भो नलगाउ साइनो
हामी एक अर्काले नचिनेका
वरु नचिनेरै धेरै हेरौंला पर्दा पछाडि वाट
दुनियाँमा देखिने रङ्गमन्चको जीवन रुपी नाटक।
एकले अर्कालाई चिन्यौ भने
बुझ्यौ भने
दोभाने खोलीको पानी जस्तै
एक अर्कामा मिसिएर
संगै वग्न चायौँ भने
कि तिमी सकिनु पर्छ कि त म
तिम्रो र मेरो लागी सकिनु कुनै ठुलो होइन
तर
ठुलो रहेछ पापी दुनियाँ लाई ।
भो नगर नजरले हमला
अक्सर प्रेमको सुरुवात र अन्त्य हमला वाटै हुनसक्छ एक्काइसौं सताव्दीमा पनि
तिमिले या मैले ज्यूदै जलेर मर्नुपर्छ
आफ्नै अस्तित्व हर्नुपर्छ
प्रेमको वागमा सल्किने
जात लिङ्ग वर्ण पेशा थर भूगोल र यस्तै यस्तैको फिलिङ्गाे वाट।
विद्वानहरुको गोवरे टाउकोमा
अहँ
चल्दैन तिम्रो मुटुको चाल
हुँदैन तिमिमा रक्तसन्चार
न फेर्छौ श्वास
प्राण पनि हुन्छ र तिम्रो ?
तिमी मान्छे हौ र?
तिमीहरु कालो रगत भएका निर्जीव
हामीहरु रातो
त्यसैले
तिमी मान्छे नै होइनौं यो समाजको
यो समाज नै होइन तिम्रो
निकम्मा रीतिको भेद वोलीरहेछ।
जाउ तिमी तिम्रो वाटाे
म मेरै वाटाे फर्किन्छु
अनयासै दिलले मन मनले दिल चाहेर पनि
तनले तन मनले मन माएर पनि
चिन्न खोजेर
भिन्न रोजेर
संगै हिन्न खोजेर पनि
कहाँ दियो कहाँ रहेको समाजले?
भैगो
अन्जान यात्री वनेर अगाडि बढाैँला
कहिले सम्म यसरी चल्दो रहेछ हेर्दै हेर्दै ….।
एन पी घायल फलेवास पर्वत ।