थम्मन थापा, गल्कोट २०७७ असार ४ । गल्कोट नगरपालिकाको कार्यलय र वडा नं ७ को समन्वयमा बुधवार प्रभु बैंक लिमिटेड गल्कोट शाखाले वडाका विभिन्न स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन केही खुकुलो भए सँगै वडा स्थित गल्कोट इंग्लिस सेकेण्डरी स्कूल आँगाखेत र सामाजिक संस्था घुम्टे युवा परिवारको प्राङ्गण मल्म सप्ताहघाटमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सम्पन्न गरिएको वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।
जारी कोरोना भाइरस कोविड १९ को संक्रमणलाई मध्यनजर गरी सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाउँदै उक्त कार्य गरिएको वडा अध्यक्ष थापाले बताए ।
बैंकले वडा नं ७ मल्मका विभिन्न गाउँटोलका १ सय ७३ जनालाई नगद रु १६ लाख ७७ हजार २ सय वितरण गरेको प्रभु बैंक लिमिटेड गलकोट शाखाका प्रतिनिधि शिशिर बम मल्लले बताए । वडा नं ७ भित्रका ५ जना दलित बालबालिका, २ जना पूर्ण अपाङ्गता भएका नागरिक, ४० जना जेष्ठ नागरिक, ४८ जना अन्य जेष्ठ नागरिक, ९ जना पूर्ण अशक्तता भएका नागरिक, ५६ जना एकल महिला र १३ जना विधवा महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताइएको छ ।
लकडाउनको समयमा गाउँ टोलमै सामाजिक सुरक्षा भत्ता पाउदा जेष्ठ नागरिकहरु सहित अन्य भत्ता प्राप्त गरेका नागरिकले खुसि व्यक्त गरेका छन् । अहिलेको यो कोरोनाको विषम परिस्थितिमा बैंकमा भत्ता वितरण गर्दा भिडभाड हुने र कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढ्न सक्ने भएकोले वडामै गएर भत्ता वितरण गरिएको गलकोट नगरपालिकाले जनाएको छ । भत्ता वितरणमा स्थानीय जनप्रतिनिधि, समाजसेवीले सहजीकरण गरेका थिए भने विद्यालय र क्लवले आवश्यक व्यवस्थापन गरेको थियो ।