बुर्तिवाङ २०७७ जेठ २४ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा हिँजो मात्रै तीन वटा जटिल गर्भवती महिलाहरुको सफल उपचार भएको छ । यहाँ केहि हुँदैन भन्ने मानिसहरुका लागी यो मुखभरीको जबाफ थियो भने केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो क्षमताले भ्याए सम्म सबै उपचार गर्छन भन्ने उदाहरण थियो ।
हिँजो जेठ २३ गते मात्र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तीन जना गर्भवती महिलाहरु आए । दिउँसो १२ बजे तिर तमानखोलाकी २३ वर्षिया महिला (दोश्रो गर्भ) प्रसुती व्यथा लागेर अस्पतालमा आईन् । परीक्षण गर्दा बच्चा उल्टो रहेको पाईयो । डाक्टर र परिवार बीचको परामर्शपछी अपरेशन नगरी नर्मल डेलिभरी गराउने निधो भएर अस्पतालमा भर्ना गरियो ।
डा दिलिप कोजु
दिउसो १ बजेको समयमा अर्की २१ वर्षकी गर्भवती महिला सुत्केरी व्यथा लागेर पानी फुटेको अवस्थामा अस्पताल आईपुगिन । उनीपनि तमानखोला गाउपालिकाकी थिईन् । यो उनको पहिलो गर्भ थियो । डाक्टर दिलिप कोजुले जाँच्दा पेटमा दुईवटा बच्चा सुल्टो अवस्थामा भएकोले उनलाई पनि नर्मल डेलिभरी गराउने सल्लाह भएर अस्पतालमा भर्ना गरियो ।
साँझ ५ बजेको समयमा अस्पतालमा अर्की ७ महिना (२८ हप्ता) को गर्भवती महिला रगत बढी बगेको भन्दै आईपुगिन् । डाक्टर कोजुले अल्ट्रासाउण्ड गरी जाँच गर्दा बच्चा भन्दा अगाडी साल देखियो । डाक्टर कोजु भन्छन्, बच्चाको धडकन राम्रो भएपनि आमाको रगत धेरै बगेर प्रेसर कम थियो । बच्चा सानो भएको र रगत धेरै बगेकोले आमा बच्चा दुबैको लागी आईसीयू सेवा भएको अस्पतालमा जान सुझाव दिईएको डा कोजुले बताए । जाने तयारी गर्दा गर्दै आमालाई रगत चढाउनु पर्ने अवस्था आयो । गर्भवती महिलाको रगतको ग्रुप मिल्ने व्यक्तिको खोजी भयो । त्यहिँ अस्पतालमा ड्यूटीमा रहेकी नर्स बोनिशा घर्तीमगरको रगत मिलेपछी उनले रगत दिने भईन् ।
रगत चढाउदै महिला
उता पेटमा दुईटा बच्चा भएकी गर्भवती महिलालाई व्यथा राम्रै लाग्यो र बल गर्न थालिन् । उनी डाक्टर कोजुको निगरानीमा थिईन् । साँझ ६.३० बजेको समयमा पहिलो बच्चा जन्मियो भने ६.४६ बजेको समयमा अर्को बच्चा जन्मियो । उनलाई सुत्केरी गराएपछी दिनभर ड्यूटी गरेर थकित बनेकी सिस्टर बोनिशा घर्तीमगरले ७ महिनाको गर्भवती महिलालाई रगत दिएर उनको ज्यान बचाईन् र उनलाई पोखरा रिफर गरियो । ल्याब असिस्टेन्ट किसान शाहीले गर्भवती महिलालाई रगत चढाएका थिए ।
उल्टो बच्चा भएकी गर्भवती महिला राति ९.ं३० बजे हलुंगी भईन । उनको हेरचाह सिस्टर मानकुमारी कुँवरले गरेकी थिईन् ।
आवरण तस्बीर: जुम्ल्याहा बच्चा र आमा / रगत दिँदै सिस्टर बोनिशा घर्तीमगर
35 Comments