छविलाल पाण्डे, बुर्तिवाङ २०७७ जेठ १७ । भारतका विभिन्न नाकाहरुबाट गृह जिल्ला बागलुङ फर्कनेहरुको लर्को रोकिएको छैन । हिँजो जेठ १६ गते पनि एक सय भन्दा बढी नागरिकहरु जिल्लाको पश्चिम क्षेत्रमा भित्रिएका छन् ।
निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलले हिँजो गाउपालिकामा ७७ जना नागरिकहरु गाउपालिकामा आएको जानकारी दिए । उनिहरुलाई विभिन्न वडाहरुका विद्यालयहरुमा बनाईएको क्वारेन्टाईन कोठाहरुमा व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले बताए । हिँजो आउनेहरुमा वडा नं ४ का मात्रै ६५ जना रहेको अध्यक्ष पौडेलको भनाई छ ।
यसैगरी बडीगाड गाउपालिकामा हिँजो ३० जना आएका छन् । गाउपालिका स्तरीय द्रुत समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष कृष्ण गुरुङले हिँजो आउनेहरुमा २६ जना पुरुष, ३ महिला र १ जना ३ वर्षको बालक रहेको र उनिहरुलाई भिङगिठे माबि भवनको क्वारेन्टाईनमा राखिएको जानकारी दिए । यस सँगै बडीगाड गाउपालिकामा भारतबाट फर्किनेहरुको संख्या २९५ पुगेको उनले बताए ।
जिल्लाको पश्चिम क्षेत्रमा सर्वाधिक बडीगाड गाउपालिका, निसीखोला र ढोरपाटन नगरपालिकामा मानिसहरु आईरहेको तथ्यांकले देखाएको छ ।
अस्ति बडीगाड गाउपालिकाको खर्वाङ स्थित त्रिभुवन नमुना माविको क्वारेन्टाईनका ३१ जनाको स्वाबको नमुना संकलन गरिएकोमा सबैकाे PCR Test रिपोर्ट नेगेटिभ आएको छ । हिँजो निसीखोला गाउपालिका क्वारेन्टाइनमा बसेका ४९ जनाको स्वाब नमुना संकलन गरिएको PCR Test रिपोर्ट भोलि सम्ममा आउने विश्वास गरिएको छ । उनिहरुको रिपोर्ट कस्तो आउला भन्ने कौतुहलता त्यस क्षेत्रका जनतामा रहेकोे छ । क्वारेन्टाईनमा बसेको पाँच दिन पुगेकाहरुको स्वाब संकलन कार्य जारी छ ।
यस अघी बडीगाडको त्रिभुवन नमुना माबि क्वारेन्टाईनमा रहेका ८ जनाको स्वाब परीक्षण गर्दा दुईजनाको रिपोर्ट पोजेटिव आएको र तमानखोलाको धनगौ ज्योति माबिमा रहेका ८ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछी निसीभूजी क्षेत्रका जनतामा थप स्वाब परीक्षणको रिपोर्टलाई लिएर बेसब्री बढीरहेको छ । भारतबाट घर फर्कनेहरुको संख्या बढ्दै गरेकाले पश्चिम क्षेत्र कोरोनाको हटस्पट बन्ने खतरा बढेको हो ।