अकस्मात आगोलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । घर जले पछि अहिले खड्का परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ ।