बेलुकाजी थापा जापान २०७७ असार ८ । एनआरएन आइसीसीको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदाको जर्गेना हेतु गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले दुई लाख रुपैयाँ राशीको गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ । शनिबार सम्पन्न समितिको बैठकले उक्त निर्णय गरेको हो ।
समितिको बैठकले पुरस्कारको लागि आवश्यक नीति, नियमावली र स्रोत व्यवस्थापन गर्न समितिका अमेरिका क्षेत्रका सह–अध्यक्ष महेश्वर पन्तलाई संयोजकको जिम्मेवारी दिए । प्रवासमा रहेका गैरआवासीय नेपालीले प्रकाशन गरेको उत्कृष्ट कृतिलाई नगद राशीसहित स्वर्णपदक प्रदान गर्ने गरी प्रत्येक दुई वर्षमा पुरस्कार प्रदान गरिने संयोजक पन्तले जानकारी दिए । पुरस्कारका संयोजक पन्तले पाँच सय अमेरिकी डलर प्रदान गर्ने बैठकमा जानकारी गराए ।
समितिका अध्यक्ष एवं एनआरएन आइसीसीका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा बसेको बैठकले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती २९ असारलाई अन्तर्राष्ट्रिय भाषा दिवसका रूपमा मनाउन विश्वका सबै नेपाली भाषा, साहित्यसँग सम्बन्धित संघ÷संस्था र साहित्यप्रेमीलाई आव्हान गर्ने र समितिले पनि एक विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ ।
समितिको दोस्रो पूर्ण बैठकले समितिका सदस्य गौतम दाहाल (अमेरिका) लाई समितिको संचार संयोजक मनोनित गरेको छ । यसैगरी समितिकी सदस्य सचिव भगवती बस्नेत संयोजक रहेको अनलाईन साहित्यिक कार्यक्रम ‘प्रवास–प्रवाह’को सह–संयोजकमा समितिका सदस्य नृपेश उप्रेती (बेलायत) र सदस्यमा विकास विष्ट (अमेरिका) र निमेष गिरि (युएइ)लाई मनोनयन गरेको छ । गत अप्रिलमा गठन भएको यो समितिको सम्पन्न पहिलो बैठकले गैरआवासीय नेपाली नियात्रा संग्रह, गजल संग्रह र प्रवासमा रहेका नेपाली लेखक र साहित्यकारको अभिलेखीकरण प्रकाशन गर्ने निर्णय गरेर काम गर्दै आएको छ । यी विषयमा पनि समितिको दोस्रो बैठकमा हालसम्म भएका उपलब्धि बारे समीक्षा र छलफल भएको थियो।
बैठकमा विशेष आमन्त्रितका रूपमा सहभागी भएका समितिका वरिष्ठ सल्लाहकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानले बिदेशमा नेपाली भाषा र साहित्यको प्रबद्र्धन गर्न मिलेर जानुपर्नेमा जोड दिए । उनले प्रज्ञा प्रतिष्ठान संघले गर्ने सबै कार्यक्रमलाई सहयोग गर्न तयार रहेको छ भने ।
त्यसैगरी बैठकमा समितिका सल्लाहकार एवं संघका पूर्वअध्यक्ष जीवा लामिछानेले सन २०१३ मा संघ र प्रज्ञा प्रतिष्ठानबीच भएको सहमतिअनुसार प्रवासमा नेपाली साहित्यको प्रबद्र्धन गर्न कार्य अगाडि बढाउनुपर्नेमा जोड दिए । बैठकमा समितिका सल्लाहकार रमेश पौडेल (नेपाल), सहअध्यक्षहरू महेश्वर पन्त (अमेरिका), हरि पौडेल (युरोप), बेलु काजी थापा (एसिया) र निश्चल पि एस लिम्बू (मध्यपूर्व) को उपस्थिति रहेको थियो । त्यसैगरि सदस्यहरू गौतम दाहाल (अमेरिका), तिर्थ सङ्गम राई (कतार), नृपेश उप्रेती (बेलायत) र कृष्ण कुसुम (अमेरिका) को सहभागिता रहेको थियो ।