Sorry, that menu does not exist.
 

बागलुङका ११८ जना संक्रमित आईसोलेशनमा, स्वास्थ्य अवस्था सामान्य : २३ जना निको भएर घर गए !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार ११ । बागलुङ जिल्लामा प्रतिदिन कोरोना संक्रमितको संख्या बृद्धि हुने गरेको छ । भारतका विभिन्न नाकाहरुबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाईनमा बसेकाहरुको स्वाब नमुना परीक्षणका लागी पठाईएकोमा उनिहरुको पीसीआर रिपोर्ट एकैचोटी नआएर प्रति दिन केहिको मात्र आउने गरेकाले संक्रमितहरुको संख्या दिनहुँ बढ्ने गरेको हो । विभिन्न क्वारेन्टाईनमा रहेकाहरुको स्वाब संकलन गरी प्रयोगशालामा पठाउने कार्य जारी रहेको छ ।

गल्कोट नरेठाँटी स्वास्थ्य चौकी ।
स्वास्थ्य निर्देशनालय पोखराका अनुसार आज कोरोना संक्रमण पुष्टि भएको गल्कोट नगरपालिकाका २ जना संक्रमितहरुलाई गल्कोट नरेठाँटी स्थित स्वास्थ्य चौकीमा बनाईएको आईसोलेशन कक्षमा व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता एवं वडानं २ का अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । प्रवक्ता भण्डारीका अनुसार सो स्वास्थ्य चौकीमा हाल १७ जना संक्रमितहरु रहेका छन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष भण्डारीले ईबागलुङलाई बताए ।

जिल्लाको ढोरपाटन नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १८ जना संक्रमितहरु रहेको र निसीभूजी जनता क्याम्पसमा बनाईएको २५ शैयाको नयाँ आईसोलेशन कक्षमा हिँजो राति १० बजे ९ जना पुरुष र १ जना महिलालाई व्यवस्थापन गरिएसँगै २८ जना संक्रमितहरु रहेको कोभिड १९ आईसोलेशन तथा अस्थायी उपचार केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङले जनाएको छ । केन्द्रव्दारा जारी सूचना अनुसार आईसोलेशनमा रहेका सबै २८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

निसीभूजी जनता क्याम्पस बुर्तिवाङ ।
यता सदरमुकाम स्थित धौलागिरी अस्पतालको आईसोलेशन कक्षमा २० जना संक्रमितहरु उपचाररत रहेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । सूचना अधिकारी गौतमका अनुसार धौलागिरी बहुमुखी क्याम्पसको प्रि आईसोलेशन कक्षमा ४६ जना संक्रमितहरु रहेको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बागलुङ नगरपालिकाका पहलमा बागलुङ रामरेखा बाँगेचौर स्थित बहिरा बिद्यालयमा बनाईएको आईसोलेशन कक्षमा ७ जना संक्रमितहरु रहेका र उनिहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनालले बताए ।

धौलागिरी अस्पतालका सूचना अधिकारी गौतमले हाल सम्म आईसोलेशनमा भर्ना भएकाहरु मध्य २३ जना निको भएर घर फर्किएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !