थम्मन थापा, गल्कोट २०७७ असार ३ । गल्कोट नगरपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा रहेका नागरिकहरुको गत जेठ १३ देखि १८ गते सम्मका स्वाब संकलन गरेर पोखरा पठाइयो । स्वाब पठाएको १७ दिन बितिसक्दा पनि पीसीआर रिपोर्ट आएको छैन । रिपोर्ट नआउँदा क्वारेन्टाइनमा रहेका नागरिकहरु चिन्तित त बनेका छन् नै स्थानीय सरकारलाई समेत यसले चिन्ता बढाएको छ । गल्कोट नगरपालिका बाट ८० जनाको स्वाव पोखरा स्थित स्वस्थ विज्ञान प्रतिषठानमा चेक जाँचको निम्ति पठाइएको हो ।
लामो समय भई सक्दा पनि रिपोर्ट नआउनुले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई मानसिक रूपमा असर पुगेको र उनीहरूमा निराशा पैदा हुन थालेको भन्दै गल्कोट नगरपालिकाले चिन्ता व्यक्त गरेको छ ।
दिनहुँ नगर भित्र छिमेकी मुलुक भारत बाट नागरिकहरु भित्रिने क्रम पनि बढेको छ । निर्माण गरिएका क्वारेन्टाइनहरु भरी भराउ छन् जसले गर्दा स्वास्थ्य सुरक्षा र व्यवस्थापकीय चुनौती उत्तिकै थपिएको छ ।
गल्कोट नगरपालिकाले यो विषयमा सम्बन्धित निकायमा पहल गरिरहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । हामीले पटक पटक यो विषयमा के भइरहेको छ भनेर बुझ्ने कोसिस गरेउँ तर सम्बन्धित निकायबाट चित्त बुझ्दो जवाफ पाउन सकेनौं नगर प्रमुख गैरेको भनाई छ ।
्यता नगरपालिकालाई क्वारेन्टाइनमा रहेका नागरिकका घर परिवार, आफन्त, सम्बन्धित वडाका जनप्रतिनिधि र क्वारेन्टाइन व्यवस्थापन समितीले दिनहुँ भेटेर हुन्छ या टेलिफोन मार्फत सोधपुछ गर्न थालेको नगर उपप्रमुख रेणुका काउचा मगरले बताइन् ।
गल्कोट नगरपालिकाका विभिन्न विद्यालयका क्वारेन्टाइनमा रहेका नागरिकले यतिका दिन विती सक्दा पनि रिपोर्ट आउनु आफैमा लज्जास्पद र दुःखद कुरा भएको गुनासो गरे, हामी त कतै हाम्रो सरकार नै छैन कि भन्ने अनुभूति गरिरहेका छौं । गल्कोट नगरपालिकाबाट केही दिन पहिले पुनः ७४ जनाको स्वाव संकलन गरी पोखरा पठाइएको छ । लामो समय सम्म रिपोर्ट नआउँदा क्वारेन्टाइन अवधि स्वत लम्बिँदा स्थानिय तहमा खर्च समेत वृद्धि भएको छ ।